काठमाडौं- ठमेलको भोटेबहालमा चार जनाको परिवार लिएर बसेका छन् विजय भुजेल। नेपाल सरकारले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि गत चैतमा जारी गरेको लकडाउनताका घरभित्रै थिए। विगत ३० वर्षदेखि फुटपाथमा व्यापार गरिरहेका भुजेलको व्यापार यो अवधिमा ठप्प भयो। जसोतसो ऋणपान गरेर जीविका चलाइरहे।
चैतबाट भएको लकडाउन साउनमा हटाइयो। साउन ६ गतेबाट लकडाउन हटेपछि विजयले फेरि आफ्नो पेसाको लय समाते। सामान बोकेर सडकमा निस्किए। तर, फेरि ३ भदौमा निषेधाज्ञा जारी भयो। विजय फेरि घरभित्रै रहे।
उपत्यकामा दोस्रोपटक जारी गरिएको लकडाउन २५ भदौमा खुल्यो। काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी गरिएको निषेधाज्ञा हटाइयो। उपत्यकाका तीन जिल्ला प्रमुखहरुको बैठकले व्यापारको किसिम हेरेर बार र समय छुट्याइयो। उपत्यकाका फुटपाथ र ठेला ब्यापारका लागि पनि समय तोकियो। २४ भदौको निर्णयअनुसार बिहान ११ बजेसम्म र साँझ ४ देखि ७ बजेसम्म फुटपाथ तथा ठेला व्यापार सञ्चालन गर्ने निर्णय भएको थियो।
तर, २६ भदौमा काठमाडौं महानगरपाकिलाले फुटपाथ पसल तथा ठेला पसलबाट कोरोना संक्रमण समुदायतहमा फैलिने जोखिम हुन्छ भन्दै फुटपाथ तथा ठेला व्यापारलाई प्रतिबन्ध गर्ने माग गर्यो। काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई पत्र लेख्दै फुटपाथ तथा ठेला व्यापारमा पूर्ण प्रतिबन्ध लगाउन आग्रह गरेकी थिइन्।
विजयले महानगरले गरेको मागबारे समाचार पढेका थिए। उपत्यकामा अहिले भएको निर्णय त उनलाई चित्त बुझेको छ। तर, फेरि प्रतिबन्ध लाउनुपर्छ भन्ने कुरा सुनेपछि विजय अब सरकारले विकल्प खोजेरमात्रै आफूहरुको व्यापार बन्द गर्नुपर्ने बताउँछन्।
‘आफैँले व्यापार गरेर खान खोज्दा आफैँले व्यवापार गरेर खान खोज्दा पनि फुटपाथबाट कोरोना फैलिन्छ भनेर हटाउन खोजेर हुन्छ?,’ लक्ष्मी भन्छिन्, ‘हामी काम गरेर खाएका हौं। कि उनीहरुले भरपेट खान दिनुपर्यो।’
विजय भन्छन्, ‘ फुटपाथमात्रै होइन्, जहाँसुकैबाट पनि संक्रमण फैलिन सक्छ। तर, हामीले आफू सुरक्षित भएर काम गरिरहेका छौं। अब पनि घरभित्रै बस, काम नगर भन्यो भने हामी के गर्ने?’
विजय रत्नपार्कस्थित महानगरीय प्रहरी परिसरअघिको पुलमा आफ्नो सामान (झोलाहरु) फिजाँएर बसेका थिएँ। उपत्यकामा जारी गरिएको नियमअनुसार बिहान ११ बजेसम्म र साँझ ४ देखि ७ बजेसम्म आफूले सामान बेच्न निस्किने गरेको उनले बताए। उनले भने, ‘अहिलेकै जसरी काम गर्न पाउँदा पनि भयो। तर, घरभित्र थुन्ने हो भने विकल्प दिनुपर्छ।’
विजयको आफ्नै आक्रोश छ। सरकारले गत चैतमा नेपालमा केही संक्रमित देखिँदा लकडाउन गरेर नियन्त्रण गर्न नसकेको कोरोना संक्रमणलाई अब कसरी नियन्त्रण गर्नसक्छ भनेर उनी प्रश्न गर्छन्। उनी भन्छन्, ‘संक्रमण रोक्न घरभित्र थुन्नुपर्छ भनिरहन्छ। घरभित्र बस्दा पनि संक्रमण बढी नै रहेको थियो त? संक्रमण नियन्त्रणमा आएन।’
बिहान र साँझ निश्चित समयमात्रै व्यपार गर्न पाएमा पनि कमाएर खान पुग्ने उनी बताउँछन्। तर, फेरि आफ्नो व्यापारलाई बन्द गर भन्ने हो भने विकल्प पनि केही दिनुपर्ने उनी बताउँछन्। तर, विकल्प पाउँलान त उनले? उनी आफैँ भन्छन्, ‘३० वर्षदेखि यसरी नै बाटोमै व्यापार गरेर गुजारा चलाइरहेको छु। अरु बेला त सरकारले व्यवस्था गरेन्, अहिले झन् के गर्थ्यो?’
ठमेलमा कहिले चिया बेचेर त कहिले नाङ्लोमा पसल राखेर दैनिकी चलाउने सन्देश सरकारले पनि सधैं फुटपाथकै मान्छेलाई मात्रै देख्ने बताउँछन्। सन्देश ‘फुटपाथबाट कोरोना सर्छ’ भन्नेहरुलाई लक्ष्ति गर्दै भन्छन्, ‘ठूल्ठूला रेष्टुरेन्ट र होटल खुलेका छन्, त्यहाँबाट कोरोना सर्दैन् रे। तर, हामीले फुटपाथमा राख्दाचाहिँ कोरोना सर्छ रे।’
दिनभर सामान राख्दा अहिले व्यापार पनि त्यत्ति नहुने उनले बताए। लकडाउन हुनुअघि दैनिक हुने व्यापारले सहजरुपमा गुजारा भइरहेको थियो। तर, अहिले अवस्था प्रतिकूल भएको सन्देश बताउँछन्।
‘दिनभर सामान राख्यो, व्यापार पनि हुँदैन,’ उनी भन्छन्, ‘सरकारले सधैं पुटपाथकै मान्छेलाई मात्रै देख्छ। हामीले काम गर्दा कोरोना सर्छ भन्छ। तर, ठूला रेष्टुरेन्ट र होटललाई देख्दैन।’
काठमाडौं महानगरपालिकाले फुटपाथ पसलको सञ्चालनमा प्रतिबन्ध लगाउनुपर्ने मागबारे सुन्धाराको काठमाडौं मलअघि चिया बेचिरहेकी लक्ष्मी धिमालले कतै गफगाफबाट सुनेकी छन्।
पटकपटकको लकडाउन र निषेधाज्ञा हटाएपछि फेरि काम सुरु गरेकी छन् उनले। तर, अब पनि प्रतिबन्ध लाग्यो र काम गर्न पाइएन भने सरकारले नै खाने व्यवस्था गरिदिनुपर्ने उनी बताउँछिन्। लक्ष्मी भन्छिन्, ‘उनीहरुले आएर हामीलाई खान दिने हो भने हामी बाटोमा व्यापार गर्दैनौं। नदिने भए हामी के खाएर बस्ने? फेरि बन्द गर्ने हो भने हामीलई खान दिनुपर्यो।’
बसन्तपुरमा आफ्नो छोरासँग बस्ने लक्ष्मीले लकडाउन समय जसोतसो दैनिकी गुजारिन्। राहतका लागि फारम भर्दा ‘फुटपाथमा व्यापार गर्नेले पाउँदैनौं’ भन्ने जवाफ पाएको उनी बताउँछिन्।
‘चैतमा लकडाउनको बेला राहतको लागि फारम भरेँ,’ उनी भन्छिन्, ‘सुरुमा फुटपाथकाले नपाउने भन्दै दिएनन्। पछि उनीहरुसँग किन नपाउने? कारण लेखेर दिनुहोस् भन्दा मात्रै मलाई राहत दिएका थिए।’
चैतबाट सुरु भएको लकडाउन नखुल्दासम्म जसोतसो जीवन धानेको लक्ष्मीको लागि अहिलेको अवस्था त्यस्तो छैन। प्रतिकूल भइसकेको छ सबैकुरा। फेरि पनि आफ्नो व्यापारलाई बन्द गरिदिएमा भोकभोकै हुने उनी बताउँछिन्।
‘आफैँले व्यापार गरेर खान खोज्दा आफैँले व्यवापार गरेर खान खोज्दा पनि फुटपाथबाट कोरोना फैलिन्छ भनेर हटाउन खोजेर हुन्छ?,’ लक्ष्मी भन्छिन्, ‘हामी काम गरेर खाएका हौं। कि उनीहरुले भरपेट खान दिनुपर्यो।’
सरकारले आफ्ना लालाबाला पाल्दिन्छन् र भन्दै उनी भन्छिन्, ‘हामी कसरी खानु? खान नपाएपछि मर्दैनौं?’