सभामुखद्वारा पहिरो प्रभावित क्षेत्रको निरीक्षण-Sutra News

सभामुखद्वारा पहिरो प्रभावित क्षेत्रको निरीक्षण

आइतबार, २८ भाद्र २०७७

आइतबार, २८ भाद्र २०७७

सिन्धुपाल्चोक- सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका-७ स्थित नागपुजे, भीरखर्क र नेवार टोलमा गएरातिको भीषण पहिरोले ठूलो मानवीय एवम् भौतिक क्षति गराएको स्थलको आज निरीक्षण गरेका छन्।



उनले पहिरोले क्षति पुर्‍याएको स्थानको स्थलगतरुपमा जानकारी लिए। उनले स्थानीय पहिरो पीडित र प्रभावितसँग छलफल गरे। सभामुख सापकोटाले जिल्लामा पछिल्लो समय प्राकृतिक विपत्ति बढिरहेको उल्लेख गर्दै जोखिमयुक्त सूचीकृत नभएका बस्तीमा समेत पहिरो जानुले थप चिन्तित तुल्याएको बताए।

सभामुख सापकोटाले तत्काल उद्धार, राहत, अस्थायी स्थानान्तरणमा ध्यान दिइने जानकारी दिँदै स्थायी स्थानान्तरणका लागि सिन्धुपाल्चोकका भूगोलको विस्तृत भौगर्भिक अध्ययन गरिने बताए। उनले जिल्लामा परेको विपत्तिका विषयमा विज्ञसँग छलफल गरेर स्थानीयलाई सुरक्षितरुपमा बस्ने व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरे।

उनले पहिरो पीडित र प्रभावितको सुरक्षित बसोबासका लागि आफ्नातर्फबाट सबै पहल गर्ने बताए। सभामुख सापकोटाले आजै बाढी पहिरोले क्षतिग्रस्त अरनिको राजमार्गको बाह्रबीसेदेखि चीनसँगको सीमानाका लिपिङसम्मको स्थलगत अवलोकन गरे। सो अवसरमा उनले अरनिको राजमार्ग व्यवस्थित गर्ने र तातोपानी नाका सुचारु गर्ने विषयमा आफूले पहल गर्ने बताउनुभएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए।

यसैबीच सभामुख सापकोटाले भीरखर्क, नागपुजे र नेवारटोलका पहिरोमा परेर ज्यान गुमाएप्रति श्रद्धाञ्जली अर्पण गरे। उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पहिरोमा परि ज्यान गुमाएका शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे।

पहिरोमा परि घाइते भएका ६ जनाको उद्धार गरी उपचारका लागि पठाइएको छ। आज साँझसम्म ११ जनाको शव निकालिएको छ भने २० जना अझै बेपत्ता छन्। पहिरोका कारण भीरखर्कका चार, नाकपुजेका ११ र नेवार टोलका सात गरी २२ घर पूर्णरुपमा क्षति भएको छ। १७ घर जोखिममा छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट