काठमाडौं- गएरातिको अविरल वर्षाका कारण मेलम्ची नगरपालिका–५स्थित विभिन्न वस्तीहरुमा पहिरोको जोखिम देखिएको छ। अविरल वर्षाका कारण वडा नम्बर ५ स्थित सिन्धुकोट-गोल्पुटोल, भट्टराई टोल, लामा टोल, सुलिकोट झ्याङ, तारेभिर र गोरखालुङका विभिन्न वस्तीहरु पहिरोको जोखिममा परेको वडाध्यक्ष सुदर्शन लुइँटेलले बताए।
लुईटेलका अनुसार सिन्धुकोट गोल्पुटोलका ९ घर पहिरोको जोखिममा रहेका छन्। त्यस्तै, भट्टराई टोल र लामा टोलमा ६ घर, सुलिकोट झ्याङ्गमा २ घर, तारेभिरमा ६ घर र गारखालुङ्ग २ घर जोखिममा रहेका छन्। ‘गोल्पुटोल र तारेभिरमा पहिरोको जोखिम धेरै देखिएको छ,’ लुइँटेलले सूत्रन्यूजसँग भने, ‘सुलिकोट झ्याङ्गमा पनि माथिको पहाड खस्न सक्ने देखिएको छ।’
हिउँदमा खनिएका बाटोका कारण गए राती परेको पानीमा माटो मिसिएकाले भल अनियन्त्रित हुँदा पहिरोको जोखिम देखिएको लुइँटेलले बताए। उनका अनुसार अविरल वर्षका कारण माटो मिसिएको भलको बहाब अत्याधिक भएकाले यो जोखिम भएको हो। लुईटेलले भने, वर्षाका कारण आएको भलले पहिरोको जोखिम देखिएको हुँदा यसलाई नियन्त्रण गरेमा जोखिम कम हुन्छ।’
लुईटेलका अनुसार गोल्पुटोल र तारेभिरमा रहेका घरहरु अति जोखिममा भएकाले ती ठाउँका मानिसहरुलाई स्थानान्तरण गरेर सुरक्षित स्थानमा लैजानुपर्ने देखिएको छ। तर, तत्काललाई यी ठाउँमा रहेका घरहरु स्थानान्तरण गर्ने बारेमा कुनै कार्य भइरहेको छैन्।
लुइँटेलले भने, ‘अहिले आएको भललाई नियन्त्रण गरेर जोखिम कम गर्ने काम भइरहेको छ। अत्यन्त जोखिममा रहेका गोल्पुटोल र तारेभिरका घरहरुलाई स्थानान्तरण गर्ने बारेमा नगरपालिकामा हामीले पत्रचार गरेका छौं।’