काठमाडौं- २४ असार (२०७७) मा मोतियाविन्दुको शल्यक्रिया गराएका थिए, सभामुख अग्निप्रसाद सापकोटाले । शल्यक्रियापछि चिकित्सकले भनेका थिए, ‘तपाईंले अब एक हप्तासम्म घरमै रहेर आराम गर्नुपर्नेछ ।’
तर, त्यसै दिन रातको समय सभामुख सापकोटाको गृह जिल्ला सिन्धुपाल्चोकका तीन ठाउँमा बाढी–पहिरो गयो । जनधनको क्षति भयो । बाह्रविसे नगरपालिकाको जम्बुमा बाढी पहिरोले २२ घर पुरिए । भोटेकोशी गाउँपालिकाको बुल्कुटेमा गएको पहिरोमा परी १ जनाको मृत्यु भयो भने ३ जना बेपत्ता भए । भोटेकोशीको लार्चामा गएको पहिरोले १३ घरमा क्षति पुग्यो । गाउँ नै विस्थापित हुनुपर्यो।
चिकित्सकको सुझावका बावजुद उनी भोलिपल्ट बिहानै विपद्स्थल पुगे । बाह्रविसेका जम्बु, खागदल पुगेका सापकोटाले त्यहाँको अवस्थाबारे जानकारी लिए । सोही दिन सदरमुकाम चौतारा पुगेर विपद् व्यवस्थापन समितिका उपलब्ध व्यक्तिहरुसँग छलफल गरी राहत तथा उद्धारका लागि निर्देशन दिए ।
सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपाने भन्छन्, ‘चिकित्सकले नजान सुझाव दिए पनि उहाँ त्यहाँ जानुभयो । हामीले ‘पछि जाँदा हुँदैन र ?’ भनेका थियौँ । तर, उहाँले ‘मेरो एउटा आँखा गए पनि अर्को छँदै छ नि’ भन्ने जवाफ दिनुभयो । एउटा जनप्रतिनिधिका लागि जनताको दुखमा ऐक्यवद्धता जनाउने र राहत–उद्धारमा सहयोग गर्नु ठूलो कुरा हो भन्दै उहाँ विपद् भएका स्थानहरुमा पुग्नुभयो ।’
माथिका घटनाले देखाउँछन्, समय जतिसुकै प्रतिकूल किन नहोस्, विपद सिर्जना हुनासाथ जनप्रतिनिधिको हैसियतमा जनताको दुखमा साझेदारी गर्न गृह जिल्ला सिन्धुपाल्चोक पुगेकै हुन्छन् ।
सभामुख बनेपछिको सक्रियता
१२ बैशाख २०७२ मा आएको विनाशकारी भूकम्पले अधिक प्रभावित जिल्लामध्ये एक थियो, सिन्धुपाल्चोक । १२ बजे भूकम्प आउँदा सापकोटा काठमाडौंमै थिए । जब भूकम्प आयो, कत्ति पनि अबेर नगरी उनी जिल्ला प्रस्थान गरे । दुई बज्दा नबज्दै उनी सिन्धुपाल्चोक पुगिसकेका थिए । ‘उहाँ नपुग्नु भएको जिल्लाको कुनै क्षेत्र र भूगोल छैन,’ न्यौपाने भन्छन्, ‘विपद्का बेला जिल्ला जाने कुरामा उहाँले तत्काल निर्णय लिनुहुन्छ, राजधानीबाट नजिकै भएकाले र गाडीबाट नै धेरै ठाउँमा जान सम्भव भएकाले सम्भव भएजति स्थानमा स्थलमार्गकै प्रयोग गरेर पुग्ने गर्नुभएको छ ।’
२८ भदौ (०७७) मा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–७ घुम्थाङको भीरकोट, नेवारटोल र नागपुजेमा भीषण पहिरो गयो । पहिरोमा पुरिएर बेपत्ता भएका ३१ जना मध्ये १५ जनाको शव फेला पर्यो भने बाँकी बेपत्ताको खोजी जारी छ । सभामुख सापकोटा बिहान सवा ९ बजे स्थलमार्गबाट त्यहाँ पुगिसकेका थिए ।
त्यहाँ पहिरो गएको खबर बिहान ४ बजे नै प्राप्त भएपछि बिहानै त्यसतर्फ जान तयारी सुरु भएको थियो । स्थलमार्गबाट सभामुख सहयोगी सहित ९ बजे घटनास्थलतर्फ पुगिसकेका थिए । त्यहाँ पुगेपछि सापकोटाले झण्डै एक किलोमिटर पहिरोग्रस्त ठाउँमा पैदलै हिँडेर पहिरोको अवलोकन गरे । र, राहतका लागि के पहल गर्न सकिन्छ भनेर छलफल गरे । राहत र उद्धारमा सबै संयन्त्रहरुको परिचालनमा सभामुख सापकोटा सक्रिय रहे । र, भोलिपल्ट दिउँसो २ बजे मात्रै काठमाडौं फिरे ।
यस वर्षको असारयता मात्रै सिन्धुपाल्चोकमा प्राकृतिक विपद्का ६ घटना भएका छन् । असार, साउन र भदौ महिनामा मात्र बाढी र पहिरो जस्ता विपदका कारण सिन्धुपाल्चोकमा ७१ जनाको मृत्यु भइसकेको छ भने ४१ बेपत्ता छन् । विपद्का कारण १ सय २७ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । कतिपय वस्तीको त नामनिसाना नै मेटिएको छ ।
उनी सभामुख निर्वाचित भएको एक वर्ष पनि पुगेको छैन । तर उनी ६ पटक गृह जिल्ला सिन्धुपाल्चोक पुगेका छन् । त्यसमध्ये दुई पटक जिल्लामा भएका औपचारिक कार्यक्रममा सहभागिता जनाउन पुगेका थिए भने चार पटक विपद्का घटनाका कारण गएका थिए ।
‘सामान्य अवस्थामा नागरिकले आफैं जीविकोपार्जन गर्छन्, त्यतिबेला उनीहरुलाई सहयोगको आवश्यकता पनि पर्दैन भन्ने सभामुखज्यूको दृष्टिकोण छ,’ उनका एक सहयोगी भन्छन्, ‘तर, जब पीडा र दुःख हुन्छ, त्यतिबेलाचाहिँ नागरिकलाई अभिभावकको महसुस हुने भएकाले त्यो बेला त्यहाँ पुग्नुपर्छ भन्ने उहाँ ठान्नु हुन्छ ।’
प्रतिपक्षको प्रशंसा
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि सापकोटाको सक्रियतालाई इन्कार गर्दैन । नेपाली कांग्रेस सिन्धुपाल्चोकका सभापति विकास लामा विपद्का समयमा सभामुख सापकोटाले विशेष पहल लिने गरेको बताउँछन् । ‘कोभिड–१९ सम्बन्धमा चाहिँ मैले उहाँ धेरै जिल्लामा आएको देखिनँ,’ लामा भन्छन्, ‘तर, बाढी, पहिरोका बेला उहाँको सक्रियता प्रसंशायोग्य नै छ ।’
लामाका भनाइमा, लिदीको पहिरो पीडितका बालबालिकालाई पढाउनका लागि सभामुखले नै पहल गरेका थिए । लामा थप्छन्, बेसहारा बच्चाको पढाइको व्यवस्था एसओएस (बालग्राम)मा गरिदिनुभएको छ । केही राम्रा कामहरु उहाँले गर्नुभएको छ । राम्रो गर्नुभएको कुरालाई हामी नराम्रो भन्दैनौँ ।’
त्यसअघि जनप्रतिनिधि र मन्त्री हुँदा सापकोटाको भूमिका जनताले अपेक्षा गरेजति नभएको बताउँछन् लामा । र, जनताका सबै अपेक्षा पुरा हुन नसक्नुलाई स्वभाविक पनि मान्छन् । ‘सञ्चारमन्त्री हुँदा जिल्लावासीहरुले उहाँबाट धेरै आशा गरेका थिए तर त्यस अनुसार भएन,’ उनी भन्छन्, ‘मन्त्री भयो भन्दैमा सबै काम गर्न सक्छ भन्ने होइन । हामी प्रतिपक्ष हौँ, प्रतिपक्षी भएकोले आलोचना मात्रै गर्दैनौँ, राम्रो कामको प्रशंसा पनि गरेका छौँ ।’
नेकपाबाट सिन्धुपाल्चोकको जिल्ला समन्वय समितिमा निर्वाचित प्रमुख गोपाल तामाङ पनि जिल्लाको हकमा सभामुख सापकोटाले स-साना कुरामा पनि ध्यान दिने गरेको बताउँछन् । गृह जिल्ला भएकाले सभामुख सापकोटाले यस्ता विपद्का बेला गम्भीर ढंगले पहल लिइरहेको तामाङको भनाइ छ ।
‘प्राकृतिक विपदका बेला उहाँ सक्रिय भूमिकामा देखिनुहुन्छ,’ तामाङ भन्छन्, ‘संसदको नेतृत्वमा भएकाले उहाँले सिन्धुपाल्चोकको मात्र ख्याल गर्नुपर्छ भन्ने होइन । तर, गृह जिल्ला भएकाले होला, केही घटना भइहाले भने उहाँ गम्भीर बन्नुहुन्छ र मैदानमा देखिइहाल्नु हुन्छ । एउटा जनप्रतिनिधिको हैसियतमा उहाँको भूमिका प्रसंशायोग्य छ ।’
तामाङका भनाइमा, सापकोटाकै कारणले पनि बाढी र पहिरो पीडितले तत्काल राहत पाउने गरेका छन् । उनी भन्छन्, ‘उहाँ नभइदिएको भए हामीलाई अझै कठिन हुन्थ्यो भन्ने धारणा स्थानीयहरुको पाइन्छ ।’
सभामुख भएयताको पहल
१२ माघ ०७६ मा सभामुखमा निर्विरोध चयन भएका सापकोटाले असार यतामात्रै विपत्तिमा उद्धार, राहत, पुन:स्थापना र पुनर्निर्माणका लागि आधा दर्जन बढी पहल लिएका छन् । जस्तो, २५ असारमा बाह्रविसेका जम्बु र खागदल पुगी त्यहाँको अवस्थाबारे जानकारी लिएका थिए । सोही दिन चौतारा पुगेर विपद् व्यवस्थापन समितिका उपलब्ध व्यक्तिहरुसँग छलफल गरे । त्यहाँ राहत तथा उद्धारका लागि निर्देशन दिएका उनले ३० साउनमा जुगलको लिदीमा पहिरो गएको केही घण्टामा पहिरोस्थलमा पुगेका थिए ।
सुरुमा हेलिकोप्टरमा सिन्धुपाल्चोक सदरमुकाम चौतारा पुगेका उनले त्यहाँ पुगेपछि सोही हेलिकोप्टरमा सुरक्षाकर्मीलाई घटनास्थलमा पठाएका थिए । त्यसपछि सोही हेलिकोप्टरबाट ४ घाइतेको उद्धार गरिएको थियो । त्यसपछि मात्र उनी पहिरोस्थल पुगे । घटनास्थल, त्यहाँ भएको क्षतिबारे जानकारी लिए । र, राहत, उद्धार तथा स्थानान्तरणको विषयमा स्थानीयवासीलाई आश्वस्त गराए ।
यसैगरी, ३२ साउनमा लिदी, जम्बु, जुरे पहिरो पीडितका समस्या, अस्थायी र स्थायी स्थानान्तरणबारे गृहमन्त्रीसँग सिंहदरबारमा छलफल गरेका थिए भने लगत्तै ८ भदौमा उक्त पहिरोमा परेकाहरुको खोज तथा उद्धार, राहत, अस्थायी स्थानान्तरण, जोखिमयुक्त बस्तीहरुको भौगर्भिक अध्ययनका लागि टोली पठाउने, स्थायी स्थानान्तरणका लागि प्रयास, अरनिको राजमार्ग व्यवस्थित गर्ने लगायतका विषयमा छलफल गरे । छलफलमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री युवराज खतिवडा लगायत सहभागी थिए ।
यसैगरी १० भदौमा जिल्लाको जुगल गाउँपालिका वडा नं १ स्थित बाँसखर्कमा पुगेर अस्थायी विस्थापितहरुसँग छलफल, सोलार, टेन्ट लगायत राहत सामग्री वितरण गरेका उनले १३ भदौमा जोखिममा परेका जिल्लाका बस्तीहरुको भौगर्भिक अध्ययन गर्न टोली पठाउने, विस्थापितहरुको स्थानान्तरणसहित स्थायी बसोबासका लागि एकीकृत मोडेल बनाउने, अरनिको राजमार्ग व्यवस्थित गर्ने र जुरे पहिरो पीडितका लागि जनस्तरबाट संकलित रकम निकासा लगायतका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका थिए ।
१७ भदौमा लिदी पहिरोबाट अभिभावक गुमाएका ७ जना बालबालिकाको एसओएस मार्फत् संरक्षण र शिक्षाका लागि व्यवस्थापनको प्रबन्ध मिलाए भने २८ भदौमा बाह्रविसे नगरपालिका–७ को पहिरोस्थल नागपुजे, भीरखर्क र नेवार टोल पुगेर पहिरोले क्षति पुर्याएका स्थानहरुको स्थलगत जानकारी, स्थानीय पहिरो पीडित–प्रभावितहरुसँग छलफल गरे ।
त्यही दिन सभामुख सापकोटाले बाढी पहिरोले क्षतिग्रस्त अरनिको राजमार्गको बाह्रविसेदेखि चीनसँगको सीमानाका लिपिङसम्मको स्थलगत अवलोकन गरे। सो अवसरमा उनले अरनिको राजमार्ग व्यबस्थित गर्ने र तातोपानी नाका सुचारु गर्ने विषयमा आफूले पहल गर्ने आश्वासन दिएका थिए।
राजनीतिक बाध्यता
२०२९ सालबाट विद्यार्थी राजनीति गरेका सापकोटा २०४८ मा तत्कालीन संयुक्त जनमोर्चाको तर्फबाट सिन्धुपाल्चोकमा प्रतिनिधि सभाको उम्मेदवार बन्नुअघि शिक्षण पेशामा थिए । शिक्षण पेशाबाट राजीनामा दिएर चुनावमा प्रतिस्पर्धा गरेका उनले करिब ४ हजार मत ल्याए । र, पराजित भए ।
माओवादी जनयुद्ध सुरु भएपछि उनी सुरुवातदेखि नै जनयुद्धमा सरिक भए । ०५८ को वार्ताकालमा उनी कृष्णबहादुर महरा नेतृत्वको वार्ता टोलीका सदस्य थिए । २०६४ को संविधान सभा निर्वाचनमा सिन्धुपाल्चोक–२ बाट निकटतम प्रतिद्वन्द्वीभन्दा २० हजार बढी मत (३०,१७५) ल्याइ निर्वाचित भए । सो निर्वाचनमा सर्वाधिक मत ल्याउनेमा उनी सातौँ नम्बरमा थिए ।
दोस्रो संविधान सभा निर्वाचन भने तत्कालीन नेकपा (माओवादी)का लागि प्रतिकूल थियो । पहिलो संविधान सभा निर्वाचनमा पहिलो भएको माओवादी सो निर्वाचनमा तेस्रो स्थानमा पुग्यो । मतगणनासँगै देशव्यापी रुपमा माओवादीको हारको संकेत देखिँदा उनीपनि आफ्नो विजयप्रति विश्वस्त थिएनन् । तर, उनी सिन्धुपाल्चोक–२ वाट दोस्रो पटक संविधान सभा सदस्यमा निर्वाचित हुन सफल भए । बागमतीबाट संविधान सभामा निर्वाचित हुने एकमात्र नेता थिए उनी । भलै, यसपटकको मतान्तर चाहिँ झिनो थियो ।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक–१ बाट विजयी भएर उनले आफ्नो जीतमा ‘ह्याट्रिक’ गरे । ४० हजार ५ सय ४ मतका साथ सापकोटा विजयी हुँदा निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका मोहनबहादुर बस्नेतले २९ हजार ७ सय ९८ मत पाएका थिए । यसपटकको अन्तर करिब १० हजारको मात्रै थियो ।
बस्नेत नेपाली कांग्रेसको केन्द्रीय सदस्य र पूर्व सञ्चारमन्त्री समेत भएकाले जिल्लाको राजनीतिमा सापकोटा जस्तै प्रभावशाली मानिन्छन् बस्नेत पनि । त्यसैले कतिपयको मान्यता के छ भने, बलियो प्रतिस्पर्धी र विजयका बाबजुद घट्दै गएको मतान्तरका कारण पनि सापकोटा विपद् सिर्जना हुनासाथ गृहजिल्ला पुग्ने गरेका हुन् ।
सबै तस्बिर : सभामुख सचिवालय