फुटपाथ र ठेला व्यापारमा प्रतिबन्ध लगाउन महानगरको माग-Sutra News

फुटपाथ र ठेला व्यापारमा प्रतिबन्ध लगाउन महानगरको माग

शुक्रबार, २६ भाद्र २०७७

शुक्रबार, २६ भाद्र २०७७

काठमाडौं- काठमाडौं महानगरपालिकाले फुटपाथ पसल र ठेला व्यापारमा प्रतिबन्ध लगाउन माग गरेको छ। काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई पत्र लेखी फुटपाथ तथा ठेला व्यापारमा पूर्ण प्रतिबन्ध लगाउन आग्रह गरेकी हुन्।



उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले २५ भदौदेखि फुटपाथ र ठेला ब्यापारको लागि समय तोकिदिएको थियो। २४ भदौको निर्णयअनुसार विहान ११ बजेसम्म र बेलुका ४ देखि ७ बजेसम्म फुटपाथ र ठेला ब्यापार गर्न फुकुवा गरेको थियो।

सो सम्बन्धनमा उपप्रमुख खड्गीले फुटपाथ र ठेला ब्यापारले सहरमा समुदाय तहमा कोरोना संक्रमण फैलिने जोखिम बढ्ने भएकाले निषेध गर्न आग्रह गरेकी हुन्। यस्ता व्यापारीले स्वास्थ्य सुरक्षाको उपाय अवलम्बन गर्ने सम्भावना न्युन रहेको र त्यसको प्रभावकारी अनुगमन गर्नसमेत समस्या हुने उनको भनाइ छ।

यस्ता व्यापारीमा कोरोना संक्रमण देखिएमा प्रभावकारी ढंगले कन्ट्याक्ट ट्रेसिङसमेत गर्न नसकिने भन्दै उपप्रमुख खड्गीले फुटपाथ तथा ठेला व्यापार नियन्त्रण गर्ने महानगरपालिकाको नीति रहेको भन्दै यसलाई बन्द गर्नेगरी आदेश जारी गर्न माग गरेकी हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट