सज्जा भन्छिन्- नेपाल आइडल हुनुअघि नै मेरो ब्यान्डका लागि म विजेता भइसकेकी थिएँ [भिडियो]-Sutra News

सज्जा भन्छिन्- नेपाल आइडल हुनुअघि नै मेरो ब्यान्डका लागि म विजेता भइसकेकी थिएँ [भिडियो]

शुक्रबार, २६ भाद्र २०७७

शुक्रबार, २६ भाद्र २०७७

काठमाडौं– नेपाल आइडलको तेस्रो संस्करणकी विजेता बनिन् सज्जा चौलागाई। आइडलको विजेता बनेपछि सज्जा जितलाई दुःखको सफलताको रुपमा परिभाषित गर्छिन्। सज्जा भन्छिन्, ‘परिश्रम गर्दै जानुस् जित हासिल हुन्छ। मान्छेले परिश्रम गरेको फल हो, जित।’



धेरैलाई थाहा नहोला ‘नेपाल आइडल’मा सहभागी हुनुअघि सज्जा ठमेलका पब र रेष्टुरेन्टमा गीत गाउँथिन्। उनको आफ्नै ब्यान्ड छ, ‘द लोडिङ’। ब्यान्डकी उनी एकमात्र महिला सदस्य हुन्। अरु सदस्यमा छन्, सुशान्त सापकोटा (किबोर्डिस्ट), अविनाश अछामी (गीतार) र पेम्बा छिरिङ तामाङ (क्याजन)।

सज्जाको विजयलाई उनी र उनका ब्यान्ड सदस्य समुहकै जित भएको ठान्छन्। सज्जा भन्छिन्, ‘मलाई बनाउने नै उहाँहरु हो। मैले जित्नु भनेकै ब्याण्डको जीत ह।’

समुहका सदस्य अविनाश ब्याण्डको सुरुवातबाट सबैले संघर्ष गरेको सम्झिन्छन्। सुरुवातमा गरेका संघर्ष, विस्तारै उक्लिदाँको अवस्था उनले बिर्सिएका छैनन। भन्छन्, ‘सज्जाको जीत भनेको पूर्ण रुपमा हाम्रै जीत हो। उसले आईडल जित्दा आफैंले जितेको जस्तो महसुस भइरहेको छ।’

त्यस्तै ब्यान्डका किबोर्डिस्ट सुशान्त पनि सज्जाको विजयप्रति उस्तै सुनिए, ‘सज्जाले गरेको मिहेनत र संघर्ष देख्दा यो जित स्वभाविक हो जस्तो लाग्छ। उसले गरेको संघष र मिहेनतका अगाडी यो जित स्वाभाविक हो।’

नेपाल आइडलको अडिसनमा गएदेखि नै सज्जालाई उनको समूहले साथ दिएको सम्झिन्छिन् उनी। सज्जा अडिसनको समय सम्झिदैं भन्छिन्, ‘म अडिसनमा जाँदादेखि नै हाम्रो ब्याण्डको लागि विजेता भईसकेकी थिएँ। उहाँहरुले पनि ‘यो एउटा रियालिटी शो मात्रै हो, हाम्रो नजरमा तिमी सधैं विजेता हौं’ भन्नुहुन्थ्यो।’

अडिसनमा जाँदादेखि नै सज्जामा आफूले कुनै न कुनै स्थान हासिल गर्छु भन्ने आत्मविश्वास थियो। सज्जामा केही नभएपनि टप १० सम्म पुग्ने विश्वास थियो। झन् टप फाइभ सम्मै पुगेँ भने आईडल नै बन्छु भन्ने उनलाई लागेको थियो। नभन्दै त्यस्तै भयो। जितको खुशीमा रमाइरहेकी उनी यतिखेर अडिसनमा छनोट भएपछिको समय सम्झिदैं भन्छिन्, ‘ब्याण्ड मेम्बर र परिवारको साथले पनि मलाई त्यो स्थानमा पुग्छु भन्ने लागेको थियो।’

त्यसो त आइडलमा हुँदा कहिलेकाँही सज्जालाई आफ्नो यात्रा बिचैमा अलपत्र पो होला कि भन्ने नलागेको होइन। यात्राका दौरान कतिपटक त सज्जा बटम राउण्डमा पनि परेकी थिइन्। त्यो बेला आफ्नो यात्रा बिचैमा सकिने पो हो की भन्ने लाग्थ्यो उनलाई।

‘आइडलमा जानुको उद्देश्य नै आफूले ‘आइडल’को उपाधी पाउनु भन्ने थियो,’ उनी भन्छिन्, ‘बिचैमा यात्रा टुट्यो भने त त्यहाँ जानुको उद्देश्य नै पुरा हुन्थेन। कहिलेकाँही आफूमा उत्पन्न हुने डरलाई आफ्नो ब्याण्ड र परिवारका सदस्यको साथले जित्न सकेँ।’

सज्जाको आइइलको यात्रा र उनले हासिल गरेको जितको पछाडी उनको ब्याण्डले गरेको संघर्षको कथा बेग्लै छ। त्यसलाई कसरी भुल्न सकिन्छ र? ब्याण्डको सुरुवाती दिनको बारेमा सुनाउँदै ब्याड सदस्य पेमा भन्छन्, ‘सुरुवातमा साथीभाई मिलेर ब्याण्ड खोलेका थियौं । संगीतमा रुचि राख्ने साथीहरुले मिलेर ब्याण्ड सुरु गरेका थियौं।’

ब्याण्डको सुरुवात संगीतमा रुचि राख्नेहरुको इच्छाले भएको थियो । सज्जा र पेमा ब्याण्डमा सुरुवातबाटै थिए। अरु साथीहरु पनि थिए उनीहरुको साथमा। तर, पछि कति साथीहरु छुटे, कति जोडिए। समय–समयमा जोडिदैं, छुटिदैं अहिलेको अवस्थामा आइसक्यो। पेमा भन्छन्, ‘हामी अहिले ब्याण्ड मात्रै छैनौं एउटा परिवार नै भइसकेका छौँ।’

ब्यान्ड सदस्य सज्जा नेपाल आइडलको विजेता भएपछि आफ्नो ब्याण्डलाई थप सक्रिय र अगाडी पु¥याउने योजनामा छिन्। भन्छिन्, ‘ब्याण्डमार्फत नै आएकी म एकजनाले आईडल जितेकी हुँ। अब ब्याण्डलाई पनि यहि चर्चामा ल्याउनुपर्छ। त्यसको लागि हामीले अझैं संघर्ष गर्न बाँकी छ।’

आइडलबाट पाएको सफलताले सज्जाको व्यक्तिगत सांगितिक यात्रामा त टेवा पुग्छ नै, उनी संलग्न समुहलाई पनि त्यसले केही सहजता सिर्जना गर्छ। सज्जा र उनका साथीहरु थप मिहेनत गरेर अबको यात्रालाइ अगाडी बढाउने प्रणमा छन्। सज्जा भन्छिन्, ‘केही समय त लागिहाल्छ। तर, हामीले अबको यात्रालाई थप सक्रिय भएर अगाडी बढ्ने हाम्रो तयारी छ। अब थप मिहेनत गर्ने बाटो खुलेको छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट