अफगान सरकार र तालिवानबीच दोहामा शान्ति वार्ता हुँदै-Sutra News

अफगान सरकार र तालिवानबीच दोहामा शान्ति वार्ता हुँदै

शनिबार, २७ भाद्र २०७७

शनिबार, २७ भाद्र २०७७

दोहा- अफगानिस्तानमा विगत लामो समयदेखि जारी हिंसाको अन्त्य गरी दीगो शान्ति स्थापना गर्ने उद्देश्यले कतारको दोहामा वार्ता हुन लागेको छ। अफगानिस्तानको सरकारी वार्ता टोली र तालिबान समूहसँगको वार्ता टोली शनिबार हुने शान्ति वार्ता गर्नका लागि कतारको दोहा पुगिसकेको बताइएको छ।



अफगानिस्तानमा जारी करिब दुई दशक लामो द्वन्द्वको अन्त्य गर्ने उद्देश्यले अमेरिकी मध्यस्थतामा तालिबान समूहसँग अफगानिस्तान सरकारले वार्ता गर्ने तयारी गरेको हो।

तालिबान समूहले पनि एक उच्चस्तरीय प्रतिनिधिमण्डल अफगान सरकारसँग वार्ताका लागि कतारको दोहा पठाएको जानाएको छ। तालिबान र अफगान सरकारबीच अफगानिस्तानमा दीगो शान्ति स्थापनाका लागि वार्ता गर्ने अन्तिम तयारी भएको जनाइएको छ।

पछिल्लो समयमा दुबैतर्फका कैदीहरूको आदानप्रदानको विवादका कारण केही ढिला गरी सो वार्ता सुरु हुन लागेको हो। गत मार्च महिनामा हुने भनिएको यो वार्ता यसै कारणले पछि धकेलिएको र शनिबारबाट सुरु हुने बताइएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानको युद्ध अन्त्य गर्न र सेनालाई स्वदेश फिर्ता लिनको लागि तयार भएपछि यो वार्ताको वातावरण बनेको हो। उनले यसलाई आफ्नो महत्वपूर्ण नीतिका रुपमा प्राथमिकता दिँदै आएका छन्।

अमेरिकी विदेशमन्त्री पोम्पेओसँग छुट्टै वार्ता

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले कतारको दोहामा अफगानिस्तानको सरकार र विद्रोही तालिबानहरुको शान्ति वार्ता टोलीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएको छ। कतारको दोहामा आजदेखि अफगान सरकार र तालिबानबीच शान्ति वार्ता सुरु हुन लागेको छ। सो वार्ताको मध्यस्थताका लागि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ पनि कतार पुग्नुभएको बताइएको छ।

उनी शुक्रबार नै कतार पुगेका छन्। उनले अफगानिस्तान सरकार र तालिवानबीचको वार्ता सबैभन्दा लामो युद्ध अन्त्य गर्ने अमेरिकाको एउटा पहल भएको बताए। हालः दोहामा रहेका अफगानिस्तान सरकारको शान्ति वार्ता टोली र तालिबानहरुको शान्ति वार्ता टोलीसँग उनले छुट्टाछुट्टै भेटवार्ता गर्न लागेको कतारको दोहामा रहेका विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान सरकार र त्यहाँको मुख्य विद्रोही समूह तालिबानसँग हुन गइरहेको शान्ति वार्ताको मध्यस्थता गर्नका लागि अमेरिकी विदेशमन्त्री पोम्पेओ कतारको दोहा जाने जानकारी हिजो नै दिएका थिए।

गएको फेब्रुअरी महिनामा तालिबान र संयुक्तराज्य अमेरिकाका बीचमा कतारको राजधानी दोहामा भएको सम्झौता पछि अफगान सरकार र तालिबान समूहबीच वार्ताको तयारी सुरु हुन लागेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट