Logo

आइतवार, मंसिर १४ गते २०७७

  • TRENDING NOW :

हिरोको मानक भत्काएको जस बोकेर हिँड्न भारी भइरहेको छ : दयाहाङ राई [भिडियो]

हिरोको मानक भत्काएको जस बोकेर हिँड्न भारी भइरहेको छ : दयाहाङ राई [भिडियो]

अनिल यादव

२६ भाद्र २०७७
  • 9.4K
    SHARES
  • हिरोको मानक भत्काएको जस बोकेर हिँड्न भारी भइरहेको छ : दयाहाङ राई [भिडियो]

    पाँच महिनायता कोरोना महामारीका कारण अभिनेता दयाहाङ राई घरमै छन् । पहिलो पटक गरिएको लकडाउन साउनमा खुकुलो भयो । त्यसबेला केही म्युजिक भिडियोमा काम त गरे । तर, अवस्था जटिल हुँदै गएपछि उनी फेरि घरमै पुस्तक, सिनेमा र परिवारसँगै समय व्यतित गरिरहेका छन् । लकडाउनको यो फुर्सदिलो समयमा उनी जीवनलाई पछाडि फर्केर हेर्ने र आत्मसमीक्षा गर्ने अवससरको रुपमासमेत लिइरहेका छन् । कहिलेकाहीँ सामाजिक सञ्जालतिर बाल्यकालका बालसखासँगको पुराना तस्बिरसमेत उनी पोस्ट्याइरहेका हुन्छन् । भन्छन्, ‘मान्छे कमजोर भएपछि बहुत नोस्टाल्जिक हुँदो रहेछ ।’ उनीसँग रहेर सूत्रन्युजका लागि अनिल यादवले गरेको कुराकानी:

    हामीकहाँ कलाकारमाथि विरलै कविता लेखिएका छन् । केही वर्षअघि कवि संगीत श्रोताले तपाईंमाथि ‘दयाहाङ राईलाई दुवैतिर खतरा’ शीर्षकमा कविता लेखेका थिए । यतिखेर त्यो कविता पढ्दा तपाईंलाई कस्तो महसुस हुन्छ ?
    मेरो लागि साँच्चिकै यो एउटा कवितामात्रै नभएर एउटा गज्जब समीक्षा हो । कविताभित्रै धेरै कुरा छन् । एउटा कविले पनि मलाई देखिरहेको रहेछ भन्ने महसुस हुन्छ । म आफूले आफैंलाई सोध्ने प्रश्नहरु पाउँछु यो कविताभित्र ।

    परम्परागत हिरोको मानकलाई भत्काउँदै तपाईं नेपाली सिनेमामा उदाउनुभयो । आदिवासी जनजाति समुदायका निम्ति यो ठूलो उपलब्धि थियो । त्यसैले चाहे तपाईंकै समुदायबाट होस् वा बौद्धिक वर्गबाट नेपाली सिनेमालाई लिएर तपाईंप्रति धेरै अपेक्षा थियो । त्यसलाई पूरा गर्न सकेजस्तो लाग्छ ?
    नढाँटी भन्दा सकेको छैन । अपेक्षा कहिलेकाँही पूरा नहुन पनि सक्छ । मेरो उद्देश्य के थियो, मेरो काम कतातिर गइरहेको छ र मलाई हेर्नेहरुको मप्रति अपेक्षा के छ, यो सब सोच्दाखेरी त रिङ्गटा लाग्छ । तर, कतिपय सवालमा म कतिको इमान्दार छु अथवा इमान्दार भएँ भन्ने कुरामा आफैंले आफ्नो समीक्षा गर्नुपर्छ होला । अभिनेता भइसकेपछि म धेरै हदसम्म आफूलाई इमान्दार राख्ने कोसिस गर्छु । तैपनि बेलाबेलामा चुकिन्छ । तर, त्यही चुकाइले मान्छेलाई सही मार्गमा हिँडाउन मद्दत गर्ने रहेछ । मलाई अक्सर सम्बोधन गर्दाखेरी ‘हिरोको एउटा मानक थियो, त्यो भत्कियो’ भन्ने हिसाबले गर्ने गरिन्छ । त्यो मानक भत्किनुमा वा मेरो उपस्थिति हुनुमा यो मेरो एकल जोडबल थिएन । त्यसमा फिल्म मेकरको भूमिका त थियो नै । तर, त्योभन्दा बढी यो मानक भत्किएको आममानिसकै चेतनामा हो । मेरो उपस्थितिलाई उहाँहरुको चेतनाले स्वीकार गर्‍यो, त्यहीकारण ममाथि बढी अपेक्षामा राखियो । तर मलाई त्यही मानक भत्काएको जस बोकेर हिँड्न भारी भइरहेको छ ।

    पहिलोपल्ट गाडी देख्दा म १७ वर्षको थिएँ । सुरुमा त यो गाडी हो कि के हो, चक्का थियो, बडो ‘कन्फ्युज’ भएँ । पछि थाहा भयो, ‘ट्रक’ रहेछ । अलि पर चतारा पुगेपछि एउटा ठूलो गाडी सुइ..य् घुम्यो । बस रहेछ । मनमनै भने– ‘अँ, यो पो रहेछ ।’

    अभिनयमा तपाईंले आफ्नो निजत्व स्थापित गर्न सकेजस्तो लाग्छ ?
    त्यो पनि छैन । किनभन्दा यो जीवन एउटा कोसिस मात्र हुँदोरहेछ । कविताले भनेजस्तै कसैले कतैबाट बोकिरहेका हुन्छन्, कसैले कतैबाट ठोकिरहेका हुन्छन् । मेरो आफ्नो भोगाइ, अध्ययन, खोजीले मलाई बल्लबल्ल ट्र्याकमा हिँडाउन खोजिरहे लाग्छ ।

    केही समयअघिको कुराकानीमा तपाईंले महामारीमा आफूलाई आत्मसमीक्षा गर्ने मौका पाएको बताउनुभएको थियो । के रहेछन् त जीवनमा गरेका सबैभन्दा ठूलो गल्ती?
    गल्ती थुप्रै छन् । हरेक पटक मान्छेले एउटा बिन्दुमा पुगेपछि पछाडि फर्केर सोच्दाखेरी गल्ती त भेटिन्छन् नै । तर, त्यही कुरा दिमागमा बोकेर हिँड्नु पनि त बेकार छ । यद्यपि महसुसचाहिँ गर्नुपर्छ, जुन मैले गरेको छु । फेरि पनि भन्छु, जीवनमा थुप्रै गल्ती गरियो, तर त्यसलाई सार्वजनिक नगरौँ । चाहे त्यो कामको सिलसिलामा होस् वा सोचाइका कारण ।

    dayahang rai sutranews.jpg
    लकडाउनका क्रममा थुप्रै बाल्यकालका तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्नुभयो । महामारीले तपाईंलाई बाल्यकालतिर फर्काइदिएको हो ?
    हो, फर्किएँ । फर्किनुपर्दो रहेछ कहिलेकाँही । अर्को कुरा त्यो संकेत पनि होला कि मान्छे कमजोर भएपछि बहुत नोस्टाल्जिक हुँदो रहेछ, जित्ने चक्करमा बाल्यकालतिर फर्किँदो रहेछ । मेरो भोगाइ मेरो निजी सम्पत्ति हो । त्यही भोगाइ सम्झने क्रममा बाल्यकालका तस्बिर भेट्टाएँ, अनि सामाजिक सञ्जालमा पोस्ट गरेँ ।

    बाल्यकालको त्यस्तो कुनै घटना छ, जसमाथि अहिले सिनेमाको परिकल्पना गर्नुहुन्छ ?
    त्यस्तो धेरै पनि छैन । रमाइलो कुराहरु होलान् । आफ्नो भोगाइ त सबैलाई प्रिय लाग्छ । त्यसकारण कहीँकहीँ बहकिँदा योचाहिँ गज्जब होला भन्ने लाग्छ । तर, अरुलाई त्यही अपत्यारिलो पनि लाग्न सक्छ । बाल्यकाल मेरो लागि खुल्ला आकाश भए पनि त्यहाँबाट देखिने चिजहरु सीमितमात्रै थिए । त्यही पहाड, त्यही खोला, त्यही जंगल । घरीघरी आकाशमा उड्ने प्लेन । वर्षमा एकपल्ट नयाँ किताब आउँथ्यो, त्यो पनि पास भइयो भने । भोजपुरको खावामा जन्मिएको म ।  बिजुली बत्ती हुन्छ रे, गाडी गुड्छ रे भनेको सुन्दा त कथाजस्तो लाग्थ्यो । तर, म कल्पनामा बहुत बाँच्थे । आकाशमा हेरेको भरमा प्लेनको पंखा कसरी घुम्छ होला, त्यसको कल्पना गर्थें ।  बाँसको कप्टेरोको पंखा बनाएर हावामा घुमाउँथे । गाडी देखेको थिइनँ तर काठको चक्का बनाएर गुडाउँथे ।

    बाल्यकालमा म चेस खेल्थेँ । आफूसँग किन्नलाई पैसा नहुने । स्कुलमा मात्रै खेल्न पाइन्थ्यो । मेरो पालो घरमा खेल्नलाई काठको पूरै घोटेर गोटी नै बनाएँ । मलाई चाहिने चिज भर्सक म आफैं कोसिस गर्थें ।

    आफ्नै अगाडि पहिलोपल्ट गाडी गुडेको कहिले देख्नुभयो ?
    गज्जब अनुभव छ । त्यतिबेला म १७ वर्षको थिएँ । बराह क्षेत्र देखेको हो । सुरुमा त यो गाडी हो कि के हो, चक्का थियो, बडो ‘कन्फ्युज’ भएँ । पछि थाहा भयो, ‘ट्रक’ रहेछ । अलि पर चतारा पुगेपछि एउटा ठूलो गाडी सुइ..य् घुम्यो । बस रहेछ । मनमनै भने– ‘अँ, यो पो रहेछ ।’ तर, म चढेर जानुपर्ने सानो जिप रहेछ, धरानसम्म आउने । जिप चढेँ । यो लामो लामो बाटोसम्म जाने, अलि महँगो गाडी होला, विशेष होला भन्ने लाग्यो । तर, यसबारे कसैलाई सोधिनँ । गाडीमा पहिलोपल्ट चढेको भन्दा हेप्छन् भन्ने लाग्यो, त्यसैले घमण्डसाथ पहिल्यैदेखि चढिरहेको जसरी चढेँ ।

    पहिलोपल्ट हलमा गएर सिनेमा हेरेको क्षण याद छ ?
    छ, एकदमै कन्ठ छ मलाई । राजेश हमालको ‘कस्सम’ फिल्म हेरेको थिएँ, भोजपुरको हाइभिजन हलमा गएर । हलभित्र पस्नुअघि अनुभवीहरुलाई कस्तो हुन्छ हल भनेर सोध्दाखेरी उनीहरुले पर्दा हुन्छ, त्यही टिभीजसरी फिल्म आउँछ भनेका थिए । त्यसैले म हल छिर्नासाथ सेतो पर्दा देखेँ । छायाँ चलिरहेको छ । गीत बजिरहेको छ । लाग्यो, विस्तारै यही छायाँ प्रष्ट भएर दृश्यमा परिणत हुन्छ, अनि फिल्म हेर्न पाइन्छ । भरे, मेरै कानको छेउबाट प्रोजेक्टरको लाइट गयो । अघि हेरेको त, पंखा घुमेको छायाँ पो लाइट परेर घुमिरहेको रहेछ । मनमनै हाँसे । ठाने– ओहो, यो पो रहेछ सिनेमा हल । सिनेमा सक्किएपछि मैले प्रोजेक्टर रुमलाई घोत्लिएर हेरेँ । म त यस्तो खतरा मान्छे थिएँ कि (मुस्कुराउँदै) सेल ब्याट्री लिएर, टर्च लाइटको बल्ब निकालेर, सानो कट्टन काटेर, प्रोजेक्टरजस्तो बनाएर सिरकको खोलमा राखेर हङकङबाट आफन्तले ल्याइदिएको नेगेटिभ राखेर भित्तामा स्क्रिनिङ गर्न थालिहालेँ नि ।


    सानोतिनो वैज्ञानिक नै हुनुहुन्थ्यो कि क्या हो !
    म त त्यस्तै पो थिएँ त ! देखेको चिज त मलाई प्रयोग गर्न मन लागिहाल्थ्यो । बाल्यकालमा म चेस खेल्थेँ । आफूसँग किन्नलाई पैसा नहुने । स्कुलमा मात्रै खेल्न पाइन्थ्यो । मेरो पालो घरमा खेल्नलाई काठको पूरै घोटेर गोटी नै बनाएँ । मलाई चाहिने चिज भर्सक म आफैं कोसिस गर्थें । बाँसको कुँदेर त्यसको सेन्टिमेन्टर बनाएर आफैंले बनाउँथे । त्यतिबेला हिरो पेन एकदमै मनपर्थ्यो । सबको हातमा हुन्थ्यो । तर, एकदमै महँगो । ३० रुपैयाँ पर्थ्यो क्यार ! पैसा भयो कि म किनिहाल्थे । तर, मेरो पेनलाई अरुभन्दा कसरी फरक बनाउने । दिनभरि लगाएर बाँसले खिपेर टक्क लगाएर स्टाइलिस्ट बनाएर लान्थे । नयाँ चिजचाहिँ मेरो अरुभन्दा फरक हुनुपर्छ भन्ने लाग्थ्यो ।

    भनेपछि भिडमा सधैं अरुभन्दा अलग हुन चाहनुहुन्थ्यो ?
    हो, त्यतिबेलाचाहिँ ।

    अहिले नि ?
    अहिले त सामान्य हुँ भन्ने लाग्छ । सायद त्यो बाल्यकालको अहम् पनि थियो होला ।

    तपाईंले जीवनको पहिलो सिनेमा नै राजेश हमालको ‘कस्सम’ रहेछ । तर, आज यस्तो अभिनेता हुनुभयो जसलाई ‘दोस्रो राजेश हमाल’को ट्यागसमेत लाग्न थालिसक्यो ?
    यो स्वभाविकै हो । त्यतिबेला राजेश दाइबाट ठूलो अपेक्षा थियो । त्यो समयमा जुन शिक्षित परिवार र पृष्ठभूमिबाट उहाँ आउनुभएको थियो, पक्कै पनि उहाँबाट धेरै अपेक्षा थियो । ठीक त्यसैगरी मेरो फरक शैलीको आगमनले पनि अपेक्षा बढाइदियो । तर, सायद ती अपेक्षाहरु पूरा हुन सकेनन् । किनभने हाम्रा पनि त आफ्नै सीमा थिएँ होलान् । आखिर सिनेमा त निर्देशकको माध्यम हो । हामीले त कलाकारका रुपमा सामान्य सुझावमात्रै त दिन सक्छौं ।

    आजको दिनमा पनि म दिनुहँजसो स्क्रिप्ट पढिरहेको छु । लकडाउनको बीचमा पनि २२-२३ वटा स्क्रिप्ट आए होलान् । तर, कुनै चित्तबुझ्दो छैन । सायद कुनै गर्दिनँ होला । म प्रायः फिल्ममेकरलाई स्क्रिप्ट चित्त नबुझ्दा यो यो कारण मन परेन भने स्पष्ट भनिरहेको हुन्छु । कतिपय स्क्रिप्टमा म समय दिएर पनि काम गरिरहेको हुन्छ । तैपनि गतिलो हुनसक्दैन । मैले निर्देशकलाई लादेर पनि हुँदैन ।

    राजेश हमालजस्तै तपाईंले पनि सिनेमाको स्तरभन्दा बढी संख्या बढाउनमै ध्यान बढी गयो भन्ने समीक्षकहरुको आरोप छ नि ?
    आरोप स्वाभाविक हो ।

    संख्यामा ध्यान दिन आवश्यक नै थियो त ?
    थियो । मेरो व्यक्तिगत कारण थियो । केही समयका लागि आफ्ना लागि पर्थ्यो । आर्थिक हिसाबले पनि पर्थ्यो । जब निरन्तर आम्दानी हुन थाल्छ, त्यसपछि परिवारमा सबैको अपेक्षा बढ्ने रहेछ । त्यसैले मैले कतिपय काम पैसाका लागि गरेँ, कतिपय सम्बन्धका लागि गरेँ, कतिपय आफ्नै लागि गरेँ ।

    पहिलो फिल्म ‘अनागरिक’ गर्दा हामीले कति दुःख पाएका थियौं, ‘कबड्डी’ गर्दाखेरी कति पाएका थियौं, ती भोगाइले हामीलाई छुट्न नदिएको हो । कसले विश्वास गरेको थियो र त्यतिबेला हामीलाई ? एकजना निश्चल बस्नेत आयो, जसले टिममा राखेर काम गर्न तयार भयो ।

    जतिबेला तपाईं स्टेज अर्थात् नाटकमा देखिनुहुन्छ, त्यतिबेला तपाईं बढी कलात्मकताप्रति केन्द्रित भएको महसुस हुन्छ । तर, जब तपाईंको फिल्म हेरिन्छ, तपाईं बढी कमर्सियल हुँदै गइरहेकोजस्तो देखिन्छ नि ?
    नाटकमा म आफैं निर्देशन गरिरहेको हुन्छु । त्यहाँ मैले आफूले भन्न चाहेको कुरा आफ्नो हिसाबले भनिरहेको हुन्छु । त्यसैले केही न केही देखिँदो हो । तर, सिनेमा त निर्देशकको माध्यम हो । एउटा एक्टरले के गर्न सक्ला र ? हदै भएसम्म आफ्नो क्यारेक्टर निर्माणमा भूमिका खेल्ला कि त सिनेमा नै खेल्दिनँ भन्ला । त्योबाहेक अर्को विकल्प त के होला र !

    अरुको स्क्रिप्ट अर्थात् निर्माणमा बनेका फिल्ममा काम गर्दा चित्त नबुझ्नु त ठीकै होला तर, तपाईं आफैं निर्माता भएर बनाएको फिल्म (माछा माछा) बाटचाहिँ सन्तुष्ट हुनुभयो त ?
    त्यो मैले मेरो रुचिले बनाएको फिल्म थिएन । एकजना नयाँ साथी डिरेक्टर बन्छु भनेर आउनुभयो । केही रकम लगानी गर्छु भन्नुभयो । नढाँटी भन्नुपर्दा, मैले मेरो साथीका लागि प्रोड्युस गरेको फिल्म थियो त्यो । त्यसैले उहाँले आफ्नो हिसाबले स्वतन्त्र भएर काम गर्नुभयो । र, मैले कन्टेन्टको हिसाबले भन्दा पनि साथीको यात्रामा सपोर्ट गर्ने हिसाबले त्यो फिल्मको निर्माता बन्न तयार भएँ ।

    नाटक त निर्देशन गर्नुहुन्छ नै, सिनेमा निर्देशनबारे केही सोच्नुभएको छैन ?
    अहिले थाहा छैन, भोलि गर्न पनि सक्छु ।

    अर्को फिल्म निर्माणको तयारीमा हुनुहुन्छ भन्ने सुनेको थिएँ । त्यसको निर्देशनचाहिँ आफैं गर्ने सोचमा हो कि ?
    अँ, तयारी त गरिरहेको हो । तर निर्देशन आफैं गर्छु कि अरुलाई दिन्छु, त्यो पनि मलाई अहिले थाहा छैन ।

    dayahang rai 3.jpg
    निर्देशक रामबाबु गुरुङका फिल्ममा तपाईं प्रायः छुट्नुहुन्न तर उनका फिल्ममा सधैं चरित्र भने उस्तै देखिन्छ । त्यही ‘लफङ्गो’, ‘बेरोजगार’, ‘सधैं केटीको पछि लागिरहने...’ इत्यादि । त्यसैले बजारमा तपाईंलाई रामबाबुबाटै खतरा भयो भन्नेहरु पनि छन् नि ?
    देखिने कुराहरुचाहिँ साच्चिकै हो । हिजो ‘अनागरिक’देखि आज ‘सेन्टी भाइरस’सम्मको हाम्रो यात्रा हेर्ने हो भने उस्तै उस्तै क्यारेक्टर देखिन्छ । ‘कबड्डी’को तीनवटा सिरिज नै गरिसक्यौं हामीले । तर, ऊसँग काम गर्दाको मज्जा के हो भने हाम्रो भोगाइ उस्तैउस्तै भएकाले क्यारेक्टरको विकास पनि त्यसैगरी हुँदो हो । गहिरिएर क्यारेक्टरको ग्राफ हेर्ने हो भने कबड्डीका तीन वटा सिरिजमा केही फरक छन् जस्तो लाग्छ । तीन वटा सिरिजको समय पनि फरक थियो । बाहिरबाट देख्दा उस्तै लागे पनि भित्री सोचाइका हिसाबले फरक थियो किजस्तो लाग्छ ।

    तपाईंहरु दुई जनाको यो सहकार्य सिनेमामा सधैं आवश्यकता भएरै हुने हो ?
    कहिलेकाँही ब्रेक गरौं कि भन्ने पनि हुन्छ तर पहिलो फिल्म ‘अनागरिक’ गर्दा हामीले कति दुःख पाएका थियौं, ‘कबड्डी’ गर्दाखेरी कति पाएका थियौं, ती भोगाइले हामीलाई छुट्न नदिएको हो । कसले विश्वास गरेको थियो र त्यतिबेला हामीलाई ? एकजना निश्चल बस्नेत आयो, जसले टिममा राखेर काम गर्न तयार भयो । तैपनि एउटा ‘कबड्डी’ फिल्म बनाउन हामीलाई तीन वर्ष लाग्यो । विविध संघर्षका कारणले । कतिपल्ट अस्वीकृत हुनुपर्‍यो, कतिपल्ट तिरस्कृत भनेर साध्य छैन ।

    भनेपछि जीवनमा थुप्रै अस्वीकृत हुनुपर्‍यो है ?
    छ नि, धेरै छ । अडिसन दिन थुप्रै ठाउँ गइएको छ । अडिसनमा छनोट हुनु नहुनु फरक कुरा हो तर सुरुमै फिट हुँदैन भनेर पठाइदिन्थे । ‘लुट’ हिट भइसकेपछि पनि थुप्रै कुरा आए । नयाँ केटाहरु आएर सिनेमा बिगारेसम्मको टिप्पणी भयो । यस्ता धेरै घटना छन् भनेर साध्य छैन ।

    लकडाउनमा राजेश हमालको ‘महानायक’ पदवी विवादको विषय बन्यो । यस्ता पदवीमाथि तपाईंको व्यक्तिगत धारणा के छ ?
    दिँदा–लिँदा केही फरक पर्दैन । सबैले स्वीकार्छन् भन्ने हुन्न । स्वीकार गर्नेलाई पनि सम्मान गर्नुपर्छ, अस्वीकार गर्नेको मतलाई पनि स्वीकार गर्नुपर्छ । मलाई त के लाग्छ भने यो पदवी भनेको कसैलाई चाप्लुसी वा देवत्वकरण गरेजस्तो मात्रै हो ।

    निकट भविष्यमा यदि तपाईंलाई अभिनेताका रुपमा यस्तै कुनै पदवी दिइयो भने ग्रहण गर्नुहुन्छ ?
    बहुत गाह्रो हुनेछ मलाई । कसरी सम्हाल्ने ? यस्ता चिजमा धेरै बहस भए । महानायक माथि होइन, आदिकवी, राष्ट्रकवी लगायत थुप्रै पदवी माथि बहस भए । यो एक किसिमको चाकडीवाज पनि हो । एउटा समयमा दिइएको पदवी भोलि अर्को समयमा स्वीकार नहुन पनि सक्छ नि । त्यो भनेको त त्यो सर्जक अथवा कलाकारको झन् ठूलो अपमान भयो नि । युगमै एकजना मात्रै महाकबि होलान् त ? अथवा, यो समयसम्मको भन्दिने कि ? भोलि उहाँहरुभन्दा खतरनाक मान्छे आउँलान्, देवकोटाभन्दा खुंखार कविताहरु आउँलान् कि ?

    त्यसैले शब्द र अर्थहरुलाई जोगाएर राख्नुपर्छ भन्न खोज्नुभएको हो ?
    यो विषयमा बहस हुनुपर्छ । तर, आरोप-प्रत्यारोपमा उत्रिनु हुन्न । सबैको मतको सम्मान हुनुपर्छ चाहे समर्थक हुन् या आलोचक ।

    तस्बिरः सन्दिप आचार्य


    प्रकाशित :भाद्र २६, २०७७ शुक्रवार - २०:१०:३७

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.