काठमाडौं- आइतबार दिउँसोको दुई बजे। घरबेटीको आग्लो प्रहारबाट ज्यान गुमाएका मजदुर शम्भु महतोको घटनाबारे रिपोर्टिङ गर्न हामी कीर्तिपुरस्थित भाजंगल पुगेका थियौं। घटनास्थल नजिकै थियो- खेले चौतारी। जहाँ प्रहरीदेखि स्थानीयवासीसम्म जम्मा भएर महतोकै घटनाका विषयमा चर्चा गरिरहेका थिए।
क्यामेरा बोकेर पुगेका हामीलाई देख्नासाथ उनीहरु आक्रोशित भावमा भनिरहेका थिए- ‘यहाँ मिडियालाई छिर्न दिनुहुँदैन, जे पाए त्यही लेखेर टोलकै बदनाम गरे।’ युट्युबले जथाभावी लेखेर घटनालाई अतिरन्जित बनाएको उनीहरुको आरोप थियो।
हामी घटनाको प्रत्यक्षदर्शी खोजिरहेका थियौं। कसैले चौतारीसँगै रहेको चटपटे पसलमा हातमा प्लास्टिक लगाएर पानीपुरी बनाइरहेका व्यक्तिलाई देखाउँदै भन्यो- ‘ऊ त्यो दाइलाई सोध्नुस्, घटनालगत्तै शम्भुलाई उठाउन गएको मान्छे उही हो। प्रहरीलाई पनि उसैले बोलाएको हो।’
उनको नाम रहेछ- लक्ष्मण महर्जन। त्यहीँका रैथाने रहेछन्। हामी पुग्नासाथ उनले दाबी गर्दै भने- ‘घटना घटेको १५ सेकेन्डपछि नै म घटनास्थल पुगेको थिएँ। प्रहरीलाई म आफैँले फोन गरेको हुँ।’
कुराकानी सहज बनाउन हामीले उनलाई सोध्यौं- ‘चटपटे व्यवसाय गर्न थालेको कति भयो?’
वरिपरि चार-पाँचजना ग्राहक थिए। मुखमा मास्क लगाएर उनीहरुका लागि सानो भाँडोमा चटपटे घोलिरहेका महर्जनले थोरै मुस्कुराहटसहित हामीलाई जवाफ फर्काए, ‘खासमा मेरो पेसा अर्कै थियो?’
‘के थियो?’
निलो प्रिन्टेट टिर्सटतिर देखाउँदै उनले भने, ‘यहाँ हेर्नु न, खासमा म स्वीमिङ कोच हो।’
टिर्सटमा लेखिएको थियो- ‘एनटिए मास्टर्स, स्वीम बाइक रन, ओलम्पिक डे- २०१९।’
कोरोना महामारी र लकडाउनले निम्ताएको परिस्थितिले धेरै मानिसहरुलाई पेसा परिवर्तन गर्न बाध्य बनाएको अथवा छाक टार्नका लागि वैकल्पिक पेसा अपनाएको हामीले देखेका-सुनेका थियौं। महर्जन त्यस्तै एक उदाहरण रहेछन्, जसलाई आज नियतीले टोलको ‘चटपटे साहुजी’ बनाइदियो।
मर्हजनले भाजंगलको चौतारीमा चटपटे र पानीपुरी बेच्न थालेको करिब डेढ महिना पुग्यो। लकडाउन भएको दुई महिनासम्म उनलाई लागेको थियो- अब त यो संकट टर्ला कि!
तर, झन्-झन् बढ्ने संकेत देखा परेपछि उनी र उनको परिवारमा चिन्ताको ग्राफ बढ्दै गयो। मान्छेहरु ठान्दा हुन्, यहीँको रैथानेलाई के-को समस्या! तर, घरमा थैलो रित्तिन थालेको कसले देख्ने!
घरमा बुबा, आमा, श्रीमती, छोराछोरी, भाउजुसहितको परिवार चलाउनुपर्ने छ। दाई विदेशमा त छन् तर महामारीले उताको पनि हालत कहाँ ठीक छ र! त्यसैले दसैँमा घर फर्कने तयारी गर्दैछन्। बुबा काठको मिस्त्री हुन्, तर लकडाउनले काम सुचारु हुन सकेको छैन।
आफू स्वीमिङ सिकाउन जाऊ, स्वीमिङ पुल सबै ठप्प छन्। पौडिने पानीमा लेउ लागिसक्यो, तर स्वीमिङ पुल खुल्ने कुनै छाँटकाँट छैन। भनिन्छ, संकटले मान्छेलाई समस्यामात्रै दिँदैन, समाधान पनि सिकाएर जान्छ।
महर्जनका हकमा पनि यस्तै भयो। उनको बेरोजगार मस्तिष्कले जुक्ति निकाल्यो- ‘यत्तिकै बस्नुभन्दा बरु चटपटे-पानीपुरी बेच्छु। टोलवासीलाई खाजा पनि हुने, मलाई कमाई पनि।’
त्यसपछि उनले परिवारसँग सल्लाह गरे। सबै सहमत। त्यसपछि भाइ सन्जिबसँग मिलेर चौतारीकै नामबाट टेबलमा चटपटे र पानीपुरी राखेर चौतारी नजिकै सुरु गरे, ‘खेले चटपटे पसल’ । भन्छन्, ‘दिनको त्यही १ हजारदेखि १२ सय रुपैयाँसम्मको व्यापार भइरहेको छ। जेनतेन घर चलाउन पुगिरहेको छ।’
०००
कीर्तिपुरमै जन्मेहुर्केका महर्जन सानैदेखि खेलप्रेमी थिए। विदा हुनासाथ नैकाप जाने बाटो नजिकै कीर्तिपुरको खोलामा पौडिन पुगिहाल्थे। स्कुलमा हुने भलिबल प्रतियोगितामा सहभागी हुँदा प्रायःजसो ‘म्यान अफ दी म्याच’ हुन्थे।
त्यतिबेला कीर्तिपुर स्वीमिङ पुल खुलिसकेको थियो। मेम्बरसिपमा पौडिन पनि जान्थे उनी। पानीसँग खेल्न उनलाई औधी मन पर्थ्यो। तैपनि उनले सोचेका थिएनन्, पछि गएर पानीसँग खेल्नु नै मेरो पेसा हुन्छ भनेर।
लकडाउनअघिसम्म उनी पेप्सिकोलाको ब्लु हेभनमा स्वीमिङ कोच थिए। नेपाल ट्राइथलन एशोसिएसनसँग आबद्ध छन् उनी। लकडाउनकै बीचमा एशोसिएनले अनलाइनबाट आयोजना गरेको फस्ट लेभल कोच ट्रेनिङसमेत उनले घरबाटै लिए।
त्यतिमात्रै होइन, उनी स्कुलमा स्पोर्ट्स टिचरका रुपमा कामसमेत गर्थे। स्वीमिङको सिजनमा विद्यार्थीलाई पौडिन सिकाउँथे, अरुबेला भलिबल खेल्न। लकडाउनअघि उनी इलिक्सिर एकेडेमी चावहिल र पाणिनी स्कुल सिनामंगलसँग आबद्ध थिए।
‘मेरा विद्यार्थीले नेसनल गेमसम्म खेलेका छन्। पदक पनि ल्याएका छन्,’ आफ्ना विजेता विद्यार्थीका नाम उनलाई कन्ठै छन्, ‘विभु शाह, संयोग लामा, सम्बन्ध आदि मेरा विद्यार्थी हुन्, जसले मेडल नै जितेका छन्। मैले सिकाएका विद्यार्थीले मेडल जित्दा मलाई गर्व लाग्छ।’
यो त भयो महर्जनको परिचय। तर, उनको संघर्षको कथा पनि कम प्रेरणादायी छैन। १० वर्षयता उनी देश-विदेश स्वीमिङ कोचका रुपमा सक्रिय छन्। तर, त्यसअघि उनको परिचय अर्कै थियो।
ललितपुर, सानेपास्थित इन्टरनेशनल क्लबमा उनले करिब साढे तीन वर्ष बिताए। सुरुको ६ महिना उनले त्यहाँ क्यासियरका रुपमा काम गरे। त्यसपछि वेटर। वेटर काम गर्दैगर्दा पनि उनको ध्यान क्लबभित्र रहेको स्वीमिङ पुलमा पुगिरहन्थ्यो। यो पनि पेसा हुनसक्छ, उनलाई कहिल्यै लाग्दैनथ्यो।
‘किन छाड्नुभयो त वेटर काम?’
उनी भन्छन्, ‘संघर्ष त जीवनमा धेरै गरियो। वेटर काम छाड्नुको कारणचाहिँ आजित भएरै हो। सधैं अर्काको झुटो ग्लास, भाडाहरु बोक्नुपर्ने, धुनुपर्ने, त्यही पनि दुनियाँको भनाइ सुन्नुपर्ने। जति मिहेनत गरेपनि जस नपाइने। त्यसैले छाडियो।’
उनका स्वीमिङ गुरु रहेछन्, सानुभाइ पौडेल, जसले वेटर कामबाट वाक्क भइरहेकै बेला स्वीमिङतिर आउन प्रेरित गरे। यहाँ लाइफागार्डको तालिम लिएपछि उनी सन् २०१० मै दुबई पुगेछन्, हिल्टन होटलमा। त्यहाँ उनले लाइफगार्ड, स्वीमिङ कोच सबैको तालिम लिएछन्। करिब पाँच वर्ष पानीसँग खेल्नु नै उनको कर्म बन्यो। त्यही क्रममा उनी त्यहाँको सुपरभाइजरसम्म भए।
पाँच वर्षपछि जब उनी स्वेदश फर्किए, त्यसपछि पनि स्वीमिङ पेसामै आबद्ध छन्। भलै अहिले चटपटे बेचिरहेका छन्। उनी भन्छन्, ‘स्वीमिङ सिक्न आत्मबल चाहिन्छ। कसैलाई पानीदेखि डर हुन्छ। कसैलाई हुन्न। तर, म भन्छु, सबै नेपालीले स्वीमिङ सिकेको राम्रो। जीवनको अप्ठेरो परिस्थितिमा यो काम लाग्न सक्छ।’
सायद यही कारण टोलमा कसैले पौडी सिक्न रहर गर्यो भने उनी आफू आबद्ध स्वीमिङ पुलमा सिकाउन लगिहाल्छन्। यसरी टोलका धेरैलाई उनले स्वीमिङ सिकाएका छन्। भलै परिस्थितिले अहिले चटपटे र पानीपुरीको स्वाद खुवाइरहेका छन्।
…
चटपटे पानीपुरी बेच्नु महर्जनको पुर्खौली पेसा होइन। त्यसोभए लकडाउनमा कसरी सिके उनले यो व्यवसाय? भन्छन्, ‘हामी नेवार, कहिलेकाहीँ घरमा जमघट हुँदा बनाएर खाइन्थ्यो। त्यसकै आधारमा सुरु गरेको, सुरुसुरुमा ग्राहकले नुन चर्को भयो भने खुब कम्प्लेन गरे। अहिले पल्किएका छन्।’
पानीपुरी बनाउनचाहिँ उनले साइकलमा बेच्न ल्याउनेहरुबाट हेरेरै सिकेको बताउँछन्। ‘जुन ठाउँबाट पानीपुरीको सामान ल्याउँछु, त्यहाँबाट पनि सिकियो,’ उनले भने। पसलमा उनी कहिलेकाहीँ ससेज पनि राख्छन्। ‘अर्डर आयो भने दही पुरी पनि बनाउँछौं,’ उनी भन्दै थियो।
स्वीमिङ कोचबाट एक्कासी चटपटे साहुजी हुँदा कतिपयले गिज्याएको अनुभव पनि उनले नगरेका होइनन्। तर यस्ता प्रतिक्रियाले उनलाई रत्तिभर पनि हिनताबोध गराएको छैन। ‘भन्नेले त जे पनि भन्छन्,’ उनी हामीसँग भन्दै थिए, ‘कतिपयले गिज्याएको, जिस्काएको म महसुस गर्छु। चटपटे बेचेर के गरेको यस्तो पनि भन्छन्। तर, यी सबै कमेन्टलाई म इग्नोर गर्छु।’
उनी यत्तिमै रोकिएनन्। भन्दै थिए, ‘मान्छेहरु उता विदेशमा पैसा कमाउनलाई ट्वाइलेट सफा गरेर बस्छन्। अनि, यता फर्किएपछि विदेश गएर आ’को भनेर फुर्ति लाउँछन्। तर, मलाई काम गरेर खानलाई लाज लाग्दैन।’
सागर लामिछाने मगरले तयार पारेको भिडियो हेर्नुस्: