विस्थापित हुने खतरामा परम्परागत थाङ्‍का व्यवसायी-Sutra News

विस्थापित हुने खतरामा परम्परागत थाङ्‍का व्यवसायी

बुधबार, ३१ भाद्र २०७७

बुधबार, ३१ भाद्र २०७७

काठमाडौं- रामेछापका अशोक लामालाई सन् २०१९ को सुरुवातमै २५ लाख रुपैँया मूल्य बराबरको थाङ्का अर्डर आएको थियो। लामो समयदेखि भक्तपुरमा आफ्नो पेशा गरिरहेका उनलाई धेरै व्यापारीले सन् २०२० को दोस्रो महिनासम्ममा सकाउनुपर्ने सर्तसहित अर्डरहरु दिएका थिए।



उनकै दाबीलाई मान्ने हो भने परम्परागत थाङ्का लेखनमा व्यापारीहरुको पहिलो नजरमा उनी नै पर्ने गर्थे। किनभने उनले उत्पादन गर्ने गुणस्तरको थाङ्का अरुले उत्पादन गर्नेभन्दा माथिको हुने गर्छ। यति ठूलो रकमको अर्डर एकैचोटि आएपछि उत्साहित हुँदै उनले आफ्ना सात जना कालिगढहरुलाई धेरथोर पेश्की रकम दिएर काम सुरु गर्न लगाए।

करिब ४० वटा थाङ्का उनले एकैचोटी सुरु गरेका थिए। २०२० को सुरुवातमा उनले ९/१० वटा थाङ्का सकाए पनि धेरै थाङ्काहरुको काम अन्तिम चरणमा पुर्‍याए। उनले सकिसकेका थाङ्का लिनलाई व्यापारीहरुलाई बोलाए। तर कोही पनि आएनन्।

चीनमा कोरोना भाइरस देखा परेपछि लकडाउन सुरु भएको थियो। नेपालबाट आफूहरु चीन जान नसक्ने भएकाले गरेका अर्डरहरु रद्ध भएको जवाफ उनले पाए। त्यति धेरै रकमको अर्डर रद्ध भएपछि उनले आफूले केही सोच्नै नसकेको दुखेसो पोखे।

‘खासमा उनीहरुले २०२० को पर्यटन वर्षलाई लक्षित गरेर यति धेरै अर्डर गरेका थिए। कोरोनाका कारण चीनमा बन्द भएपछि चिनियाहरु नेपाल आउन पाएनन्। त्यसपछि नेपालमै पनि बन्द भयो। बजार बन्द भएपछि कहाँ लगेर  थाङ्का बेच्ने?,’ लामाले प्रश्न गरे।

काम गर्ने कालिगढहरुलाई मासिक तलब र पेश्की दिँदा आफ्नो ठूलो लगानी डुबेको उनले बताए। उनले यो पेसा नै खतरामा परिसकेको दुखेसो गरे। उनका अनुसार अझै २८ वटा थाङ्काहरुको काम अन्तिम चरणमा रहेका छन्।

आफ्नो ठूलो लगानी डुबिसकेकाले अब ती थाङ्काहरु सकाउने कि नसकाउने भन्ने दोधारमा छन उनी। `सकाए पनि बेच्नलाई बजार छैन। नसकाए यो कामबाहेक हामीले जानेको अरु केही छैन। नचाहेर पनि  यही काम गर्ने बाध्यता छ।’ थाङ्का नबेचेकै दुई वर्ष भइसकेको उनले बताए। यति लामो समय ब्यापार नहुँदा खान बस्न समस्या आइसकेको उनले दुखेसो पोखे।

लामाले आफ्नो पुर्ख्यौली पेसा अङ्गालेको ३० वर्षभन्दा बढी भइसकेको छ। यही पेसाबाट उनले आफ्नो परिवारलाई सुखका साथ धानेका थिए।

कोरोना भाइरसका कारणले लकडाउन भएपछि उनले आफ्ना कालिगढहरुलाई आफूसँगै राख्न सकेनन्। उनलाई आफ्नो लगानी डुबेर जति पीडा भएको छ, त्यति नै पीडा उनीहरु बेरोजगार भएर गाउँ गएर बस्नु परेकोबाट भइरहेको छ।

‘यही पेशामा लागेर भविष्य बनाँउछु भनेर लागेका भाइ बहिनीहरुलाई यस्तो बेलामा सहयोग गर्न सकिएन। यो कुराले मन दुखेको छ। व्यापारीहरुले यस्तो बेलामा आफैँले बुझेर हामीलाई सहयोग गरेको भए हुन्थ्यो,´ उनी भन्छन्, `तर धेरैले के छ भनेर एकपटक समेत सोधेका छैनन्।´

रामेछापकै दिलीप लामा पनि यो पेशामा लागेको १७ वर्ष पूरा भइसक्यो। उनले आफू एक्लै काम गरेर आफ्नै हिसाबको राम्रो गुणस्तरका थाङ्का उत्पादन गर्ने गर्थे। उनलाई पनि व्यापारीहरुबाट राम्रो मात्रामा थाङ्का अर्डर आएका थिए। उत्साहित हुँदै उनले श्रीमतीलाई पनि यही काम सिकाए। श्रीमान-श्रीमती मिलेर काम गर्न थाले।

एक वर्षबीचमा उनले पाँच लाखभन्दा बढी लगानीको थाङ्का उत्पादन गरिसकेका थिए। तर तिनीहरुलाई बेचेर एक रुपैँया पनि आम्दानी गर्न सकेनन। अझै करिब एक लाख लगानी भइसकेका थाङ्काहरु सकिन बाँकी छन्।

विगतमा आफूबाट थाङ्का लिने व्यापारीहरुलाई उनले छ महिनाको बीचमा धेरैपटक फोन गरे। तर कसैले पनि उनको कुरा सुनेन्। बजार ठप्प छ भन्दै टारिदिए। उनले पनि थाङ्का नबेचेको वर्ष दिन बढी भइसकेको छ। उनलाई अब सकाउन बाँकी रहेका थाङ्काहरु सकाउने जाँगर छैन। उनी भन्छन, `हामी वर्षमा एकचोटि थाङ्का बेच्छौं। त्यही पैसाले वर्षभरि गुजारा चल्थ्यो। अरु बेला राम्रो आम्दानी हुन्थ्यो। अब त सबै डुबिसक्यो।´

आफूले माया गर्ने अनि अफ्नो पुर्ख्यौली पेसालाई चटक्क छाडेर अरु पेसा गरिहाल्ने स्थिति नरहेको लामाको भनाइ छ। `पेसा परिवर्तन नै गर्नुपरे पनि त्यसको लागि लगानी छैन। अरुको काम गरेर त परिवार पाल्न सकिन्न,’ लामा भन्छन्, `अझै केही समय हेरौं। पछि सामान बिक्यो भने ठूलै रकम आउँछ।’ धेरै समय यस्तै भयो भने पेसा छोड्नैपर्ने उनले बताए।

यही पेसाले उनले परिवारको राम्रो गुजारा चलाएर बचत पनि राम्रै गर्थे। लकडाउनमा त्यही बचतले जीवन निर्वाह गर्न सजिलो भयो। तर यति लामो समय अवस्था नसुध्रिएपछि उनको दैनिकीमा पनि असर परेको छ। अहिले खान बस्नलाई ठूलै संकट नपरेपनि लगानी डुबेकोमा उनलाई ठूलो चिन्ता छ।

उनी निराश हुँदै भन्छन्,`सुनको मूल्य आनाको ७ हजार पर्छ। यति महँगो सुन लगानी गरेर थाङ्का तयार हुँदा पनि बेच्न नपाँउदा धेरै गाह्रो भइरहेको छ। नेपालीहरुले किन्ने चिज पनि होइन। बजार खुले पनि धेरै लामो समयसम्म गाह्रो हुनेवाला छ। त्यसपछि खान बस्न नै गाह्रो हुन्छ।’

अशोक लामा र दिलीप लामाको जस्तै पीडा थाङ्का पेसाकर्मी पाल्देन योन्जनको पनि छ। उनले पनि यही पेसा अङ्गालेको करिब ३५ वर्ष वितिसक्यो। उनले सानै उमेरदेखि यो पेशा गर्दै आइरहेका छन्। शिक्षित नभए पनि राम्रो आम्दानी गर्न सकिने भएकाले धेरैजसो मानिसले यो पेशा अपनाउने उनको बुझाइ छ।

उनले पनि आठ जना कालिगढहरु राखेर सानो उद्योग नै सञ्चालन गरिरहेका थिए। लकडाउन भएपछि उनले कसैलाई पनि रोजगार दिन सकेनन्। उनले पनि ८/१० लाख मूल्य बराबरको थाङ्का तयार गरिसकेका छन् भने १८/२० लाख मूल्य बराबरको थाङ्कामा अन्तिम चरणको काम बाँकी छ।

उनका अनुसार दैनिक ज्यालदारी र मासिक तलबमा काम गर्नेहरुलाई सबैभन्द गाह्रो भइरहेको छ। उनले पनि व्यापारीहरुको ढोका नढकढक्याएका होइनन्, तर व्यापारीहरुलाई पनि गाह्रो नै भएकाले स्थिति झन् तनावपूर्ण भएको उनको बुझाइ छ।

‘अहिले सबैलाई गाह्रो भएकाले कसैले कसैलाई दोष लगाउन मिल्दैन,’ उनको धारणा छ, ‘स्थिति सामन्य भएर पहिलाजस्तै व्यापार हुनेमा पूर्ण आशावादी छु।

उनी अहिलेको स्थिति भयानक भएको भए पनि २०५८ सालको दरबार हत्याकाण्डपछिको वर्षहरुमा जस्तो कठिन भइनसकेको बताए। ‘दरबार हत्याकाण्डपछि नेपालमा ४/५ वर्षसम्म पर्यटक आएनन्,’ उनी सम्झिन्छन, ‘पर्यटन व्यवसायीहरु व्यवसाय छोडेर भागेका थिए। त्यतिबेला त खानलाई पनि धौधौ भएको थियो। भाग्नेहरु भागे। धैर्य गरेर बस्नेहरुले पछि कमाए।’

अशोक लामा, दिलीप लामा र पाल्देन योन्जन त प्रतिनिधि पात्रमात्रै हुन्। नेपालमा यो पेशालाई अपनाएर बस्नेहरु कैयौँ छन्। जो दैनिक ज्यालादारी र मासिक तलबमा आफ्ना गुजारा चलाँउछन्। उनीहरुलाई यो लकडाउनले कति असर गर्‍यो होला भन्ने कुरा सजिलै अनुमान लगाउन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट