काठमाडौं- अभिनेत्री कंगना रणावतको कार्यालयमा भएको तोडफोडको विषयमा बिहीबार भारतीय उच्च अदालतमा सुनुवाइ थियो।
बुधबार बिएमसीले कंगनाको कार्यालयमा तोडफोड गरेको थियो। यसैबीच कंगनाका वकिल रिजवान सिद्दीकीले बम्बई उच्च अदालतमा निवेदन दिएका थिए। अदालतले पनि बिएमसीको कारबाहीमा रोक लगाएको थियो।
अर्कातिर, आज मुम्बईको बिक्रोली प्रहरी कार्यालयमा कंगनाको विरुद्धमा उजुरी परेको छ। वकिल निती मानेले मुख्यमन्त्री उद्धव ठाकरेमाथि कंगनाले आपत्तिजनक भाषाको प्रयोग गरेको र उनलाई बदनाम गर्न ‘बलिउड माफिया’सँग उनको सम्बन्ध भएको आरोप लगाउदैं मानेले उजुरी दिएका हुन्।
अभिनेत्री कंगनाले बुधबार सामाजिक सञ्जालमा एक भिडियो राख्दै मुख्यमन्त्रीमाथि केही आपत्तिजनक शब्दको प्रयोग गरेकी थिइन्।
बिहीबार बिहान कंगनाले आफ्नो ट्विटरमा निरन्तर शिवसेना, मुख्यमन्त्री उद्धव ठाकरे र बिएमसीमाथि आलोचनात्मक टिप्पणी गरेकी थिइन्। उनले लगातार तीन वटा ट्विट गर्दै उनीहरुलाई प्रहार गरेकी थिइन्।
पहिलो ट्विटमा कंगनाले शिव सेनाको निर्माण गर्दा भएको विचारधारालाई बेचेर अहिले सत्ता पाउन शिवसेना सोनिया सेना बनेको बताएकी छन्। उनले ट्विटमा लेखेकी छन्, ‘जुन विचारधारामा बाला साहेब ठाकरेले शिवसेनाको निर्माण गरेका थिए, अब सत्ताका निम्ति त्यही विचारधारालाई बेचेर शिवसेना सोनिया सेना बनिसकेको छ।’
साथै उक्त ट्विटमा कंगनाले उनको कार्यालयमा तोडफोड गर्नेहरु नागरिक निकाय नभएर गुण्डा भएको र उनीहरुले संविधानको अपमान गरेको बताएकी छन्। उनी लेख्छिन्, ‘जुन गुण्डाहरुले मेरो पछाडिबाट मेरो घरलाई तोडेका छन् उनीहरूलाई नागरिक निकाय भन्न मिल्दैन। उनीहरूलाई यसो भनेर संविधानको यत्रो ठूलो अपमान गर्न हुँदैन।’
त्यस्तै, कंगनाले दोस्रो ट्विटमा लेखेकी छन्, ‘तिम्रो बुबाको राम्रो कामले तिमीलाई सम्पत्ति त दिनसक्छ। तर, सम्मान तिमी आफैंले कमाउन पर्छ।’ कंगनाले आफ्नो आवाज बन्द गर्न खोजे यो आवाज लाखौं मानिसको आवाज बन्ने बताएकी छन्।
‘मेरो मुख बन्द गरौला, मेरो आवाज मपछि लाखौं मानिसमा गुञ्जिनेछ’, उनी लेख्छिन्, ‘कति जनाको मुख बन्द गर्छौ? कति जनाको आवाज दबाउँछौं? कहिलेसम्म तिमी सत्यबाट भाग्छौं । तिमी केही होइनौ, केवल बंशवादको एउटा नमुना मात्रै हौ।’
त्यस्तै, तेस्रो ट्विटमा कंगनाले सरकारले गरेको गुण्डागर्दीको विरोध महाराष्ट्र राज्यका मानिसले गर्ने बताएकी छन्। उनले लेखेकी छिन्, ‘सरकारले गरेको गुण्डागर्दीको विरोध महाराष्ट्रका मानिसले गर्छन् भन्ने कुरा स्पष्ट पार्न चाहन्छु । मेरा मराठी शुभचिन्तकहरुको धेरै फोन आएको छ। दुनियाँ वा हिमाचलका मानिसको मनमा जुन दुःख भएको छ। उनीहरुले कहिल्यै नसोचुन् मलाई प्रेम र सम्मान पाउँदिनँ ।’
यसैबीच कंगनाकी बहिनी रंगोली पाली हिल्समा रहेको कार्यालयमा भएको तोडफोडको बारेमा बुझ्न गएकी थिइन्।
भारतीय सञ्चार माध्यममा उल्लेख भएअनुसार गर्भनर भगत सिंह कोश्यारीले यो विषयमा मुख्यमन्त्रीका सल्लाहकारलाई जवाफ मागेका छन्। त्यस्तै, कंगनाको कार्यालयमा भएको कारबाहीको रिपोर्ट पनि केन्द्र सरकारलाई पठाइएको छ।
यसअघि कंगनाका वकिलले उच्च अदालतमा दिएको निवेदनमा बिएमसीको कारबाहीलाई गैरकानुनी, मनमानी र दुर्भावनापूर्ण भनिएको थियो। उच्च अदालतले पनि बिएमसीलाई ९ सेम्टेम्बरसम्म कंगनाको कार्यालयमा भएको तोडफोडको विषयमा जवाफ दिन निर्देशन दिएको छ।
बुधबार उच्च अदालतले बिएमसीलाई स्टे अर्डर दिएको थियो। त्यो बेलासम्म कंगनाको कार्यालयको एक भाग भत्काइसकेको थियो।
बिएमसीको अर्को दादागिरी
कंगनाको कार्यालयमा तोडफोड गर्नुअघि बलिउडका फैसन डिजाइनर मनिष मल्होत्राको भवनलाई अवैध निर्माण गरेको भन्दै कारण सोधिएको थियो।
बिएमसीले उनलाई ७ दिनसम्म समय दिएको थियो भने कंगनालाई २४ घण्टाको मात्रै समय दिएको थियो।
विषय कंगना, माग राष्ट्रपतिको शासन
मुम्बईमा भएको कंगनाको कार्यालयको तोडफोडको विषयलाई आधार मानेर अहिले राष्ट्रपति शासनको माग उठाइएको छ।
अभिनेता सुशान्त सिंह राजपूतकी दिदी श्वेता सिंह किर्ती र झारखण्डको जमशेदपुरका पूर्व सांसद सरयू रायले राष्ट्रपति शासनको माग उठाएका हुन्। अभिनेता सुशान्तकी दिदीले ट्विट गर्दै लेखेकी छन्, ‘हे भगवान, यो कस्तो गुण्डाराज हो। यस किसिमको अन्याय कदापी सहन हुँदैन। के राष्ट्रपति शासन यो अन्यायको जवाफ हुन सक्छ? आउनुस फेरि रामराज स्थापित गरौं।’
सरयू रायले बिएमसीको कारवाहीलाई जंगलराज बताएका छन्। साथै, उनले महाराष्ट्रमा राष्ट्रपति शासन चाहिएको आवाज उठाएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीलाई मेन्सन गर्दै उनले ट्विटमा लेखेका छन्, ‘कंगना रणावतको घर तोड्ने तरिकाबाट सावित हुन्छ मुम्बईमा जंगलराज छ । महाराष्ट्रमा संविधान र कानुनको शासन समाप्त भएको छ। नागरिकको ज्यानको सुरक्षा छैन । महाराष्ट्रमा राष्ट्रपति शासन लागू होस्।’