

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसविरुद्धको खोप केही सातामै उपलब्ध हुने दाबी गरेका छन्। बीबीसीका अनुसार राष्ट्रपति ट्रम्पले केही साताभित्र आमरूपमा वितरणका लागि खोप तयार हुने दाबी गरेका छन्।
यता खोपकै विषयलाई लिएर सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका निर्देशकले भने सन् २०२१ को मध्यसम्ममा मात्रै आमनागरिकका खोप उपलब्ध हुनसक्ने बताएका छन्। कोरोना भाइरसविरुद्धको खोप सुरूवाती चरणमा यो वर्षको नोभेम्बर र डिसेम्बर महिनाको बीचमा उपलब्ध हुनसक्ने रेडफिल्डको भनाइ छ ।
खोप उपलब्ध भएपनि त्यो समयमा सीमित मात्रामा मात्रै आपूर्ति हुनसक्ने र आफूहरूले प्राथमिकता निर्धारण गर्नुपर्ने उनले बताए। रेडफिल्डले भने, ‘यदि तपाईं मलाई आमरूपमा अमेरिकी नागरिकलाई कहिले खोप उपलब्ध हुनसक्छ भनेर सोध्नुहुन्छ भने मलाई लाग्छ, सन् २०२१ को जूनदेखि सेप्टेम्बरको बीचसम्ममा हुनसक्छ।’
राष्ट्रपति डोनल्ड ट्रम्पले भने गल्तीले अथवा द्विविधामा परेर सीडीसीका निर्देशकले त्यसो भनेको हुनसक्ने दाबी गरेका छन्। उनले अमेरिकामा कोरोना भाइरसविरुद्ध प्रभावकारी खोप केही साताभित्रै आमरूपमा वितरणका लागि तयार हुने दाबी समेत गरेका छन्।
ट्रम्पले भने, ‘सीडीसीका निर्देशकले गलत भने। हामी तत्काल ठूलो संख्यामा मानिसहरूलाई खोप उपलब्ध गराउन तयार हुनेछौँ र अरु मुलुकलाई पनि सहयोग गर्न गइरहेका छौं।’
डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार जो बाइडेनले चुनावी फाइदाका लागि ट्रम्पले खोपको विषयलाई प्रयोग गरिरहेको आरोप लगाएका छन्। बाइडेनले खोपसम्बन्धी ट्रम्पका प्रतिबद्धतामा अमेरिकीको विश्वास नरहेको समेत बताएका छन्।