काठमाडौं– लोबुचे र मनास्लु हिमाल आरोहणकोा लागि बहराइन अधिराज्यबाट त्यहाँ राजपरिवारका एक सदस्य सहित १८ जनाको टोली मंगलबार साँझ काठमाडौं प्रस्थान गरेको छ।
लोबुचे र मनास्लु हिमाल आरोहण गर्ने राजपरिवारका सदस्य को हुन्, सो बारे सम्बद्ध पक्षले केही बताएको छैन। तर, उनी ३३ वर्षीय शेख नासेर विन हमाद अल खालफा हुन् भन्ने कुरा केही अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन्।
बहराइनस्थित नेपाली राजदूतावासका अनुसार, बहराइनको ‘डिफेन्स फोर्स’ मा कार्यरत १५ जना बहराइनी तथा ३ जना बेलायती नागरिक रहेको सो टोली शेख ईशा एयरबेसबाट विशेष विमानबाट नेपाल प्रस्थान गरेको हो।
लगभग २ महिना समयावधिको कार्यक्रम सहित नेपाल प्रस्थान गरेको सो टोलीले लोबुचे र मनास्लु हिमाल आरोहणलाई पूर्वतयारीको रूपमा लिंदै सन् २०२१ मा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने उद्देश्य लिएको बताइएको छ।
बहराइनस्थित नेपाली राजदूतावासका अनुसारपर्वतारोहणमा सहभागी हुने सदस्यहरू तथा विमानको चालक दलका सदस्यहरू सबै जना पछिल्लो १५ दिनदेखि स्व– क्वारेन्टिनमा रहेका थिए।कोभिड–१९ संक्रमण भएरनभएको सम्बन्धमा परिक्षण पश्चात सबैजना कोरोना संक्रमण नेगेटिभ देखिएपछि सो टोली नेपाल प्रस्थान गरेको हो।
बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास, नियोगको द्वितीय सचिव अरूणा घिसिङ, श्रम सहचारी दामोदर दाहाल लगायतले नेपाल प्रस्थानपूर्व सो टोलीसँग सफलताको शुभकामना प्रदान गरेका थिए। राजदूत सुन्दासले सो अवसरमा नेपाल र बहराइनबीच रहँदै आएको मित्रवत सम्बन्धमा यस आरोहणले थप आयाम प्रदान गर्ने विश्वास व्यक्त गरेका थिए।
बहराइनस्थित नेपाली राजदूतावासले जनाए अनुसार, सो टोलीलाई बहराइनको डेपुटी कमाण्डर अफ रोयल गार्डका मेजर जनरल हमाद खालिफा एल्नोमी तथा कमाण्डिङ अफिसर अफ रोयल गार्ड ट्रेनिङ स्कूलका ब्रिगेडियर साद गार्ली मुवारकले शुभकामनासहित विदाई गरेका थिए।
कोभिड–१९ को विश्वव्यापी महामारीका कारण अन्य पर्यटकहरुलाई नेपाल आउन अनुमति दिइएको छैन। सो टोलीलाई भने नेपाल सरकारको १४ भदौको मन्त्री परिषद बैठकले नेपाल आउन तथा हिमाल आरोहण गर्न स्वीकृति दिएको थियो।