काठमाडौं- भोलि (१ असोज)बाट यातयात व्यवसायीहरुले लामो दूरीको सवारी साधनहरु सञ्चालनमा ल्याउने भएका छन्। सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि चैत ११ गतेबाट सुरु गरेको लकडाउनसँगै लामो दूरीको यातयात अहिलेसम्म सञ्चालनमा आएको थिएन।
यातयात व्यवसायीहरुले लामो दूरीको यातयात सञ्चालनमा ल्याउनका लागि भदौ २६ गते यातायात मजदुर र व्यवसायीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङ र कोभिड-१९ संकट व्यवस्थापनलाई असोज १ गतेबाट सार्वजनिक गाडी चलाउने जानकारी गराएका थिए।
यस कुरालाई मध्यनजर गर्दै हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले लामो दूरीको सार्वजनिक यातयात सञ्चालन १ असोजबाट गर्न निर्देशन दिएको थियो। मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत सिटमामात्र यात्रु बोक्नेगरी लामो दूरीको सार्वजनिक यातायात चल्न दिने निर्णय गरेको थियो।
सोही निर्णयअनुसार व्यवसायीलाई यातयात सञ्चालन गर्न अनुमति दिएको यातयात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले बताए। बैठकमा मन्त्री बसन्त नेम्वाङले व्यवसायीको मागअनुसार नै सबै दूरीका सार्वजनिक सवारी खोलिएकाले सरकारले तोकेका स्वास्थ्यका मापदण्ड पालना गरेरमात्र सेवामा जान आग्रह गरेको छलफलमा सहभागी नेपाल यातायात स्वतन्त्र मजदुर संगठनमा अध्यक्ष भीमज्वाला राईले जानकारी दिए।
‘असोज १ गते विश्रकर्मा पूजाको दिन हो। यो दिन विषेश गरेर गाडीहरुको पूजा गरिन्छ। भोलिदेखि पूजा गरेर यातयात सञ्चालनमा ल्याउन लागेको छौं,’ उनले शूत्रन्युजसँग भने।
उनले सरकारले तोकेबमोजिमको मापदण्डमा सेवा दिन आफूहरु तयार भएको बताए। ‘छोटो दूरीका लागि यसअघि नै हामीले मापदण्ड बनाइसके छौं। विभागले १ असोजसम्म लामो दूरीका लागिसमेत मापदण्ड बनाउने गरी मन्त्रालयले तोकेको छ,’ उनले भने।
व्यवसायी र मजदुरले मापदण्ड पालना भए नभएको अनुगमन गर्ने संयन्त्र पनि तयार राख्न सरकारलाई आग्रह गरेको उनले बताए।