बीमा समितिको नयाँ मापदण्ड : १ लाखको बीमा गर्नेले २५ प्रतिशत मात्र पाउने-Sutra News

बीमा समितिको नयाँ मापदण्ड : १ लाखको बीमा गर्नेले २५ प्रतिशत मात्र पाउने

मंगलबार, ३० भाद्र २०७७

मंगलबार, ३० भाद्र २०७७

काठमाडौं– बीमा समितिले कोरोना बीमाको मापदण्ड संशोधन गरेको छ। नयाँ बीमितलाई कोभिड–१९ संक्रमण पुष्टि हुनासाथ बिमांक रकमको २५ प्रतिशत मात्र दिने भएको छ।



आइसोलेसनमा बस्नु परेमा बिल भर्पाइका आधारमा थप ७५ प्रतिशतसम्म दिइनेछ। समितिका अनुसार भदौ २८ सम्म कोरोना बीमा गरेकाहरुको हकमा भने नयाँ मापदण्ड लागू हुने छैन। उनीहरुले संक्रमण पुष्टि भएपछि एक लाख रुपैयाँ पाउनेछन्।

व्यक्तिगत रुपमा ६ सय रुपैयाँ तिरेर र सामूहिक रुपमा प्रतिव्यक्ति ३ सय रुपैयाँ तिरेर बीमा गर्न सकिने व्यवस्था छ।

समितिले ७५ करोड रकम उठाइसकेपछि भदौ १९ मा निजी ल्याबमा कोरोना परीक्षण गरेकाहरुलाई बीमा रकम नदिने बताएको थियो। तर, चौतर्फी आलोचना गरेपछि समितिले आइतबार मात्र निजी ल्याबको रिपोर्टलाई पनि मान्यता दिने निर्णय गरेको थियो।

सोमबारबाट समितिले नयाँ बीमितहरुलाई लागू हुने गरी नयाँ मापदण्ड ल्याएको छ। बीमा समितिले उक्त मापदण्ड संशोधन गर्दै एक लाख रुपैयाँको बीमा गरेको व्यक्तिमा कोरोना संक्रमण पुष्टि भए २५ हजार रुपैयाँमात्रै पाउने व्यवस्था गरेको छ।

तर, बीमा गरेको व्यक्ति अस्पतालको आइसोलेसनमा बसेको अवस्थामा बिल भर्पाइ पेश गरेर थप ७५ हजार रुपैयाँ पाउने संशोधित व्यवस्थामा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट