संकटमा फसेको मालीमा संक्रमणकालीन सरकार गठन गर्न सहमति-Sutra News

संकटमा फसेको मालीमा संक्रमणकालीन सरकार गठन गर्न सहमति

सोमबार, २९ भाद्र २०७७

सोमबार, २९ भाद्र २०७७

बामाको– राजनीतिक संकटमा फसेको अफ्रिकी मुलुक मालीमा सैनिक नेताहरु, राज्यका उच्च पदाधिकारीहरु र नागरिक समाजबीच संक्रमणकालीन सरकार गठन गर्न सहमति भएको छ।



स्रोतका अनुसार यो संक्रमणकालीन सरकार १८ महिनाका लागि हुनेछ। यद्यपी यस सहमतिका बारेमा औपचारिक घोषणा गरिएको छैन।

गत महिना मालीका राष्ट्रपतिलाई सेनाले अपदस्थ गरेपछि अहिले त्यहाँ सैनिक शासन लागू छ। बहुपक्षीय वार्तामा सहभागीहरुका तर्फबाट प्रवक्ता तोकिएका मौसा कामराले मुलुकको राष्ट्रपति, उपराष्ट्रपति, संक्रमणकालीन सरकार र राष्ट्रिय कमिटी गठनका बारेमा सहमति भएको जनाकारी दिए।

वार्तामा सहभागीबीच मुलुकको आधारभूत कानुन र आगामी मार्गचित्रका बारेमा पनि सहमति जुटेको छ। सैनिक नेतृत्वको राष्ट्रिय कमिटीका प्रमुख समेत रहेका कर्णेल आस्सिमी गोइटाले प्रस्तावित योजनालाई अन्तर्राष्ट्रिय समुदायले पनि स्वीकार गर्ने विश्वास व्यक्त गरे।

गत अगष्ट १८ मा मालीका सेनाको एक समूहले राजधानी बामाको नजिकको सैनिक अखडाबाट विद्रोह गरेका थिए । उनीहरुले राजनीतिक सुधार र नयाँ चुनाव समेतका माग राखेका थिए।

विद्रोहका क्रममा सेनाले तत्कालीन राष्ट्रपति इब्राहिम बउबाकर केइटा र प्रधानमन्त्री बउबउ सिस्से समेतका उच्च राजनीतिक व्यक्तिहरुलाई गिरफ्तार गरेका थिए।

सेनाको नियन्त्रणमा परेलगत्तै केइटाले तत्कालै राजीनामाको घोषणा गरी संसद विघटनको घोषणा गर्नु भएको थियो। सेनाले पनि राष्ट्रिय कमिटी गठन गरी नयाँ चुनाव नहुँदासम्म संक्रमणकालीन सरकार गठन गर्ने भन्दै योजना घोषणा गरेको थियो। एएनआई

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट