कोभिड–१९ ले वैश्विक अर्थव्यवस्था नै धरासायी भइसकेको अवस्थामा नेपालको अर्थतन्त्रको मेरुदण्ड नै भाचिइसक्यो भन्नेमा दुइ मत नहोला। रेमिट्यान्स, कृषि, पर्यटन तथा विभिन्न शीर्षकमा उठाइएका करहरु नै नेपाली अर्थतन्त्रका मेरुदण्ड हुन्। तर कोभिड-१९ का कारण कृषि बाहेक अन्य सबै क्षेत्रमा नकरात्मक प्रभाव परेको छ।
कोभिडकै कारण विदेशमा बेरोजगार हुन पुगेकाले नेपाल फर्किने नेपालीहरुको लर्को छ। यसले पार्नै असर र त्यसको व्यवस्थापनमा कसैको ध्यान गएजस्तो देखिदैन। दिन-प्रतिदिन नेपालले कोरोनाको नयाँ-नयाँ आँकडाको रेकर्ड बनाउँदैछ। राजधानी काठमाडौँ कोभिड–१९ को हटस्पट बन्न पुगेको छ। र,बेवास्ता अझै बढ्दै जाने हो भने सम्पूर्ण नेपालीहरु महामारीको चपेटामा पर्ने निश्चित छ।
लकडाउन र निषेधाज्ञाको नाममा जनताको दुखकष्टमा अरु बृद्धि भएको छ। पर्याप्त परीक्षण, उपचारको आवस्यक व्यवस्था, सिर्जना हुने अन्य अप्ठेराहरुसँग जुझ्ने उपाय अबलम्बन नगरी जसरी लकडाउन र निशेधाज्ञा जारी गरियो, त्यो हेर्दा के लाग्छ भने, निमुखा जनता हातमुख जोर्नबाट बञ्चित गर्नमात्रै सरकारले लकडाउन र निशेधाज्ञा जारी गरेको हो। किनभने, लकडाउन र निशेधाज्ञाको बेलापनि ठूलाबडा र पहुँचवालाहरुको कुनै काम रोकिएन। त्यसको असर सिर्फ मध्यम र गरिव वर्गका मानिसलाई मात्र पर्यो।
निम्न तथा मध्यम वर्गको नेपाली नै अहिले सबभन्दा पीडित र उच्च जोखिममा छन्। त्यसैले, व्यवस्थित तरिकाले जन जीवनलाई सामान्य स्थितितर्फ फर्काउने प्रयास गर्नु अपरिहार्य भइसकेको छ। नभए कोरोनासँगै आत्महत्याको दर धेरै गुणा बढ्ने निश्चित छ। आम्दानी चाहिँ सून्य, खर्च भने यथावत रहने अवस्था अवस्था लामो समयसम्म रह्यो भने गुजारा गर्न कठिन भएर मानसिक रुपमा बिछिप्त भई अप्रिय निर्णय नगर्लान् भन्न सकिन्न। आत्महत्याका कतिपय घटनाले यसको संकेत पनि गरिसकेका छन्।
निम्न तथा मध्यम वर्गको नेपाली नै अहिले सबभन्दा पीडित र उच्च जोखिममा छन्। त्यसैले, व्यवस्थित तरिकाले जन जीवनलाई सामान्य स्थितितर्फ फर्काउने प्रयास गर्नु अपरिहार्य भइसकेको छ।
जनजीवन सामान्य बनाउन पहिलो चरणमा कोरोना पीडितहरुको तथ्याङ्क संकलन गरी भौगोलिक रुपमा तिनको सटिक विश्लेषण गर्नु आवस्यक छ। संक्रमणको विस्तार अझ व्यापक हुँदै गयो भने पीडित परिवार तथा क्षेत्रको पहिचान गरी आवश्यकता अनुसार घर वा क्षेत्रलार्ई मात्रै आइसोलेट गरी त्यहाँ बस्नेहरुको लागि आवश्यक सामान घरको गेट सम्म पुर्याइदिने व्यवस्था गर्नुपर्छ। यसका लागि स्थानीय वडा तथा विभिन्न स्वयमसेवी संस्था र पार्टी कार्यकर्ताहरुको प्रयोग गर्न सकिन्छ। अन्य मानिसलाई भने मास्क, स्यानेटाइजरको प्रयोग र भौतिक दुरिको पालना गर्दै हिडडुल गर्ने, काममा फर्किने वातावरण बनाउनु पर्छ।
साना व्यापारी तथा दैनिक ज्यालादारी गर्ने मजदुर वर्गलाइ लक्षित गरी मास्क, स्यानेटाइजरको प्रयोग र भौतिक दुरीको पालना गर्दै काम गर्न प्रोत्साहित गर्ने, यस्ता सामाग्री किनेर प्रयोग गर्ने क्षमता नभएका कामदार वर्गका लागि प्रत्येक दिन एउटा मास्क र काम गर्ने ठाउँमा स्यानेटाइजरको नि:शुल्क व्यवस्था गरी सोको प्रयोग गर्न प्रोत्साहन दिनु पर्छ। सार्वजनिक सवारी साधन खुला गर्दै सकेसम्म आधामात्र यात्रु बोक्न पाउने मास्क र स्यानेटाइजर अनिवार्य प्रयोग गर्न लगाउने र सवारी साधनमा चढ्नु अघि अनिवार्य रपमा तापक्रम अनिवार्य परीक्षण गर्ने हो भने लकडाउन खोलेपनि कोभिड–१९ लाई केही हदसम्म नियन्त्रण गर्न सकिन्छ।
यद्यपि, आधामात्र यात्रु चढ्ने व्यवस्था गरिँदा सवारी व्यवसायीहरु मर्कामा पर्न सक्छन्। यो कुरालाई ध्यानमा दिँदै करमा छुट दिने, तर यात्रुका लागि भाडा बढाउने अवस्था सिर्जना गर्न दिनु हुँदैन। अहिलेको स्थिति असामान्य भएकाले दैनिक कठिनाइमा परेकाहरुले आफ्नो समस्या समाधानका लागि सूचना दिन मिल्ने गरी ‘हटलाइन’ को व्यव्स्था गर्नु पर्छ। साथै जिम्मेवारीका साथ समस्या समाधानका लागि ‘एसएमएस’ बाट ‘फिड्ब्याक’ दिन मिल्ने व्यवस्था पनि गरिनु पर्छ। यसैगरी राम्रो काम गर्नेलाई प्रोत्साहन र गलत काम गर्नेलाई अनिवार्य दण्डको व्यवस्था गरियो भने समस्या समाधान प्रभावकारी रुपमा हुन सक्छ।
दोस्रो चरणमा व्यापार, व्यवसाय, उधोग तथा कलकारखानाहरुमा सावधानीपूर्वक तोकिएको सुरक्षित मापदण्ड पालन गरी सञ्चालनको अनुमति दिनु पर्छ। साथै सहुलियतपूर्ण कर्जाको व्यवस्था, पुरानो कर्जाको व्याजमा सम्भव भएसम्मको कटौति, तिर्नु पर्ने म्यादलाई बढाउन सके व्यवसायीहरु प्रोत्साहित हुनेछन्। यो व्यवस्था कृषि, पर्यटन तथा अन्य उद्योग–व्यवसायमा पनि लागू गरिनु पर्छ। यस्तो व्यवस्था घरधनीहरुकोहरुको हकमा पनि लागू गरिएमा यसको सकारात्मक लाम भाडामा बस्नेहरुले पनि पाउनेछन्।
अहिलेको विपदबाट आर्थिक रुपमा असर नपरेकामा सरकारी लाभको पदमा रहेका नेताहरु र सरकारी कर्मचारी मात्र हुन्। त्यसैले निर्णायक स्थानमा बसेकाहरुले अब पनि जनहितमा काम गर्न सकेनन् भने जनता र इतिहासले उनीहरुले गरेको भूल कहिले पनि बिर्सने छैनन्। निर्दोष जनताको आँसु कहिले खेर जाँदैन भन्ने कुरा उनीहरुले आत्मसात गर्नुपर्छ।
हुन त, कोभिड–१९ सुरु हुनुअघि सत्तारुढ नेकपाका नेताहरुले चिनियाँ कम्युनिष्ट पार्टीबाट प्रशिक्षण बिलाए लएका थिए। तर, जब कोभिड–१९ विस्तार हुन थाल्यो, चीनको अनुभव यहाँका नेताहरुले लिए जस्तो देखिएन। आफ्ना गल्तीको ढाकछोप चीन र अन्य मुलुकको तुलनामा नेपालमा कोभिड–१९ बाट संक्रमित हुनेहरुको संख्या कम भएको भनेर गर्न खोजियो। जबकि, चीन लगायत अन्य मुलुकको जनसंख्या नै धेरै थियो।
परीक्षण बढाउँदै लैजाने हो भने नेपालमा कोभिड–१९ संक्रमणको ग्राफ अझै धेरै माथि पुग्ने निश्चित छ। तथापी कोरोनाको कारणले हुने मृत्युदर निकै कम भएको चाहिँ सत्य हो। तर, कोभिड–१९ को विस्तारलाई हाउगुजीको रुपमा प्रयोग गरेर फाइदा लिने काम पनि हुनसक्छ।
कोरोनासँगै सचेत हुने र योसँगै बाँच्न सक्ने मनस्थिति बनाउनु नै अहिलेका लागि आमजीवनमा फर्कने उपाय हो। कोरोनाबाट संक्रमित भइहालेमा पनि त्यतिधेरै आत्तिनुपर्ने स्थिति छैन। किनभने, संक्रमितमध्ये करिव ८० प्रतिसतले आफ्नै रोग प्रतिरोधात्मक क्षमताका कारण निको भएको देखिन्छ। साधारण औषधी र घरेलु उपायबाट समेत कोभिड–१९ बाट बच्न सकिने स्थिति छ। यद्यपी, गम्भीर बिरामी भएकाहरुको हकमा चाहिँ अस्पतालमा उचित व्यवस्था गर्न ढिलार्इ गर्नु हुँदैन। अन्य रोगबाट ग्रसित, बालबालिका तथा बृघबृद्धाहरुको पनि विशेष हेरचाह र निगरानीमा ध्यान दिनुपर्छ।
कोभिड–१९ ले सिर्जना गरेको विषम परिस्थितिका कारण बालबालिका तथा युवाहरुको शिक्षादीक्षामा प्रतिकूल असर परेको छ। हुन त, अहिले अनलाइन प्रविधिबाट शिक्षा दिने कोशिष गरिँदै। तर, कम्प्युटर, इन्टरनेट, विजुली आदिको समस्याले गर्दा अधिकांश विद्यार्थी शिक्षा प्राप्त गर्नबाट बञ्चित भएका छन्। त्यसैले, यसतर्फ पनि ध्यान दिन जरुरी छ। समस्याहरु सामान्य अवस्थामा पनि नहुने होइनन्। तर, सबैले आ-आफ्नो ठाउँबाट इमान्दार पहल गर्ने हो भने जस्तोसुकै समस्या पनि समाधान गर्न सकिन्छ। फरक केमात्र हो भने, यस्तो इमान्दार पहलको आवस्यकता अन्य समयको तुलनामा अहिले अझ बढी छ।
झा गैर–आवासीय नेपाली संघ, चीनका निवर्तमान अध्यक्ष हुन्