राष्ट्र बैंकले ट्रेजरीमार्फत् १३ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने-Sutra News

राष्ट्र बैंकले ट्रेजरीमार्फत् १३ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने

सोमबार, २९ भाद्र २०७७

सोमबार, २९ भाद्र २०७७

काठमाडौं- नेपाल राष्ट्र बैंकले ट्रेजरी बिलमार्फत् १३ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ। मंगलबार (३० भदौ) जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार दिउँसो ३ बजे बोलकबोल हुन राष्ट्र बैंकल बताएको छ। 



राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको छ। यो ट्रेजरी २०७७ साल असोज २७ गते परिपक्व हुनेछ। यसैगरी, ९१ दिनका लागि ४ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको छ। यो ट्रेजरी २०७७ मंसिर ३० गते परिपक्वव हुनेछ।

त्यस्तै, १८२ दिनका लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागिएको छ। यो ट्रेजरी २०७७ चैत ३ गते परिपक्व हुनेछ। साथै, १ वर्षका लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी हुनेछ। यो २०७८ भदौ २९ गते परिपक्व हुनेछ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ।

भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ। व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ।

सबै वर्गका बैंक तथावित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन्। बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखीक्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट