काठमाडौं- शनिबार साँझ काठमाडौंको सडकमा एक्कासि नेपाली सेनाको एभ्रो विमान गुडिरहेको देखियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिनामंगल हुँदै तिनकुने आइपुग्दा मानिसहरु अच्चमित भएका थिए।
प्लेन किन गुडाइएको, कहाँ लग्न लागिएको भन्ने कुराबाट सबै अनविज्ञ थिए। उक्त प्लेनलाई नेपाली सेनाले गाडीको मद्धतबट गुडाइरहेको थियो। तिनकुनेबाट बानेश्वतिर मोड्नलाई सेनाले दुःखसमेत भोग्नुपर्यो। त्यतिमात्र होइन, हरेक मोडमा प्लेन मोडाउन नेपाली सेनालाई हम्मे हम्मे भइरहेको थियो। मानिसहरु भने अड्कलबाजीमै व्यस्त थिए।
नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले उक्त प्लेन नारायणहिटी दरबारमा अवस्थित संग्राहलयमा लग्न लागिएको बताए। बेलायतमा बनेको उक्त प्लेन नारायणहिटी संग्राहलयमा दिने सरकारको निर्णयलाई पालना गरेको उनले बताए।
वि.सं. २०३१ मा नेपाल ल्याइएको उक्त विमान राजा वीरेन्द्रले आफ्ना भ्रमणहरुमा प्रयोग गर्ने गरेका थिए।
यता नारायणहिटी दरवार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषराज दाहालका अनुसार नेपाली सेनाले उक्त प्लेन संग्रहालयलाई प्रदान गरेको हो। सरकारले गत वर्ष नै उक्त प्लेन संग्रहालयलाई दिइने निर्णय गरेको दाहालले बताए।
‘सरकारको निर्णयअनुसार नै नेपाली सेनाले उक्त जहाज आज संग्रहालयमा पुर्याउन लागेको हो। प्रदर्शनीका लागि भोलिदेखि नै जहाजमा जोडजाडको काम हुनेछ,’ दाहालले सूत्रन्युजसँग भने।
बाटामा अप्ठ्यारो हुने भन्दै सेनाले प्लेनको दुबै पखेटा झिकेको छ। संग्रहालयमा पुर्याइएपछि उक्त पखेडा जोडिने र आवश्यक तयारी गरी सर्वसाधारणका लागि प्रदर्शनीमा राखिने दाहालले बताए।