जाजरकोट– जाजरकोट–डोल्पा सडकखण्डको निरीक्षण गरिएको छ। सरकारी कामलाई बाधा नपुग्ने गरी शनिबारको बिदालाई सदुपयोग गर्दै जाजरकोट–डोल्पा सडकखण्डको निरीक्षण गरिएको हो।
वर्षायाममा भत्किएको सडकको क्षति र पुनःनिर्माण गर्नुपर्ने स्थानका साथै यात्रुहरुले भोग्नुपरेको पीडाका बारेमा समेत प्रमुख जिल्ला अधिकारी चेतराज बरालको नेतृत्वको टोलीले स्थलगत निरीक्षण गरेको हो।
सडकखण्डभित्र निर्माण हुने सातवटा पुल निर्माणस्थलको समेत निरीक्षण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र रेग्मीले जानकारी दिए। त्यस्तै पासागाडबाट चिसापानीसम्म पहिलो चरणमा कालोपत्र हुन लागेको सडकको अवस्थासमेत निरीक्षण गरिएको थियो ।
गाउँगाउँमा टेलिफोनको पहुँचको अवस्थाका बारेमा समेत स्थानीयवासीसँग छलफल गरिएको छ।
नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाको भू–भागलाई समेटेर निर्माण हुन लागेको नलगाड जलविद्युत् आयोजना ९४१७० निर्माणस्थलको अवस्थाबारे समेत जानकारी लिएको सहायक प्रजिअ रेग्मीले जानकारी दिए। उनले भूमिगत विद्युत् उत्पादनगृहमा सुरुङ निर्माणको कामको पनि निरीक्षण गरिएको बताए।
चार सय केभी प्रसारण लाइनको सबस्टेशन निर्माणस्थल नलगाड नगरपालिका–७ मा दानीपिपलको समेत अवलोकन गरिएको छ।
दैनिक यो सडकखण्डमा चल्ने यातायातका साधनबाट स्थानीयवासीमा परेको मर्काका विषयमा सूक्ष्म निरीक्षण गर्नुका साथै नलगाड नगरपालिका जनप्रतिनिधिसँग छलफलसमेत भएको छ।
नजिकिँदै गरेको दशैँ र तिहारजस्ता ठूला पर्वमा कोरोना, बजारमा हुने महँगी र म्याद सकिएको सामग्रीबाट जनसाधारणमा पर्ने प्रभावका विषयमा समेत अनुगमन गरिएको छ।
जाजरकोट भएर डोल्पा सामग्री तथा अन्य निर्माणको सामग्री जाने भएकाले सो कार्यलाई समेत कडाइका साथ अनुगमन गरिएको उनको भनाइ छ। यो प्रक्रियालाई अझै जोड दिइने उनको भनाइ छ।