उपत्यकामा म्याद गुज्रिएका खाद्यवस्तु छ्यापछ्याप्ती-Sutra News

उपत्यकामा म्याद गुज्रिएका खाद्यवस्तु छ्यापछ्याप्ती

आइतबार, २८ भाद्र २०७७

आइतबार, २८ भाद्र २०७७

काठमाडौं– काठमाडौं उपत्यकामा म्याद गुज्रिएका खाद्यवस्तु छ्यापछ्याप्ती पाइएको छ।  



काठमाडौंका अधिकांश खाद्य स्टोरमा म्याद गुज्रेका वा अन्य कारण बिग्रेर फिर्ता गर्नुपर्ने सामान पाइएको हो। काठमाडौं महानगरपालिका महानगरको उपभोक्ता हित संरक्षण समितिले गरिरहेको नियमित अनुगमनका क्रममा अखाद्य सामग्री भेटिएका हुन्।

दाल, गेडागुडी, काजु, किसमिस, छोकडालगायतका मसला प्याकिङ गरेको मिति लेखिएको छैन। र, ती वस्तु कहिलेसम्म उपभोग गरिसक्नु पर्ने हो त्यो पनि खुलाइएको छैन।

चिउरा, म्याक्रोनी, पास्ताजस्ता सामाग्री बोराबाट निकालेर आफैं प्याकेट बनाउने तर उपभोग गर्न हुने मिति उल्लेख नगर्ने जस्ता समस्या देखिएको उपभोक्त हित संरक्षण समितिले जनाएको छ।

समितिले हिजो शनिबार र आज आइतबार बिहान चावहिल क्षेत्रका होलसेल र खुद्रा खाद्यान्न पसलको अनुगमन गरेको थियो।

अनुगमन समितिका अनुसार चावहिल चोककै छेउमा एउटै पसलमा दुईटा बोर्ड छन्। मजिन स्टोर र सावरिया होलसेल मार्ट। एउटा सटमा बाहिरबाट हेर्दा सानो किराना पसल जस्तै देखिन्छ। यसका सञ्चालकले छेवैका दुईवटा घरमा दुई वटा फ्लाट लिएर सामान भण्डारण गरेका छन्। भण्डारमा म्याद गुज्रिएका सामान र म्याद भएका सामान एकै ठाउँमा छन्। भण्डारण गरिएका कोठामा प्रकाश छिर्दैन। भित्र अँध्यारो छ। पुतली उडिरहेका छन्। ढोका खोलेर भित्र छिर्दा केही गनाएको महसुस हुन्छ। गोदाम प्रमाणित गरेको छैन।

समितिले पसलमा मूल्य सूची नभएको, खानेकुरासँगै झिँगा, मच्छड र साङ्ला मार्ने विषादी पनि बेच्न राखिएको अनुगमनका क्रममा फेला पारेको छ।

त्यसैगरी जयबागेश्वरी स्टोरलगायतका स्टोरमा खाद्य सुरक्षाका दृष्टिले भण्डारण असुरक्षित रहेको छ। वडामा दर्ता गर्न नजानु, नापतौल अद्यावधिक नगर्नु पसलका अरु समस्या भएको समितिको भनाइ छ।

अनुगमन समितिले खरिद बिक्री बिल, दर्ता र नविकरण प्रमाणपत्र, गोदाम प्रमाणिकरणको प्रमाणपत्र, व्यवसाय र बहाललगायत करचुक्ता प्रमाणपत्र जस्ता आवश्यक कागजातसहित ३ दिनभित्र महानगरको कृषि विभागमा सम्पर्क राख्ने गरी निर्देशन दिएको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट