देशभर बाढी–पहिरो : कतै बस्ती बगायो, कतै सडक भासिए-Sutra News

देशभर बाढी–पहिरो : कतै बस्ती बगायो, कतै सडक भासिए

आइतबार, २८ भाद्र २०७७

आइतबार, २८ भाद्र २०७७

काठमाडौं– देशका विभिन्न ठाउँमा शनिबार राती र आइतबार बिहानसम्म भएको अविरल वर्षाका कारण कतै पहिरोले बस्ती बगाएको भने कस्तै सडक भासिएका छन्। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशभर सामान्य बदली रहने, केही प्रदेशमा वर्षाको सम्भावना छ।



चिन्धुपाल्चोकको घुम्थाङमा पहिरो

आइतबार बिहान सिन्धुपाल्चोकको बाह्रबिसे–७ घुम्थाङमा पहिरो जाँदा अहिलेसम्म पुरिएका ५ जनाको शव भेटिएको छ। नागपुजेकी ७० वर्षीया भक्तिमाया श्रेष्ठ तथा विक गाउँका २४ वर्षीया जुनुमाया विक र ४० वर्षीय सर्किनी प्रधानको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए। दुई जनाको सनाखत हुन बाँकी छ।

पहिरामा पुरिएर ३१ जना बेपत्ता भएका छन्। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्थानीय युवा उद्धारमा खटिएका छन्। पहिरामा परी घाइते भएका तीन जनालाई प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा ल्याइएको छ।

यसैबीच सभामुख अग्निप्रसाद सापकोटा घुम्थाङको पहिरो अवलोकन गर्न घटनास्थल पुगेका छन्। सापकोटा सिन्धुपाल्चोकका जनप्रतिनिधि समेत हुन्।

पोखरा-बागलुङ सडक अवरुद्ध

अविरल वर्षाका कारण पर्वतको कुश्मा नगरपालिका–२ स्थित सहस्रधारामा पहिरो खस्दा पोखरा–बागलुङ सडक अवरुद्ध बनेको छ। सडक माथिबाट पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध बनेको हो। सडक अवरुद्ध भएपछि छिमेकी जिल्ला बागलुङ, म्याग्दी र मुस्ताङबाट आएका सवारी साधन नागढुंगामा अलपत्र बनेका छन् भने अन्यत्रबाट उक्त जिल्लाका लागि आएका सवारी साधन नयाँपुलमा अलपत्र बनेका छन्।

सडक पन्छाएर खुलाउने प्रयास भइरहेको प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिए। ठूलो मात्रामा ढुंगा र लेदो बगेर आएका कारण सडक खुलाउन केही समय लाग्ने उनले जानकारी दिए।

बागलुङको बिनामारेमा पहिरो

अविरल वर्षासँगै आइतबार बिहान आएको पहिरोमा परी बागलुङको जैमिनी नगरपालिका–५, बिनामारेमा बेपत्ता भएकी ७० वर्षीया जालपादेवी पौडेलको शव भेटिएको छ। यसअघि पहिरामा परी वडा नं १ कुश्मिशेराको टुनिबोटकी ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको थियोे। मृतक दुवै वृद्धाको शवपरीक्षणको तयारी भइरहेको छ।

पहिरामा टुनिबोटका ७० वर्षीय मणिभद्र पाध्याको घाइते अवस्थामा उद्धार गरिएको छ। उनकी छोरी देवी शर्मा सामान्य घाइते भएकी छन्। उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र कुश्मिशेरामा उपचार भइरहेको प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए। बागलुङ–कुश्मिशेरा सडक निर्माणका क्रममा लगाइएको तारजालीसहितको पहिराले टुनिबोटका तीन घरमा क्षति पुर्याएको स्थानीयवासी केदार पौडेलले जानकारी दिए। पहिराले सो नगरपालिकामा चार घर पुरेको छ। दुई घर विस्थापित भएको नगर उप–प्रमुख लीला रानाले बताए।

टुनिबोटमा केही पशुचौपायासमेत मरेका छन्। पहिराले तीनवटा गोठमा समेत क्षति पुर्याएको छ। वर्षा नरोरिएकाले उद्धारमा कठिनाइ भइरहेको पौडेलले बताए। पहिराको थप विवरण आउन बाँकी छ।

त्यस्तै जैमिनी–५ बिनामारेको सिम्लेमा पहिराले एक घर नीलकण्ठ पौडेलको परिवारका अन्य ६ जना घाइते भएका छन्। बाँसको झ्याङले अँठ्याएको अवस्थामा परिवारका अन्य ६ जनाको उद्धार गरिएको वडाध्यक्ष गोपाल पौडेलले जानकारी दिए। घाइतेहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र कुश्मिशेरामा उपचारका लागि पठाइएको छ। जैमिनीको दुवै वडामा गएको पहिराको मुख्य कारण सडक निर्माणका क्रममा बनाइएका संरचना भएको स्थानीयवासीले बताएका छन्।

डोटीमा सडक भत्किँदा सरकारी कार्यालय जान समस्या

जिल्ला सदरमुकाम सिलगढीमा रहका सरकारी कार्यालयमा आवतजावत गर्न यातायातका साधन तथा सेवाग्राहीलाई समस्या भएको छ। यहाँको सरकारी कार्यालयमा जाने एक मात्र सडक पहिराले भत्किएपछि सेवाग्राहीसहित कर्मचारीलाई कार्यालयमा जान निकै समस्या हुँदै आएको हो ।

जिल्ला प्रहरी कार्यालयको गेटबाट जिल्ला प्रशासन हुँदै टुँडिखेल भएर तल्लो बजार र शैलेश्वरी मन्दिर हुँदै मल्लो बजार जोड्ने सडक कृषि विकास बैंक नजिक भत्किँदा आवतजावतमा समस्या भएको सिलगढीका स्थानीय रोशन नेपालीले बताए। उनले भने, ‘सरकारी कार्यालयमा जाने मुख्य सडक नै पहिराले भत्किएको छ, जसले गर्दा मानिस तथा यातयातका साधनलाई आवतजावत गर्न निकै समस्या भएको छ।’

डोटीको सिलगढीदेखि अछामको साँफेबगर जोड्ने पहलमानसिंह स्वाँर राजमार्गबाट जिल्ला सदरमुकाम सिलगढीको मुख्य बजारक्षेत्र र अधिकांश सरकारी कार्यालय जोड्ने मुख्य सडकको पर्खाल भत्किँदा यहाँका सरकारी कार्यालयमा जाने सडक पूर्णरूपमा अवरुद्ध भएको हो।

पहिरोले भत्किएको सडक मर्मत गरी तत्काल यातायात सञ्चालनका लागि पहल भइरहेको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए।

दाङमा सडक भासियो

त्यस्तै दाङको लमही–घोराही सडकखण्डअन्तर्गत लमही नगरपालिका वडा नं ६ कुलमोहरदेखि दुई किलोमिटर अगाडि भासिएको सडक । सडक भासिएपछि एकतर्फी रुपमा मात्र सवारी साधन सञ्चालन गरिएको छ।

सिन्धुकोट पनि पहिराको जोखिममा

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–५ सिन्धुकोट गोल्पुटोलमा गए रातिको अविरल वर्षापछि आएको पहिरोका कारण त्यहाँको वस्ती जोखिमा परेको छ। नौ घर रहेको सो बस्तीमा चारैतिर पहिरो आउन थालेको छ।

राससको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट