राष्ट्रियसभा अध्यक्ष र पाकिस्तानका राजदूतबीच भेटवार्ता-Sutra News

राष्ट्रियसभा अध्यक्ष र पाकिस्तानका राजदूतबीच भेटवार्ता

सोमबार, २९ भाद्र २०७७

सोमबार, २९ भाद्र २०७७

काठमाडौं- राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि पाकिस्तानका राजदूत मजार जावेदले शिष्टाचार भेटवार्ता गरेका छन्।



आफ्नो कार्यकाल सकिएर स्वदेश फर्कनुअघि भएको अध्यक्ष तिमिल्सिनासँग भएको भेटमा दुईपक्षीय सम्बन्ध, सहकार्य र सहयोग बारे कुराकानी भएको थियो।

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा राजदूत जावेदलाई बधाई व्यक्त गर्दै आगामी दिनमा थप सफलताको कामना गरे।

नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि निकट र आत्मीय सम्बन्ध रहँदै आएको तिमिल्सिनाले बताए।

उनले दक्षिण एसियाली क्षेत्रीय संगठन, संयुक्त राष्ट्रसंघ, अन्तर–व्यवस्थापिका संघ लगायतका संस्थामा दुई देश एकैठाउँमा रहेकाले हाम्रो सम्बन्ध सौहार्दपूर्ण रहेको धारणा राखे।

अध्यक्ष तिमिल्सिनाले व्यापार, लगानी, पर्यटन, संस्कृति, जनस्तरको सम्बन्ध जस्ता धेरै क्षेत्रहरु दुई मुलुकले सहकार्य गर्नुपर्नेमा जोड दिए।

‘कोरोना भाइरसको महामारीको कारण संसारमा नयाँ चुनौती सिर्जना भएको छ। यसले हाम्रा दुई देशहरूलाई पनि असर गरेको छ,’ उनले भने, ‘पारस्परिक साथ र सहयोगले हामीलाई यस महामारीविरुद्ध लड्न मद्दत गर्छ।’

उनले क्षेत्रीय संगठन सार्कका सदस्य राष्ट्रले अहिलेको चुनौति सामना गर्न सहकार्य गर्न जरुरी रहेको बताए।

‘दक्षिण एशियाली जनताहरूको हित प्रबर्द्धनका लागि सार्कले आफ्ना गतिविधि अघि बढाउनुपर्छ,’अध्यक्ष तिमिल्सिनाले भने, ‘सार्कको अध्यक्षको हैसियतले नेपालले सार्क गतिविधि अघि बढाउनका लागि पहल गरिरहेको छ।’

अध्यक्ष तिमिल्सिनाले दुई देशको सम्बन्धलाई मजबुद बनाउन उच्चस्तरीय भ्रमणको आवश्यक रहेको धारणा राख्दै उनले पाकिस्तान सिनेटका अध्यक्ष मुहम्मद सादिक सन्जरानीलाई नेपाल भ्रमणका लागि निम्ता गरे।

‘दुई देशबीचको संसदीय अनुभवहरू आदान–प्रदान गर्न र आवश्यक सहकार्य गरेर अघि बढ्नु दुवै देशको हितमा हुन्छ,’ उनले भने, ‘संसदीय सहकार्यमा दुईपक्षीय तथा अन्तर्राष्ट्रिय फोरमा हामीले सहकार्य गर्नुपर्छ।’

भेटमा राजदूत जावेदले दुई देशको सम्बन्ध अत्यन्त सौहार्दपूर्ण रहेको बताउँदै नेपालमा रहँदा सरकार र जनस्तरसम्म नजिकबाट सहकार्य गर्नपाएकोमा खुसी व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट