भारतको प्रतिबन्धपछि बढ्यो प्याजको भाउ-Sutra News

भारतको प्रतिबन्धपछि बढ्यो प्याजको भाउ

बुधबार, ३१ भाद्र २०७७

बुधबार, ३१ भाद्र २०७७

काठमाडौं– छिमेकी मुलुक भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा यसको भाउ आकाशिएको छ। प्रतिबन्ध लगाएको दोस्रो दिन कालिमाटी थोक बजारमा प्याजको भाउ प्रतिकेजी औसतमा ४४ रुपैयाँले बढेको छ।



बुधबार कालिमाटी थोक बजारमा प्याजको भाउ प्रतिकेजी औसतमा ११९ रुपैयाँ पुगेको छ। यो मूल्य मंगलबारको तुलनामा ५८.६७ प्रतिशतले बढी हो। मंगलबार प्याजको मूल्य प्रतिकेजी १५ रुपैयाँ बढेर ७५ रुपैयाँ पुगेको थियो।

सोमबार मात्रै भारतले प्याजको निर्यातसम्बन्धी नीतिमा परिवर्तन गर्दै नेपालमा प्याज पठाउन प्रतिबन्ध लगाएको थियो। गतवर्ष पनि भारतले कात्तिकमा प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो। भारतले निर्यातमा प्रतिबन्ध लगाउँदा नेपाली बजारमा प्याजको मूल्य बढेर प्रतिकेजी २ सय ५० रुपैयाँसम्म पुगेको थियो।

यता काठमाडौं महानगरपालिकाको कृषि विभाग समितिले कालिमाटी तथा बल्खु क्षेत्रका तरकारी बजारमा अनुगमन गरेको छ। अनुगमनका क्रममा बल्खुका का एक व्यापारीले ४८ रुपैयाँमा प्याज खरिद गरेर उपभोक्तालाई किलोको १२० रुपैयाँसम्ममा बेचेको पाइएपछि कारबाही गरिएको उपभोक्ताकर्मी माधव तिमल्सिनाले बताए।

प्याजको कालोबजारी गर्ने एसके सप्लायर्स र सुली सगरमाथा सप्लायसका सञ्चालक सुनील केसीलाई महानगरीय प्रहरी वृत्त बल्खुमा जिम्मा लगाइएको छ। उनको व्यापार रोक्कासमेत गरेको महानगरपालिकाको कृषि विभाग समितिले जानकारी दिएको छ।

उनको पसलबाट लुकाइको २४० बोरा प्याज नियन्त्रणमा लिइएको छ। काठमाडौं महानगर, वाणिज्य विभाग र उपभोक्ताकर्मीको समन्वयनमा अनुगमन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट