काठमाडौं- प्राकृतिक विपत्तिबाट सिन्धुपाल्चोकमा हालसम्म ३ हजार ७ सय ८६ जनाले ज्यान गुमाएका छन्। नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार १७ साउन २०७१ देखि २७ भदौ ०७७ सम्म ३ हजार ७ सय ८६ जनाले ज्यान गुमाए भने ४६ जना बेपत्ता छन्।
६ वर्षअघि राम्चेमा भीषण पहिरो खस्दा सो पहिरोमा परी १ सय ४५ जनाले ज्यान गुमाएका थिए भने घर, विद्युत गृह, विद्यालय, रिसोर्ट, निजी व्यापारिक फर्मसमेत गरी १५३ घर पूर्णरूपमा क्षति भएको थियो। पहिरोले भोटेकोशी नदी २४ घण्टा थुनिँदा महिनौंसम्म अरनिको राजमार्ग अवरुद्ध भएको थियो।
१२, १३, र २९ वैशाखमा गएको ‘गोरखा भूकम्प’ले सिन्धुपाल्चोकमा मात्रै ३ हजार ५ सय ७१ जनाको मृत्यु भएको थियो भने १ हजार ५ सय ६५ जना घाइते र ८ जना बेपत्ता भएको तथ्याङ्क प्रहरीसँग छ।
सो भूकम्पका कारण सिन्धुपाल्चोकमा ७८ हजार ५ सय ३७ घर पूर्णरूपमा क्षति क्षतिग्रस्त भएका थिए। ‘गोरखा भूकम्प’ले कमजोर बनाएपछि सिन्धुपाल्चोकमा बाढी-पहिरो जानेक्रम रोकिएन। २१ असार ०७३ मा भोटेकोशीमा आएको बाढीले चीनको तिब्बतसँगको सिमानाका लिपिङ बजारदेखि बाह्रविसे बजारसम्मका र तल्लो तटीय क्षेत्रका ६० घर बगायो।
त्यसैगरी लिपिङ बजारका ३० घर बगाउनुका साथै तातोपानी नयाँ बस्तीका ३० घरमा क्षति पुर्याएको थियो। ८ साउन ०७४ मा राति खसेको पहिरोले लार्चा पुल बगाउँदा भोटेकोशी र तातो पानीको सम्पर्क विच्छेद भएको थियो। २ भदौ ०७५ मा पहिरोका कारण २२ घरमा लेदो पस्यो र १२ घर जोखिममा परेको थियो।
२४ असार ०७७ मा बाह्रविसे नगरपालिका वडा नं ५ को जम्बु बजारमा माथिबाट आएको पहिरोले बस्ती पुरिएर २ जनाको मृत्यु हुनुका साथै १७ जना बेपत्ता भएका थिए भने २५ घर बस्न नमिल्ने गरी क्षति भएको थियो।
त्युसैगरी बाह्रविसे नगरपालिकाको खागदलमा बाढी-पहिरोले बस्ती पुरेर २२ घर बस्न नमिल्ने गरी क्षति पुर्याएको थियो भने भोटेकोशी गाउँपालिकाको बुल्कुटे पहिरोमा परी १ जनाको मृत्यु, ३ जना बेपत्ता भएका थिए।
सोही राति भोटेकोशीको लार्चामा गएको पहिरोले १३ घर क्षति, गाउँ नै विस्थापित भएको थियो। भोटेकोशी गाउँपालिका लार्चाका पहिरोबाट विस्थापित भएकाहरुलाई तातोपानीमा रहेको ड्राइपोर्टमा राखिएको थियो।
३१ असार ०७७ मा भोटेकोशी गाउँपालिका फुल्पिङ गाउँपालिकामा खसेको पहिरोमा परी एकै परिवारका ५ जनाको मृत्यु भएको थियो भने ३ घर पूर्णरूपमा क्षति भएको थियो।
सभामुख सापकोटा भने जग्गा सट्टापट्टासम्बन्धी कानुन अध्यादेशमार्फत् ल्याएर भए पनि पहिरो प्रभावितलाई सुरक्षित स्थानमा सार्ने योजनामा छन्।
१८ साउन ०७७ को राति मेलम्ची नगरपालिकाको मेलम्ची बजार नजिकैको पहिरोमा परी ८ जना मजदुरको मृत्यु भएको थियो। १८ साउन ०७७ मा बरुवा स्वास्थ्यचौकीसँगै जोडिएको घर पहिरोले बगाउँदा २ जनाको मृत्यु भएको थियो।
२२ साउन ०७७ मा अविरल वर्षाका कारण चौतारा साँगाचोकगढी नगरपालिका सेराफाँटमा ४ घर पुरिएर क्षति भयो। बाढीले बलेफी जलविरे ढाँडे कात्तिके सडक ठाउँ-ठाउँमा अवरुद्ध भएको थियो। बलेफी गाउँपालिकाको वडा नं १, २, ३ र ४ का जलविरे, नौविसे, ढाँडेखोला, कामीटार, झोलंगे, जुगल गाउँपालिकाको राम्चेमा सयौं रोपनी धान खेतसमेत बगायो।
३० साउन ०७७ मा जुगल गाउँपालिकाको वडा नं २ गोल्चेस्थित लिदीमा गएको भीषण पहिरोमा ३७ घर पुरिए। पहिरोले पुरिएर बेपत्ता भएका ३९ जनामध्ये ३७ जनाको शव भेटियो। अझै २ जना बेपत्ता छन्। पहिरोले १३ घर पूर्णरूपमा पुरिएर क्षति भएको र थप २४ घर बस्न नमिल्ने गरी क्षतिग्रहस्त भएको छ।
शनिबार (२७ भदौ)मा बाह्रविसे नगरपालिका वडा नं ७ घुम्थाङको भीरकोट, नेवारटोल र नागपुजेमा भीषण पहिरो गयो। पहिरोमा पुरिएर बेपत्ता भएका ३१ जनामध्ये १५ जनाको शव फेला परेको छ भने १६ जना बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ।
भीरखर्क ६, नागपुजेका ११ र नेवार टोलका १३ गरी ३० घर पूर्ण क्षति भएको छ। १७ घर उच्च जोखिममा छन्।
भूकम्पले पहिरोको अत्यधिक जोखिम
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल प्राकृतिक विपत्तिबाट सिन्धुपाल्चोक थिलथिलो भएको बताउँदै ‘गोरखा भूकम्प’देखि बाढी-पहिरोका घटना बढेको बताउँछन्।
बुधबार सूत्रन्युजसँग कुरा गर्दै सिडिओ ढकालले पटक-पटक आउने भूकम्पको धक्काले पहिरोको जोखिम बढाएको जानकारी दिए। ‘सिन्धुपाल्चोकमा पटक-पटक आउने भूकम्पले जोखिम झनै बढाएको छ,’ सूत्रन्युजसँग उनी भन्छन्, ‘भूकम्पले पहिरोको जोखिम अत्यधिक बढाएको छ।’
बोल्देका ८५ घर उच्च जोखिममा
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-५, बोल्देका ८५ घर पहिरोको उच्च जोखिममा छन्। हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा वस्तीमुनिबाट मेलम्ची खानेपानीको सुरुङ खनिएका कारण पहिरोको जोखिम बढेको बताउँछन्।
‘मेलम्ची खानेपानी आयोजनाले वस्तीमुनिबाट सुरुङ खनेका कारण वस्ती पहिरोको उच्च जोखिममा परेको हो,’ सूत्रन्युजसँग शेर्पाले भने। वस्तीमुनिबाट पहिरो जान थालेपछि मेलम्ची खोपानी आयोजना र जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाइसकेको पनि उनको भनाइ छ।
सुरक्षित स्थान्तरणका लागि उपयुक्त ठाउँ छनोट गर्न स्थानीयवासीलाई निर्देशन दिइएको अध्यक्ष शेर्पाले जानकारी दिए।
अध्यादेशमार्फत् जग्गा सट्टापट्टासम्बन्धी कानुन ल्याउने तयारी
भूकम्प पीडितले घर बनाए पनि उनीहरूको साझा चिन्ता हो- सुरक्षित बसोवास। कतिपय विस्थापितको सुरक्षित जग्गा नै छैन। उनीहरूलाई सुरक्षित ठाउँमा जमिन किनेर बस्नुपर्ने बाध्यता छ। सुरक्षित छ भन्नेहरूको जग्गा पनि सुरक्षित छ वा छैन त्यसको परीक्षण गर्नुपर्ने हुन्छ।
शनिबार पहिरो गएको स्थान सुरक्षित भनेर सरकारले दाबी गरे पनि सुरक्षित रहेन। भौगोलिक अध्ययन गरेर बस्ती बस्न हुने-नहुने ठाउँको सूची पेस गर्ने र एकीकृत बस्ती निर्माणको योजनामा सभामुख अग्निप्रसाद सापकोटाले पहल थालेका छन्।
त्यसका लागि जग्गाको मुख्या समस्या भएको सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपाने बताउँछन्। विस्थापितको जग्गा सरकारले लिने र सुरक्षित ठाउँमा रहेको सरकारी जग्गा विस्थापितलाई प्रयोगमा ल्याउन सकिन्छ। तर, जग्गा सट्टापट्टासम्बन्धी कानुनी व्यवस्था नभएका कारण अप्ठ्यारो परेको छ।
सभामुख सापकोटाले भने जग्गा सट्टापट्टासम्बन्धी कानुन अध्यादेशमार्फत् ल्याएर भए पनि पहिरो प्रभावितलाई सुरक्षित स्थानमा सार्ने योजनामा छन्।
सञ्चारविज्ञ न्यौपाने भन्छन्, ‘सदन नचलेको अवस्थामा आवश्यक पर्दा अध्यादेशमार्फत् भए पनि जग्गा सट्टापट्टासम्बन्धी कानुन ल्याउन, भौगोलिक अध्ययनका लागि विशेष टोली पठाएर प्रतिवेदको आधारमा सुरक्षित स्थानमा स्थान्तरण लागि सम्भावित जग्गाको अध्ययन गर्नुपर्छ।’
सभामुखको अहिलेसम्म त्यस्तो सोच भएको बताउँदै कानुनले पनि बाटो खोलिदिनुपर्ने उनको भनाइ छ।