पुरानो क्यालेन्डरमा फालेको छु
मैले चाहनाका औंलाहरूले बुनेको जाल
अतीतको सागरबाट निकालेर ल्याउनेछु
कुनै टक्क अडिएको समय
अनि त्यसलाई मेरो आजको स्थिति पेश गरेर
गाली गर्नेछु
जुन समय प्रेयसीको सुन्दरता
मैले खेतमा छरेको थिएँ
त्यसैको फलद्वारा
अब खेतहरूसित निष्ठाको वर माग्नेछु
अनि सहिदकी दुलही सडकलाई
आफ्नो कुमार पाइतालाहरूको ताल दिनेछु
मेरो खुइयामा छ ओसिएको हावाको गन्ध
मेरो निधारमा छ पतझडको उदास रंग
अनि मेरो अंगालोमा छ समयको साँचोपन
म आफ्नो हृदयमा भर्न चाहन्छु
प्रकृतिमा चहार्दै गरेको अनगिन्ती गीत…
मलाई थाहा छ
त्यति सहज हुन्न यो पैतृक-कर्तव्य
यो कुनै गुण होइन कसैमाथि
कि कुन मौसममा गालिबको शेर मैले भुइँमा कुल्चिएर आएँ
मलाई पनि इच्छा हुन्छ
प्यारो मित्रलाई आफ्नो मनको कुरा भन्ने
कुनै अग्लो डाँडामा बसेर बाँसुरी बजाउने
अनि मधुर गीतका लय र भाकाहरूलाई
समय असमय सलाम गर्ने
मैले आफ्नो हृदयलाई
एक जंगली पीपलको हाँगामा झुन्ड्याएर आएको छु
जसले मेरो भित्री गोजीमा घोचिरहन्छ
वसन्तको कसम
यो यात्रा कहाँ सुरु हुन्छ
अथवा यात्रामा- धुलाका कति रंगहरू हुन्छन्
वा कुनै अन्य प्रश्न
तिमी कुनै जादुगरलाई सोधेर आउनु
म एकजना अ-सभ्य यात्री
केवल यति भन्न सक्छु
बिदाइका कुनै शब्द हुँदैनन्
र,जति पनि यात्रा गरिन्छ त्यो दुख- पीडको हँदैन
त्यस्तै मृत्युको कुनै लक्ष्य हुँदैन
अनि लक्ष्यको कुनै अर्थ हुँदैन।
०००
अनुवाद : आरके अदीप्त गिरी
(सन् १९५० सितम्वर ९ मा तलवण्डी जालन्धर, पञ्जाबमा जन्मिएका अवतार सिंह पाश मूलत: प्रगतिशील कवि हुन् । भारतीय स्वतन्त्रता, स्वाधीनता र सामाजिक मुद्दामा विशेषत क्रान्तिधर्मी भावना ओकल्ने पाश कविता लेखेकै कारण कयौं पटक गिरफ्तारी र जेल जीवन भोग्न बाध्य भए । त्यसोत केही समय उनले बेलायतमा प्रवासी जीवन पनि बिताउनु पर्यो । बेलायत बसाइँका क्रममा उनले `एन्टी 47 फ्रण्ट´नामक पत्रिका प्रकाशन गरेर असत्यको बिरोध गरिरहे । मूलत: पंजाबी भाषामा कलम चलाउने उनका दर्जनौं किताबहरू हिन्दी एवम् अङ्ग्रेजी भाषामा अनुदित, प्रकाशित र सम्पादित छन् । साडे समियाँ विच (१९७८), उड्डदे बाजाँ मगर (१९७४), लोह कथा (१९७०), खिलरे होये वर्के (१९८४) उनका प्रमुख कविता कृति हुन् । प्रस्तुत कविताहरू सुभाष परिहारद्वारा हिन्दीमा अनुदित उनका प्रतिनिधि कविताहरू संकलित काव्यकृति `अक्षर अक्षर´बाट अनुवाद गरिएको हो ।)