मध्यपहाडी लोकमार्गमा यात्रा गर्न सास्ती-Sutra News

मध्यपहाडी लोकमार्गमा यात्रा गर्न सास्ती

आइतबार, २८ भाद्र २०७७

आइतबार, २८ भाद्र २०७७

पर्वत- पर्वत सदरमुकाम कुश्माबाट गण्डकी प्रदेश राजधानी पोखरासम्मको दूरी ६७ किलोमिटर छ। यसअघि ठाउँ–ठाउँमा सडक भत्किएका कारण कालोपत्र भए पनि ट्याक्सी हाँकेर पोखरा पुग्न बढीमा सवा घण्टा लाग्थ्यो तर अहिले सडक झनै बिग्रिएको छ। सवारी साधन चढेर कुश्माबाट पोखरासम्म पुग्न साढे दुई घण्टासम्म लाग्ने गरेको छ।



सडकको अवस्था सन्तोषजनक हुँदा पोखराबाट कुश्मा आइपुग्न दुई घण्टा लाग्ने मालवाहक ट्रकलाई अहिले चार घण्टासम्म लाग्ने गरेको छ। विभिन्न ठाउँमा सवारी साधन फस्ने समस्याले घण्टौँसम्म जाममा बस्नुपर्ने अवस्था रहेको चालकहरू बताउँछन्। कालोपत्र गर्नका लागि तयारी अवस्थामा राखिएको सडक बर्खेझरीले बिग्रिएको छ। पानी जमेको सडकमा लगातार सवारी साधन चलाइएपछि अहिले ठूला-ठूला खाडल बनेका छन्।

जताततै खाडल परेका कारण कार र ट्याक्सीजस्ता होचा खालका र दुईपाङ्ग्रे सवारी साधनमा क्षति पुग्ने गरेको ट्याक्सी चालक दुर्गा बस्याल बताउँछन्। ‘यो बाटो बनाउन लागेदेखि अहिलेसम्म तीनपटक मेरो ट्याक्सीको च्यासिस नै गयो। सडकमा खाल्डा र ढुङ्गा छन्। त्यहीँ पानी भरिएको छ’, उनले भने, ‘खाल्डा, डाँडा र ढुङ्गा नभएको ठाउँ नै छैन। जति जोगाएर चलाए पनि तल छोइहाल्छ।’

तत्कालै सडक कालोपत्र नगरिए पनि सडकमा भएका खाडलहरू मात्रै पुरिदिए सवारी सञ्चालनमा सजिलो हुने बस्यालको भनाइ छ। खाद्यान्न सामग्री ओसार्ने ट्रकका चालक जीवन थापामगरले मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको फेदीखोला आसपासका ठाउँमा सडकको हिलो र खाडलका कारण सवारी फस्दा घण्टौँसम्म बस्नुपरेको र एकपटक गाडीमा नै सुत्नुपरेको बताए।

‘साना सवारी साधन त सराङकोटको बाटो भएर पनि पोखरा आउजाउ गर्छन्, ठूला ट्रकहरू त्यताबाट लैजान पाइँदैन। नाउडाँडाबाट फेदी हुँदै जानुपर्छ’, उनले भने, ‘एकपटक पोखराबाट गुडेको ट्रक फसेको रहेछ। निकाल्न सकिएन, त्यहीँ जङ्गलमा गाडीभित्रै सुतेर रात कटाइयो।’ कोरोना संक्रमणको यो अवस्था आउनुभन्दा पहिले सडकको काम धमाधम भए पनि लकडाउनयता मजदुरलाई सबैभन्दा बढी समस्या परेको छ।

निर्माण सामग्री बोकेका सवारीहरू लकडाउनकै अवधिमा पनि सञ्चालनमा रहेका भए पनि कामदारहरू ल्याउन र पठाउन कठिनाइ परेको छ। काम रोकिएको र यही बेलामा वर्षा धेरै भएकाले पनि कालोपत्र गर्ने तयारीमा पुग्न लागेको सडक बिग्रिएको लोकमार्गअन्तर्गत पर्वतमा काम गरिरहेको लामा कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर गोविन्द भुसालको भनाइ छ।

यही अवस्था कहिलेसम्म रहन्छ भन्ने यकिन नभएकाले अब जिल्ला प्रशासन कार्यालयसँग सहकार्य गरेर काठमाडौँबाट सुपरभाइजर र मेकानिकल टिम बोलाउने तयारी भइरहेको उनले जानकारी दिए। साथै करिब २० मजदुर पनि ल्याउन लागिएको उनको भनाइ छ।

‘सुपरभाइजर, मेकानिकल टिम र २० मजदुर काठमाडौँबाट हिँड्ने तयारीमा छन् तर पहिले उहाँहरूको पिसीआर रिपोर्ट चाहियो, त्यही पर्खिएका छौँ’, भुसालले भने, ‘अब एक हप्तामा नै काम शुरु हुन्छ होला, तर सडकका खाल्डा पुर्न र सडकको स्तरोन्नति गर्न नै २० दिन जति समय लाग्ने देखिन्छ।’ निर्माण कम्पनीले असोजको १०–१२ गतेतिरबाट कालोपत्र गर्न थाल्ने र असोज महिनाभित्र सो काम सकेर कात्तिकबाट कालोपत्रबाहेकका बाँकी रहेका काम गर्ने उनले जानकारी दिए।

तापक्रम बढी भएको बेला असोजभित्रै कालोपत्रको काम सक्ने तयारी थालिएको छ। असार मसान्तअघि नै कालोपत्रको काम सक्ने लक्ष्य राखेर निर्माण कम्पनीले काम थाले पनि कोरोना कहरका कारण त्यो लक्ष्य टरेको छ।

लोकमार्गको पर्वतखण्डअन्तर्गत रहेको करिब २४ किलोमिटर सडकलाई दुई लेनको बनाउने गरी निर्माण थालिएको छ। पर्वत सदरमुकाम कुश्मा बजार हुँदै बागलुङ जाने उक्त सडकको कुश्मा खण्डलाई चार लेन फराकिलो बनाउन लागिएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट