काठमाडौं– सन्देश १६ बर्षका भए । उनी १० कक्षामा पढ्छन् । लकडाउनका कारण उनी स्कुल जान पाएका छैनन् । शिक्षक–शिक्षिकाहरु उनको आमालाई सधैँ फोन गरेर ‘छोरालाई अनलाइन कक्षामा सहभागी गराउन’ भनिरहन्छन ।
‘खान छैन,अब यिनीहरुलाई कसरी अनलाईनमा पढाउन सक्छु र ?’ सन्देशकी आमा सुकसुकाउँदै भन्छिन्, ‘ न गतिलो मोबाईल छ । भएको यहि एउटा टुकटुके मोबाईल हो । यसमा नेट कहाँबाट चलाउनु ?’
लैनचौर नजिकै आमा, दुई दाजु र बहिनीसँग सन्देश बस्छन । कोठाभाडा नतिरेको ६ महिना भयो । घरबेटी आछन् । बिरामी दाजुको अनुहार हेर्छन,आमाको आँसु हेर्छन अनि चुपचाप फर्किन्छन ।
‘मृगौला फेल भाको जेठा दाजु हुनुहुन्छ,’ उनीको दुखेसो छ, ‘माईला दाइले फुटपाथमा बसेर बेच्न लजाउनुहुन्छ। घर खर्च आमा र मैले हेर्नुपर्छ। यो निषेधाज्ञापछि त खानलाई रासन पनि छैन् । ग्याँस सकिएको छ। जीवन निकै मुश्किल छ।’
सन्देश ‘लकडाउन’कै समयमा ठमेल क्षेत्रमा चिया र चुरोट बेच्दै गरेको भेटिन्थे। घरको समस्या र आमाको आँसु ६ महिनासम्म त्यही साघुरो अनि अध्यारो कोठामा बसेर सन्देशले देखे ।
उनी हरेक साँझ लकडाउन खुल्ने आसमा निदाउँथे। यसरी महिना बित्दै गयो। कोठामा अभाव पनि थपिदै। सरकारले निषेधाज्ञा खुकुलो बनाउने खबर उनले थाहा पाए ।लगत्तै उनले महिनौदेखि थन्किरहेको टोकरी उठाए । चिनेको किराना पसलमा गए र आफूलाई चाहिने गुट्खा,चुरोट,खैनी, केही थान मास्क र चाउचाउ किने र सुटुक्क लागे ठमेलको जिपिरोड तिर ।
एकबजेतिर उनी जिपिरोड आईपुगेका थिए । भर्खर दुई खिल्ली चुरोट र एउटा मास्क बिक्री भएको थियो मात्रै, प्रहरीको भ्यान आईपुग्यो। ठमेलका केही कपडा पसल खुलेका थिए, तीनलाई बन्द गर्न भनियो ।
सन्देशको एउटै प्रश्न छ, सरकार अनि प्रहरीसँग– ‘फुटपाथमा बसेर व्यापार गर्नेलाई कार्वाही गर्ने तर होटल अनि रेस्टरेन्ट चाहिँ खुल्लै राख्ने ? यताको भीडले कोरोना सर्ने तर त्यहाँको भीडले नसर्ने हुन्छ ?’
थप स्टोरी भिडयोमाः