काठमाडौं- सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा गए राति खसेको पहिरोले कम्तीमा आठ घर र भीरखर्कमा कम्तीमा १० घर पुरिएको छ।
स्थानीय शिक्षक बजीर भण्डारीका अनुसार नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता छन्। भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी लिन कठिन रहेको स्थानीयवासीको भनाइ छ।
त्यस्तै जुगल गाउँपालिका–५ चनौटेमा पहिरो जाँदा केही घरहरु पुरिएको छ। त्यहाँ मानवीय क्षति नभएको बताइएको छ। घटना थाहा हुनेबित्तिकै प्रहरी घटनास्थलतर्फ लागेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।
सभामुख अग्निप्रसाद सापकोटा स्थलमार्गबाट घटनास्थलमा जान लागेको सभामुखका सञ्चारविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए। सिन्धुपाल्चोक सभामुख सापकोटाको गृह जिल्ला हो।