प्लाज्माथेरापीका लागि कोरोना जितेकाहरुको रक्त संकलन सूरू-Sutra News

प्लाज्माथेरापीका लागि कोरोना जितेकाहरुको रक्त संकलन सूरू

बिहिबार, २५ भाद्र २०७७

बिहिबार, २५ भाद्र २०७७

काठमाडौं–नेपाल रेडक्रस सोसाइटीले कोरोना भाइरस सङ्क्रमितको उपचार सहयोगार्थ प्लाज्मा थेरापीको लागि रगत सङ्कलन शुरु गरेको छ । बुधबार केन्द्रीय कार्यालयमा ३९ वर्षका खिमबहादुर रानाभाटले प्लाज्मा थेरापीका लागि पहिलो रक्तदान गरेका थिए।



रानाभाट कोरोना सङ्क्रमणबाट निको भएका थिए। आफूले पहिले कहिल्यै रक्तदान नगरेको तर निको भएपछि आफ्नो रगतले अरु सङ्क्रमितलाई सहयोग पुग्छ भन्ने थाहा पाएपछि रक्तदान गर्न आएको बताए।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदको अनुरोध बमोजिम विभिन्न संस्थाहरुसँगको सहकार्यमा रेडक्रसले यो सेवा थालेको केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक डा. मनिता राजकर्णिकारले बताए। रेडक्रस सोसाइटी र नेपाल मेडिकल एशोसिएसनबीच रगत संकलन सहकार्य गर्ने गरी सात बुँदे सम्झौता बुधबार भएको छ।

रेडक्रसका अध्यक्ष डा नेत्र तिमिल्सिना र मेडिकल एसोसिएसनका अध्यक्ष डा लोचन कार्कीले दाताहरुको नाम संकलन गरी प्लाज्मा बैंक स्थापनामा सहकार्य गर्दै अगाडि बढ्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए। सम्झौताबमोजिम रेडक्रसले प्लाज्मा दानका लागि प्रविधिक जनशक्ति, प्लाज्मा ब्याग लगायत आवश्यक सामग्रीको व्यवस्थापन तथा प्लाज्मा बैंकको स्थापना गर्नेछ।

त्यसमा चिकित्सक संघले प्लाज्मा सङ्कलनका लागि कोभिड–१९ सङक्रमित भई निको भएका नागरिक, चिकित्सक तथा स्वास्थ्यकर्मीको विवरण संकलन गरी प्लाज्मा दान गर्न सरोकारवाला दातासँग समन्ययनकारी भुमिका निर्वाह गर्नेछ । रेडक्रसको समन्वयनमा प्लाज्मा दान गर्ने दाताको सम्मानका लागि आवश्यक तयारी गरिएको छ।

कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नं. २५ का वडाध्यक्ष निलकाजी शाक्यले सङ्क्रमण निको भएकाको खोजी गरी रक्तदानमा उत्प्रेरीत गर्ने बताए। स्थानीय अस्पतालसँगको सहकार्यमा रेडक्रसका सुनसरी, चितवन, भक्तपुर, बुटवल, नेपालगञ्ज, र कैलालीका रक्तसञ्चार सेवाले प्लाज्मा थेरापीको लागि रगत सङ्कलन शुरु गरिसकेकोछ । धनुषा र पोखरामा पनि यस्तो सेवा छिटै थालिने बताइएको छ।

प्लाज्मा थेरापी उपचारको प्रभावकारिता अहिले पनि अनुसन्धानकै क्रममा रहेको चिकित्सकहरुले बताएका छन् । प्लाज्मा दान गर्दा दातालाई कुनै शारीरिक तथा मानसिक असर नपर्ने चिकित्सक संघले जनाएको छ। संघका अध्यक्ष डा. कार्कीले नागरिकको जीवन रक्षामा संलग्न हुन सरोकारवालालाई आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट