काठमाडौं- अग्रज पत्रकार महिलाले कोभिड–१९ का कारण पत्रकार महिला कतिपयले जागिर गुमाएको त कतिले कम तलब -सुविधामा काम गर्न बाध्य भइरहेको बताएका छन्।
सञ्चारिका समूहले बुधबार आयोजना गरेको ‘कोभिड–१९ को महामारीमा पत्रकार महिलाको भूमिका र चुनौती’ विषयक भर्चुअल सम्मेलनमा उनीहरुले विपद्को अवस्थामा सबै पत्रकारलाई पेशागत असुरक्षा भएपनि यसबाट पत्रकार महिला थप प्रताडित भएको बताएका छन्।
पत्रकार आरती चटौतले कतिपय मिडियाले घरबाटै काम गर्न मिल्ने भनेपनि महिलालाई त्यसको व्यवस्थापन थप चुनौतीपूर्ण भइरहेको बताइन्।
महिलाले घरको काम, बालबालिकाको व्यवस्थापन गरेर कार्यालयको काम गर्नुपर्ने अवस्था रहेको बताइन्। उनले भनिन्, ‘भूकम्पको समयमा र अहिले कोभिडको जोखिम भएपनि महिलाहरु सक्रिय रुपमा फिल्डमा खटिएका छन्।’
पत्रकार कृष्णा पौडेलले कोभिड–१९ का कारण मिडियामा लगानी गर्ने महिला आर्थिक रुपमा समस्यामा परेको बताइन्। राज्यले महिलाको लगानी भएका मिडियालाई प्रोत्साहन गर्नै नीति अवलम्वन गर्नुपर्ने उनको भनाइ छ।
सञ्चारिका समूहका अध्यक्ष नितु पण्डितले काठमाडौँदेखि जिल्ला जिल्लामा रहेका महिला पत्रकारले कोभिड–१९ को समयमा जोखिम भएपनि फिल्डमा खटिएको बताइन्।
समूहले कोभिडकै कारण रोजगारी गुमाएका महिलालाई आर्थिक रुपमा सहयोग पु¥याउन कोष स्थापनाको योजना बनाएको उनले जानकारी दिइन्।