काठमाडौं- नेपालको सुदूरपूर्वी क्षेत्रको सीमाना भारतको कुन राज्यसँग जोडिन्छ भनेर सोध्यो भने सहज उत्तर आउँछ, पश्चिम बंगाल । निश्चय नै, पश्चिम बंगालको नक्सलवारी र दार्जिलिङसँग नेपालको सीमा जोडिन्छ ।
तर, धेरै नेपालीलाई थाहा छैन कि, सन् १९७५ मा भारतले जबर्जस्ती आफूमा विलय गराएको सिक्किमसँग पनि नेपालको सीमाना जोडिएको छ । सिक्किमका ४ मध्ये दुई जिल्लाहरु पश्चिमी सिक्किम र उत्तर सिक्किमका पश्चिम सीमाना नेपालको पाँचथर जिल्लासँग जोडिएको छ ।
हुन त, ताप्लेजुङसँग पनि सिक्किमको सीमाना जोडिन्छ । तर ताप्लेजुङ-सिक्किमबीच आवतजावत गर्न सकिने नाका छैन । त्यसैले, नेपाल-सिक्किम जोड्ने नाका भनेको पाँचथरको चिवाभन्ज्याङस्थित छिरुवा नाका हो, जुन सिक्किमतर्फको मिलिक्थान्सँग जोडिएको छ ।
खासमा भारतसँगको खुला सीमानाका कारण नेपालमा पनि कोरोना भाइरसको संक्रमण फैलिएको हो । सिक्किमसँग सीमा जोडिएपनि आवतजावत गर्ने नाका नभएकाले ताप्लेजुङलाई त सिक्किमतर्फबाट कोरोनाको जोखिम छैन नै, नाका भएपनि पाँचथरलाई समेत त्यसतर्फबाट जोखिम नरहेको जिल्लाका अधिकारीहरु बताउँछन् ।
दुई कारण
खासमा दुई कारणले सिक्किमतर्फबाट नेपालमा कोरोना विस्तार हुने जोखिम नरहेको हो । एक, सिक्किममै कोरोना संक्रमणको दर अत्यन्त न्यून हुनु । दुई, पाँचथर र सिक्किमबीच आवतजावत गर्ने नाका भए पनि आवतजावतचाहिँ अत्यन्त न्यून हुनु ।
पाँचथरका प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद गुरागाईं पनि भारतसँग सीमा जोडिएकै कारण जिल्लामा संक्रमण बढ्ने जोखिम नदेखिएको बताउँछन् । ‘सीमा जोडिए पनि सिक्किम-पाँचथर आउजाउ पातलो छ,’ उनी भन्छन्, ‘सिक्किममा संक्रमणको दर निकै कम रहेकाले पनि हामीलाई त्यताबाट सर्ने जोखिम कम छ ।’
भारतीय टेलिभिजन च्यानल एनडिटिभीको अनलाइन संस्करणले मंगलबार अपरान्ह ५ बजेसम्म दिएको अपडेट अनुसार, भारतका ३६ राज्यमध्ये सिक्किम कोरोना संक्रमणको ३४ नम्बरमा छ । सिक्किमपछि ३५औं नम्बरमा मिजोरम र ३६औँ नम्बरमा लक्ष्यद्वीप छन् ।
‘विद्यालय-कलेजको भवन छोड्नुपर्ने अवस्था आएको छ, त्यसबाहेक भौगोलिक विकटताका कारण बिरामी व्यवस्थापन गर्न पनि अप्ठेरो छ । अस्पतालमा आइसियु कक्ष, भेन्टिलेटर केही पनि छैनन् । भौगोलिक विकटताका कारण दूरदराजका गाउँमा कसैलाई संक्रमण भयो भने उपचारका लागि ल्याउन कठिन छ ।’
सोही अनलाइनका अनुसार सिक्किममा हालसम्म २ हजार १ सय १९ जना कोरोना संक्रमित भएकोमा १ हजार ५ सय २१ जना संक्रमणमुक्त भइसकेका छन् । संक्रमितमध्ये हालसम्म १६ जनाको मृत्यु भएको छ भने ५ सय ८२ जनामा संक्रमण छ ।
एक त, अन्य राज्यको तुलनामा कोरोनाबाट संक्रमितहरुको संख्या सिक्किममा न्यून छ । अर्कोतिर भारतका अन्य राज्यबाट जसरी नेपाल प्रवेश गर्न सहज छ, सिक्किमको हकमा त्यति सहज छैन । सिक्किमबाट नेपाल सहजै आउने हो भने कि सिलिगुढी हुँदै काकरभिट्टा (झापा) आइपुग्नुपर्छ, कि त दार्जिलिङ निस्केर पशुपतिनगरको नाकाबाट प्रवेश गर्नुपर्छ ।
मध्यपहाडी राजमार्गको सुदुरपूर्वी विन्दू पाँचथरको याङ्बाराक गाउँपालिकामा पर्ने छिरुवा नाकासम्म पुगेपनि त्यो कच्ची अवस्थामै छ । फेरि नेपाल र सिक्किम दुवैतिर अत्याधिक चिसो भएकाले मानिसको जनसंख्या पनि कम छ । जनसंख्या कम भएपछि आवतजावत पनि कम नै हुने भइहाल्यो ।
सिक्किम प्रवेश गर्ने नाका रहेको पाँचथरको याङ्बाराक गाउँपालिका अध्यक्ष लेखनाथ घिमिरेका अनुसार, याङ्बाराक गाउँपालिकासँग सिक्किमको भू-भागसँग धेरै पहिलेदेखि रोटीबेटीको सम्बन्ध थियो । कोरोना संक्रमण विस्तार हुनुअघिपनि व्यावसायिक कामको सिलसिलामा आवतजावत भइरहन्थ्यो ।
तर, चैतमा नेपालले लकडाउन सुरु गरेयता सीमा नाकामा कडाई गरिएको छ । ‘त्यसअघि दैनिक डेढ सयको हाराहारीमा आवतजावत हुन्थ्यो, तर, अहिले दुबै पक्षबाट सीमामा कडाइ गरिएको छ,’ घिमिरे भन्छन्, ‘अहिले अत्यावश्यक पर्दा दैनिक एक दुई जनामात्र आउजाउ गर्छन् । त्यो नाकामा खासै गतिविधि छैन ।’
भारतसँग सीमा जोडिएका झापा पश्चिमका अधिकांस जिल्लामा कोरोना संक्रमणबाट प्रभावित हुनेहरुको संख्या अपेक्षाकृत बढी छ । तर, भारतको सिक्किमसँग सीमा जोडिएपनि उपरोक्त दुई कारणले गर्दा अन्य जिल्लाको तुलनामा पाँचथरमा कोरोना संक्रमणबाट प्रभावित हुनेहरु कम छन् ।
समस्या व्यवस्थापनको
प्रमुख जिल्ला अधिकारी गुरागाईंका अनुसार पाँचथर जिल्लामा हालसम्म २५ जनालाई संक्रमण पुष्टि भएको छ । तर, तीमध्ये १३ जना संक्रमण मुक्त भइसकेका छन् भने १२ जना आइसोलेसनमा छन् ।
यो जिल्लामा देखिएको पहिलो संक्रमणको केश कुवेतबाट आयातित थियो । पाँचथरमा कुवेतबाट आएकी महिलामा २ असारका दिन जिल्लामै पहिलो पटक संक्रमण पुष्टि भएको थियो । क्वारेन्टीनमा रहेकी उनको स्वाव टेस्ट गर्दा उनलाई पनि कोरोनाको संक्रमण भएको पुष्टि भयो । त्यसबाहेक बाहिरी नेपाल प्रहरी, सशस्त्र, मजदुर र कर्मचारीमा लगायतमा पनि संक्रमण देखिएको थियो ।
संक्रमण रोकथामका लागि जिल्लामा हालसम्म २ हजार ६ सय ७३ पिसिआर परीक्षण गरिएको छ । प्रजिअ गुरागाईंका अनुसार रोकथामका लागि प्रमुख नाका इलाम र पाँचथर जोडिने राजमार्गमा विशेष रुपले ध्यान दिइएको छ ।
‘त्यहाँ सुरक्षाकर्मी र सशस्त्र राखेर चेकिङको व्यवस्था गरेका छौं । अनुमतिपत्र नभई कोही पनि नाकाबाट प्रवेन गर्न पाउँदैन,’ प्रजिअ गुरागाईँ भन्छन्, ‘सामान्य अवस्थामा कुनै कार्यालय प्रमुखले समेत जिल्ला छाड्न पाउँदैनन्, अत्यावश्यक परेर मात्र बाहिर जानु पर्यो भने फर्केर आएपछि ७ दिनसम्म ‘सेल्फ क्वारेन्टीन’ मा बसी पिसिआर टेष्ट गरेरमात्र काममा सक्रिय गराउने गरेका छौं ।’
जिल्लामा अहिले ३६ बेडको आइसोलेसन निर्माण गरिएको छ । क्वारेन्टीन भने सुरुवाती अवस्थामा ४१ ठाउँमा ७ सय २१ बेडका थिए । तर संक्रमितहरुको संख्या न्यून हुँदै गएसँगै क्वारेन्टीनको बेड घटिरहेको उनी बताउँछन् ।
संक्रमितको संख्या न्यून रहेपनि दशैं नजिकिँदै गर्दा बढ्ने आवतजावतले संक्रमणको दर झनै फैलने हो कि भन्ने चिन्ता जिल्लामा छ । संक्रमित संख्यामा बृढ भए क्वारेन्टीनको व्यवस्था गर्न चुनौति थपिने बताउँछन् प्रजिअ गुरागाईँ । भन्छन्, ‘त्यो अवस्थामा के गर्ने भन्ने योजना बनाउँदै छौं ।’
प्रजिअ गुरागाईँका भनाईमा, आवश्यक संख्यामा भवन नहुँदा आइसोलेसन र क्वारेन्टीन निर्माणमा समस्या पर्न सक्छ । यसअघि स्थानीय तहले क्वारेन्टीन र आइलोलेसनको व्यवस्थापन स्कुल भवनमा गरेका थिए तर, विस्तारै स्कुल र विद्यालयका भवनहरू खाली गर्नुपर्ने भएपछि अप्ठेरो सिर्जना भएको छ ।
‘विद्यालय-कलेजको भवन छोड्नुपर्ने अवस्था आएको छ, त्यसबाहेक भौगोलिक विकटताका कारण बिरामी व्यवस्थापन गर्न पनि अप्ठेरो छ,’ उनी भन्छन्, ‘अस्पतालमा आइसियु कक्ष, भेन्टिलेटर केही पनि छैनन् । भौगोलिक विकटताका कारण दूरदराजका गाउँमा कसैलाई संक्रमण भयो भने उपचारका लागि ल्याउन कठिन छ ।’