चितवन– पहिरो खसेका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ। जिल्लाको इच्छाकामना गाउँपालिका वडानम्बर ६ स्थित चोरखोलामा राति १०:३० बजे पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो।
सोमबार दिउँसो गएको पहिरो पन्छाएर साँझ एकतर्फी सडक सञ्चालनमा ल्याइएपनि साँझ पुनः पहिरो खसेपछि दुइतर्फी नै सडक अवरुद्ध बनेको छ। पानी परिरहेकाले पहिरो पन्छाउने काम सुरु गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए।
सडकखण्डको भरतपुर महानरगपालिका वडा नम्बर १ भतेरीमा पनि सालको रुख ढलेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। नारायणगढ–मुग्लिन सडकखण्डमा यस वर्षमात्रै दर्जनौँपटक पहिरो गएर सडक अवरुद्ध भएको छ।