अक्सफोर्ड र अस्ट्राजेनिकाको खोप परीक्षण पुनः सुरु-Sutra News

अक्सफोर्ड र अस्ट्राजेनिकाको खोप परीक्षण पुनः सुरु

आइतबार, २८ भाद्र २०७७

आइतबार, २८ भाद्र २०७७

लन्डन- बेलायतको प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनिका फर्मास्युटिकल कम्पनीले तयार पारेको कोरोनाभाइरस विरुद्धको खोपको परीक्षण पुनः सुरु भएको छ। केही दिनअघि खोप लगाएका लन्डनका एक व्यक्तिमा स्वास्थ्य समस्या देखिएपछि अल्प अवधिका लागि खोप परीक्षण स्थगन गरिएको थियो।



खोप परीक्षणमा सहभागी एक व्यक्तिमा पहिचान नखुलेको एक प्रकारको स्वास्थ्य समस्या देखिएलगत्तै सम्पूर्ण परीक्षण कार्य स्थगन गर्नुपरेको कम्पनीले गत मंगलबार जनाएको थियो।

अक्सफोर्ड विश्वविद्यालयसँग मिलेर कोरोनाभाइरस विरुद्धको खोप निर्माण गरिरहेको अस्ट्राजेनिका  कम्पनी अहिले खोप विकासमा अग्रस्थानमा छ। हालः यस खोपको तेस्रो तथा अन्तिम चरणको क्लिनिकल परीक्षण भइरहेको छ। यस कम्पनीले कोरोनाको औषधिसमेत निर्माणको प्रयास जारी राखेको छ।

अक्सफोर्डले जारी गरेको पछिल्लो विज्ञप्तिमा बेलायतका सबै परीक्षण केन्द्रहरुबाट खोप दिन थालिएको उल्लेख छ। बेलायती नियामक निकायहरुले पनि खोप परीक्षण गर्न अनुमति दिइसकेको अक्सफोर्डले जनाएको छ।

अस्ट्राजेनिकाका एक प्रवक्ताले खोप परीक्षणमा सहभागी व्यक्तिमा देखिएको स्वास्थ्य समस्याका बारेमा अध्ययन गर्न एक स्वतन्त्र समितिले काम गरिरहेको जानकारी दिएका थिए।

ठूलो संख्यामा परीक्षण कार्य भइरहेकाले एकाध व्यक्तिमा समस्या देखिनु स्वाभाविक रहेको बताउँदै कम्पनीले तर त्यस्तो समस्याको निराकरणका उपाय पहिल्याउन जरुरी हुने जनाएको छ। कम्पनीले ती व्यक्तिको पहिचान खुलाएको छैन।

अक्सफोर्डका अनुसार स्वतन्त्र समीक्षा टोली र नियामक निकाय दुबैबाट स्वतन्त्र छानबिन पश्चात खोप परीक्षण पुनः सुरु गरिएको हो। संयुक्तराज्य अमेरिकामा अस्ट्राजेनिकाले ३० हजार व्यक्तिलाई परीक्षणमा सहभागी गराएको छ।

बेलायती स्वास्थ्य मन्त्री म्याट ह्यानककले खोप परीक्षण पुनः सुरु भएकामा त्यसलाई स्वागत गरेका छन्। उनले खोप परीक्षण पुनः थालनी भएको समाचार सबैका लागि खुसीको कुरा भएको बताए।

अक्सफोर्ड विश्वविद्यालयका अनुसार हालसम्म विश्वभर करिब १८ हजार व्यक्तिले खोप लगाइसकेका छन्। बेलायत, ब्राजिल, दक्षिण अफ्रिका र अमेरिका समेतका सर्वाधिक असर परेका मुलुकमा खोप परीक्षण कार्य भइरहेको छ।

ब्राजिलको स्वास्थ्य नियामक निकाय एन्भिसाले अक्सफोर्ड खोप ब्राजिलमा पुनः सुरु गर्न अनुमति दिइसकेको जनाएको छ।

अस्ट्राजेनिका हालः विश्वमा तेस्रो तथा अन्तिम चरणको खोप परीक्षण गर्ने विभिन्न ९ कम्पनीमध्ये एक हो। हालः अक्सफोर्ड र अस्ट्राजेनिका बाहेक अमेरिकाको मोडर्ना र पिफाइजर तथा जर्मनीको बायोएनटेक तेस्रो चरणको खोप परीक्षणमा जुटेका छन्।

यस्तै रुसले स्पुतनिक भी बनाइसकेको दाबी गरेको छ भने चीनले समेत खोप परीक्षण तेस्रो चरणमा पुगेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट