

काठमाडौं– नेपालमा पछिल्लो १० वर्षमा ४० लाख रोजगार सिर्जना भएको विश्व बैंकको एक प्रतिवेदनले देखाएको छ। बैंकले सार्वजनिक गरेको नेपाल डाइग्नोस्टिक रिपोर्टमा उक्त कुरा उल्लेख गरिएको छ।
रिपोर्टअनुसार सन् २००८ देखि २०१८ को अवधिमा नेपालमा ४० लाख थप मान्छेले रोजगारी पाएका छन्। रोजगारी सिर्जना भएपनि यो केवल ज्यालादारीमा सीमित भएको र कामदारको क्षमताको सदुपयोग हुन सकेको छैन।
विश्व बैंकको रिपोर्टका अनुसार कोभिड १९ को रिकभरी अवधिमा यस्तो गुणस्तरीय र स्थिर रोजगारीको आवश्यकता झन बढेर जानेछ। गएको दशकमा नेपालको अर्थतन्त्रको संरचनात्मक परिवर्तन भएको उल्लेख छ।
कृषिमा आधारित रहेको अर्थतन्त्र आधुनिक सेवामा आधारित हुँदै गएको जनाइएको छ। ‘यो संरचनात्मक संक्रमणले श्रमशक्तिलाई राम्रो अवसर सिर्जना गरेको छ’ विश्व बैंकले उल्लेख गरेको छ। यद्यपि, यसरी बढेको अवसरको फाइदा विशेषगरी गुणस्तरीय रोजगारीको अवसर महिलाका लागि उपलब्ध भइसकेको छैन।
निर्माण, उत्पादन, उद्योग, यातायात, व्यापार जस्ता क्षेत्रमात्र होइन विदेशमा पनि पुरुष कामदारले नै अवसर बढी पाएका छन्। तथापि, महिलाले पनि पछिल्लो समय रोजगारीमा हिस्सा बढाउँदै लिएका छन्। सन् २००८ मा कुल १७ प्रतिशत हिस्सा रहेकोमा सन् २०१८ मा २४ प्रतिशत पुगेको छ।
रिपोर्टले नेपालको रोजगार बजारमा सुधार गर्न साना तथा मझौला व्यवसायलाई प्रवर्द्धन गर्ने नीति अवलम्बन गर्न जोड दिएको छ।
स्टार्टअपको विकास रोजगारी सिर्जना गर्न महत्वपूर्ण पक्ष भएको विश्व बैंकको प्रतिवेदमा समावेश गरिएको छ। यस्तै, व्यापार तथा लगानीका लागि वातावरण निर्माण र श्रमिक सम्बन्धी नीति नियमतर्फ ध्यान दिन सुझाएको छ।