म्याग्दीको घट्टेखोलामा मोटरेबल पुल निर्माण-Sutra News

म्याग्दीको घट्टेखोलामा मोटरेबल पुल निर्माण

बिहिबार, २५ भाद्र २०७७

बिहिबार, २५ भाद्र २०७७

म्याग्दी– बेनी–जोमसोम सडकअन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको घट्टेखोलामा मोटर चल्ने पुल निर्माण भएको छ। राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत पर्ने घट्टे खोलामा पक्की मोटर चल्ने पुल निर्माण भएको हो।



बेनी–जोमसोम–कोरला सडक आयोजनाले ठेक्कामार्फत बनाएको पुल निर्माण सकिएपछि सञ्चालनमा आएको छ।

चालीस मिटर लामो र ११ मिटर चौडाई भएको पुल निर्माणका लागि आयोजना र फेवा नयाँबाटो (जेभी) जोइन्टभेञ्चरबीच २०७३ असार २९ गते ठेक्का सम्झौता भएको थियो। रु पाँच करोड ७६ लाख ८० हजार ५५६ को लागतमा पुल निर्माण भएको आयोजनाले जनाएको छ।

पुल हस्तान्तरण भएपछि सवारी आवतजावतका लागि खुल्ला गरिएको आयोजना प्रमुख अशोक तिवारीले बताए। आयोजनाका अनुसार यो पुल प्रिस्टीङ प्रबिधिको हो। यसअघि घट्टे खोलाबाटै सवारी साधन आवतजावत गर्थे। पुल बनेपछि घट्टेखोलामा बाढी आउँदा सडक अवरुद्ध हुने समस्या हटेको छ।

ढलानको तयारी गरेको अवस्थामा २०७६ जेठ ११ गते घट्टेखोलामा आएको बाढीले सटिङ गरेका सामग्री बगाउँदा निर्माण अवधि एक वर्ष धकेलिएको निर्माण कम्पनीका प्रतिनिधि रवी कार्कीले बताए। उनका अनुसार कोरोना भाइरसको जोखिम र बन्दाबन्दीको असहज अवस्थामा पनि घर नगएका मजदुरलाई परिचालन गरेर पुल निर्माण सम्पन्न गरिएको हो।

बेनी–जोमसोम सडकको म्याग्दी खण्डअन्तरगत गलेश्वर, तिप्ल्याङ, पोखरेबगर र रुप्से खोलामा मोटर चल्ने पुल निर्माणाधिन अवस्थामा छन्।

रुप्सेखो, घाँसाखोला र घैकुखोलामा निर्माणाधिन पुलमा गत साउन ५ गतेको बाढीले क्षति पुर्याएको छ। बाढीले पर्खाल भत्काएको गलेश्वर स्थित राहुघाट नदी माथिको बेलिब्रिज मर्मत भएको छ।

असार २६ गते बिहान रघुगंगा नदीमा आएको बाढीले भत्काएको पुलको पर्खाल मर्मत गरेर साउन २७ गतेदेखि सवारी सञ्चालन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट