उद्धव ठाकरेविरुद्ध कंगना : शिव सेना सुध्रिएकै हो ?-Sutra News

उद्धव ठाकरेविरुद्ध कंगना : शिव सेना सुध्रिएकै हो ?

शनिबार, २७ भाद्र २०७७

शनिबार, २७ भाद्र २०७७

मुम्बईबलिउड अभिनेत्री कंगना रणावतले बीएमसीको कारबाहीपछि शिवसेनाका प्रमुख उद्धव ठाकरेविरुद्ध आलोचनात्मक टिप्पणी गरेकी छन्। कंगनाले सामाजिक सञ्जालमा एक भिडियो राख्दै भनेकी छन्, ‘उद्धव ठाकरे तँलाई के लाग्छ, तैँले फिल्म माफियाको साथ मिलेर मेरो घर तोडेर मसँग ठूलो बदला लिइस्? आज मेरो घर तोडेको छस्, भोलि तेरो घमण्ड टुट्छ।’



कंगनाले आफ्नो भिडियोमा कश्मिरी पण्डितहरुको दुःखलाई पनि महसुस गर्नुपर्ने कुरा गरेकी छन्। तर, उनले जुन किसिमले उद्धव ठाकरेविरुद्ध आफ्नो रिस देखाएकी छन्, त्यो महाराष्ट्र र ठाकरे परिवारको राजनीतिलाई बुझ्ने पत्रकार तथा विशेषज्ञका अनुसार निकै अपत्यारिलो देखिएको छ। मुम्बईमा बस्ने कुनै पनि व्यक्तिले ठाकरे परिवारका कुनै पनि व्यक्ति तथा शिव सेनाका प्रमुखको विरुद्धमा यस किसिमले कहिल्यै प्रस्तुत भएका थिएनन्। कंगनाले दिएको अभिव्यक्तिले भारतीय सिने क्षेत्रसँगै महाराष्ट्रको राजनीतिमा पनि हलचल आएको छ।

महाराष्ट्रको राजनीति तथा ठाकरे परिवारलाई नजिकबाट नियालेका भारतका वरिष्ठ पत्रकार निखिल वाग्ले भन्छन्, ‘कंगनाले जुन भाषाको प्रयोग गरेर मुख्यमन्त्रीको विरुद्धमा बोलेकी छन्, यस्तो कहिल्यै भएको थिएन।’

वाग्लेका अनुसार विगत ४० वर्षमा कहिल्यै यस्तो भएन। उनी भन्छन्, ‘कंगनाले आफ्नो भिडियोमा उद्धव ठाकरेलाई ‘तँ’ र ‘तैँले’जस्ता शब्दको प्रयोग गरेकी छन्। मलाई थाहा हुँदासम्म विगत ४० वर्षको इतिहासमा कहिल्यै यस्तो भएको थिएन।’

वाग्लेका अनुसार ठाकरे परिवार तथा उनीहरुको राजनीतिका आलोचक वा विपक्षी दल वा उनीहरुको विरुद्धमा उभिने कसैले पनि महाराष्ट्रका मुख्यमन्त्री तथा ठाकरे परिवारमाथि यस किसिमको भाषाको प्रयोग गरेका थिएनन्।

किन चुप छ शिव सेना?

कंगनाले बिहीबार पनि उद्धव ठाकरेमाथि निरन्तर प्रहार गरेकी थिइन्। उनले ट्विटरमा लेखेकी छन्, ‘जुन विचारधारामा बाला साहेब ठाकरेले शिव सेनाको निर्माण गरेका थिए, आज त्यो विचार धारा सत्ताको लागि बेचेर शिव सेना सोनिया सेना भइसकेको छ।’

कंगनाले अर्को ट्विटमा उद्धव ठाकरेलाई लक्षित गर्दै उनका बुबाको राम्रो कामले उनलाई सम्पत्ति प्राप्त भए पनि सम्मान आफैँले कमाउनुपर्ने बताएकी छन्। उनले लेखेकी छन्, ‘मेरो मुख बन्द गरौंला, मेरो आवाज बन्द गरौंला। तर, त्यसपछि लाखौंको आवाजमा यो कुरा गुञ्जिने छ। त्यो बेला कसको मुख बन्द गर्छौं? कसको आवाज दबाउँछौं?’ कंगनाले उद्धवलाई उनी वंशवादको एउटा नमूनाभन्दा बढी केही नभएको उल्लेख गरेकी छन्।

कंगनाले यसरी निरन्तर शिव सेना र दलका प्रमुख उद्धव ठाकरेमाथि प्रहार गरिरहँदा पनि शिव सेनाले कुनै प्रतिक्रिया दिएको छैन। महाराष्ट्रको इतिहासमा सम्भवतः यस्तो पहिलोपटक भएको हो। यसअघि शिवसेनाविरुद्ध आलोचना गर्नेहरुलाई समर्थकहरुले विरोध प्रदर्शन गर्ने, तोडफोड गर्ने र भौतिक आक्रमण गर्नसमेत पछि नपर्ने इतिहास छ।

के शिव सेना बदलिरहेको छ?

उनका अनुसार शिव सेना लचक देखिएकै हो। शिवसेनाले गर्ने धेरै घटनाहरुको आफू साथी रहेको बताउँदै वाग्लेले थोरै आलोचना गर्दासमेत आक्रमणमा उत्रिनेगरेको बताए। उनी भन्छन्, ‘बाला साहेब ठाकेरेको समयमा जुन शिवसेना थियो, त्यो केवल बाला साहेब ठाकरेको आदेशमा चल्थ्यो। त्यो बेला शिव सेना निकै आक्रामक पनि थियो।’

उदाहरणको रुपमा बाला साहेब ठाकरेले सार्वजनिकरुपमा आफू हिटलरको प्रशंसक भएको बताएको उनी सम्झिन्छन्। वागले भन्छन्, ‘उनी हिटलरको प्रशंसक थिए र आजको लोकतन्त्रमा विश्वास गर्दैन थिए। उनी सधैं प्रतिक्रिया दिनुपर्छ भन्ने सोच राख्थे।’

वाग्ले शिव सेनाको प्रतिक्रियाको रुपमा शाहरुख खानको सिनेमा ‘माइ नेम इज खान’ आउँदाको समय सम्झिन्छन्। उनी भन्छन्, ‘त्यो बेला शिव सेनाले यो सिनेमाको निकै विरोध गरेको थियो।’ शिव सेनाले उक्त फ्लिमको विरोध गर्नुको कारण सिनेमामा शाहरुख खानले पाकिस्तानको बारेमा बोलेको संवाद थियो। उक्त मुद्दामा शिवसेना सडकमा उत्रिएको थियो। त्यसबेला महाराष्ट्रमा कांग्रेसको सरकार थियो। फिल्मको प्रदर्शनको समयमा शाहरुख खान र चलचित्रलाई सुरक्षा दिनुपरेको थियो।

‘योबाहेक तपाईंलाई थाहै होला, म सम्पादक भएको पक्रिका र टेलिभिजन च्यानल- महानगर र आइबिएन लोकमतमा पनि पटक-पटक हमला भएको थियो,’ उनी सम्झिन्छन्, ‘यसको कारण हामीले शिव सेना र बाला साहेब ठाकरेको आलोचना गरेका थियौं। त्यो बेला म आफैँले चार पाँच वटा हमलाको साक्षतकार गरेको छु।’

तर, अहिले कंगनाको मुद्दामा भने शिव सेनाको त्यस्तो रुप देखिएको छैन। यो विषयमा वागले भन्छन्, ‘यसपटक पहिलाको जस्तो प्रतिक्रिया कतै पनि देखिएg। पहिले शिव सेनामाथि कसैले यो किसिमको टिप्पणी दिन्थ्यो भने उसकोविरुद्धमा प्रदर्शन हुन्थ्यो, ढुंगामुढा हुन्थ्यो।’

शिवसेनाले कंगनालाई सधैं सहनसक्छ?

महाराष्ट्र तथा शिव सेनाको राजनीतिलाई निकै नजिकबाट बुझेकी वरिष्ठ पत्रकार सुजाता आनन्दन पनि निखिल वागलेको तर्कसँग सहमत देखिन्छिन्। सुजाता आनन्दनलाई महाराष्ट्रका ती पत्रकारहरुमध्ये मानिन्छ जसले शिवसेनाको सुरुवात र यसमा आएको बदलावमाथि टिप्पणी गरेकी थिइन्।

‘सम्भवतः मैले सबैभन्दा पहिले उद्धव ठाकरेको विचार आफ्नो बुबाको जस्तो छैन भनेर लेखेकी थिएँ,’ अहिले शिव सेनामा देखिएको प्रकृतिमाथि आफ्नो तर्क दिँदै उनी भन्छिन्, ‘त्यो बेला मलाई थुप्रैले ठाकरेको समर्थनमा यस्तो लेखेको आरोप लगाएका थिए। तर, अहिले मैले भनेकै कुरा वास्तविकतामा बदलिएको छ।’

अहिलेको शिवसेना बाला साहेब ठाकरेको नभएर उद्धव ठाकरेको पार्टी भएकाले यस्तो परिवर्तन देखिएको आनन्दन बताउँछिन्। उनी भन्छिन्, ‘उद्धवको ठाउँमा राज ठाकरे हुन्थे र उनी राज्यको मुख्यमन्त्री हुन्थे भने पहिलाको जस्तै शिवसेनाको रुप देखिन्थ्यो। शिवसेनाको महिला विभागले कंगनामाथि कालो मोसो पोतेको देखिन्थ्यो। तर, अहिले शिवसेना पहिलेको जस्तो छैन।’

वर्तमान शिव सेनाका नेता उद्धव ठाकरे तथा आदित्य ठाकरे बाला ठाकरेजस्तो नभएको उनी बताउँछिन्। आनन्दनका अनुसार आदित्य ठाकरे एक सौम्य स्वभावको नेता भएको र बलिउड तथा व्यापार क्षेत्रमा उनको राम्रो सम्बन्ध छ।

अर्कातिर, उद्धव झन् बढी सौम्य स्वभावका छन्। त्यसैले पनि अहिलेको शिवसेनामा पहिलाको विशेषता खोज्न नमिल्ने उनी बताउँछिन्, भन्छिन्, ‘अहिलेको शिवसेनामा पहिलाको जस्तो शिवसेनाको अपेक्षा गर्न मिल्दैन। किनकि यसअघि ठाकरे परिवार चुनाव जितेर सत्तामा पुगेका थिएनन्। तर, अहिले पहिलो पटक ठाकरे परिवारको एक व्यक्ति सत्ताको शीर्ष स्थानमा छ।’

शिवसेनाले कंगनामाथि कस्तो प्रतिक्रिया दिन्छ त? यस विषयमा आनन्दन शिवसेनाले आफ्नो पुरानै शैलीमा जवाफ दिने बताउँछिन्। शिवसेनाले बलिउडमा रहेको आफ्नो प्रभावको प्रयोग गरेर कंगनामाथि प्रतिक्रिया जनाउने बताउँछिन्। उनी भन्छिन्, ‘शिवसेनाले प्रतिक्रिया दिन्छ। तर, पहिलाको जस्तो प्रदर्शन वा ढुंगामुढाबाट नभएर फरक ढंगले दिन्छ।’

अब के हुनसक्छ? यस विषयमा निखिल वाग्ले कंगनालाई शिवसेनाले सहनैपर्ने बाध्यता भएको बताउँछन्। उनका अनुसार उद्धव ठाकरे मुख्यमन्त्री भएकाले कानुन व्यवस्थाको कुरा निस्किन्छ। उनी भन्छन्, ‘केन्द्रमा बिजेपी सरकार छ। गृहमन्त्री अमित शाह छन्। यो पार्टी, जुन महाराष्ट्रको सत्तामा छ, त्यो अमित शाहसँग डराउँछ।’

वाग्ले कंगना र शिव सेनाको मुद्दा लामो समयसम्म नरहने पनि बताउँछन्। उनी भन्छन्, ‘कुनै न कुनै बिन्दुमा यसको राजनीतिक समाधान निस्किन्छ।’

– बिबिसी हिन्दीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट