‘रातो मच्छिन्द्रनाथलाई बुङ्‍मती भित्र्याउन दिइएको दोस्रो साइत पनि गलत’-Sutra News

‘रातो मच्छिन्द्रनाथलाई बुङ्‍मती भित्र्याउन दिइएको दोस्रो साइत पनि गलत’

आइतबार, २८ भाद्र २०७७

आइतबार, २८ भाद्र २०७७

काठमाडौं- कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष ढिला गरी तानिएको रातो मच्छिन्द्रनाथलाई बुङ्मती भित्र्याउन दिइएको दोस्रो साइत पनि नमिलेको भन्दै ज्योतिषीले आपत्ति जनाएका छन्।



वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई बुङ्मती भित्र्याउने साइत भदौ २६ गते शुक्रबार दिइएकामा ज्योतिषीले नमिलेको भनी प्रतिक्रिया दिएपछि भदौ २९ गतेको दोस्रो साइत सार्वजनिक गरिएको थियो। भदौ २९ गते सोमबार द्वादशी तिथि र तिष्य नक्षत्र छ। ज्येष्ठा नक्षत्रले तिष्य नक्षत्रलाई बेध गरेकाले यस्तो समयमा शुभकार्य गर्न नमिल्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) का सम्पादकको भनाइ छ।

भदौ २९ गते सोमबार दिउँसो १ः२४ सम्म तिष्य नक्षत्र छ। रातो मच्छिन्द्रनाथलाई बुङ्मती भित्र्याउन दिइएको साइत त्यसअघि नै पर्ने तोयनाथ पन्तको पात्रो (पञ्चाङ्ग) का सम्पादक सूर्यनाथ पन्तले राससलाई जानकारी दिए।

साइत हेर्दा तिथि र नक्षत्रको शुद्धाशुद्धिमा ध्यान दिइनुपर्नेमा भदौ २१ गते आइतबार चतुर्थी तिथिका दिनको साइत रथ तान्नका लागि भनी दिइनु पनि गलत भएको उनले बताए। भदौ २१ गते आइतबार नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख भएअनुसार रिक्ता समूहमा पर्ने चौँथी तिथि परेको थियो।

यसैगरी अश्विनी नक्षत्र पनि परेकाले पनि शुभ कामका लागि साइत दिन नहुने उनको भनाइ छ। रिक्ता तिथि र अश्विनी नक्षत्रलाई सूर्यले बेध गरेकाले पनि यस्तो साइत दिनु ठीक नभएको ज्योतिषीको भनाइ छ।

ज्योतिषविद् एवं वास्तुशास्त्री शिव पोखरेल इन्द्रजात्राको साइतका विषयमा ज्योतिष शास्त्रका बृहतसंहितालगायत ग्रन्थमा उल्लेख भए पनि रातो मच्छिन्द्रनाथको साइतका विषयमा उल्लेख भएको ग्रन्थ आफूले नभेटेको बताए।

रातो मच्छिन्द्रनाथकै विषयमा साइत निकाल्ने फरक तरिका उल्लेख भएको ग्रन्थ नभएपनि सामान्यरुपमा साइत दिनु नहुने समयकै साइत भदौ २१ गते आइतबार दिइएको पाइएको उनले जानकारी दिए। तिथिको हिसाबले भदौ २० गते शनिबार वा भदौ २२ गते सोमबारको साइत किन नदिएको होला भन्ने आफूलाई लागेको ज्योतिषी पोखरेल बताउँछन्। भदौ २६ गते मच्छिन्द्रनाथलाई बुङ्मती लैजाने साइत पनि गलत भएको ज्योतिष शास्त्रीहरुको भनाइपछि भदौ २९ गते सोमबारको साइत दिइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट