दशैंपछि कोभिड-१९ संक्रमण झन् भयावह हुनसक्छ, नियन्त्रणका लागि के गर्ने ?-Sutra News

दशैंपछि कोभिड-१९ संक्रमण झन् भयावह हुनसक्छ, नियन्त्रणका लागि के गर्ने ?

बिहिबार, १ असोज २०७७

बिहिबार, १ असोज २०७७

काठमाडौ– चैत (०७६) दोस्रो सातादेखि बन्द रहेको आन्तरिक उडान र सार्वजनिक यातायात बिहीबार (१ असोज) देखि खुले । कोभिड–१९ को बढ्दो संक्रमण दरकाबीच पनि २०७७ को दशैंलाई मध्यनजर गर्दै सरकारले यी दुवै यातायातका साधन सुचारु गर्ने निर्णय लिएको थियो ।



जुन दिनदेखि आन्तरिक उडान र सार्वजनिक यातायातका साधन सुचारु हुन थाले, ठीक एक दिनअघि अर्थात् ३१ भदौको कोभिड–१९ को तथ्यांक अन्य दिनको भन्दा गम्भीर थियो । त्यसदिन १ हजार ५ सय ३९ जनामा संक्रमण पुष्टि भएको तथ्यांक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्यो, जुन अहिलेसम्मकै सबैभन्दा धेरै रेकर्ड भएको तथ्यांक हो ।

दशैंलाई मध्यनजर गर्दै सार्वजनिक सवारी साधन खुला गर्ने सरकारी निर्णयसँगै मानिसहरुको आवतजावत अरु बढ्नेछ । त्यस्तो स्थितिमा कोभिड–१९ बाट सिर्जित महामारी कसरी नियन्त्रण गर्ने भन्ने प्रष्ट योजना सरकारसँग छैन । सामान्य अवस्थामा समेत कोभिड–१९ को संक्रमण दर तीब्र रुपमा बढिरहेका बेला सार्वजनिक सवारी साधन प्रयोग खुकुलो भएसँगै स्थिति भयावह रुप लिनसक्ने चिन्ता जनस्वास्थ्यविद्हरूमा छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम स्थिति भयावह हुनबाट रोक्न सरकारको तर्फबाट हिँडडुल र स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड निर्माण गर्ने बताउँछन् । ‘मापदण्ड निर्माण हुने भएकाले दशैं–तिहारले संक्रमणमा कुनै फरक पार्नेछैन’ उनी भन्छन्, ‘तर, मन्त्रालयले निर्माण गरेको मापदण्ड पालना गर्ने–नगर्ने कुरा सर्वसाधारणको हातमा छ । मास्क लगाउने, हात धुने लगायतका मापदण्ड अपनाए संक्रमण कम हुनेछ ।’

‘दसैंपछि भयावह स्थिति आउन सक्छ’
इपिडेमिओलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा बाबुराम मरासिनी यो बेलामा नियन्त्रणमा ल्याउन नसकिएको कोभिडलाई अब रोकथाम गर्न झनै कठिन हुने बताउँछन् । ‘साउन र भदौ महिना भनेको लकडाउन गर्नु नपर्ने महिना थियो । प्रकृतिले नै लकडाउन गरिदिएको थियो । खोलानाला बढेर आवतजावत सीमित भएको थियो’ डा मरासिनी भन्छन्, ‘यति हुँदापनि नियन्त्रण गर्न नसकिएको संक्रमण विस्तार रोक्न अब झन् कठिन हुन्छ ।’

मरासिनीका भनाईमा, प्राकृतिक कारणले नै गाउँ–शहर आवतजावत कठिन भएका बेलामा समेत सहरमा झनै संक्रमण बढ्यो । नियन्त्रणका लागि सरकारले आक्रामक कार्ययोजना ल्याउन नसक्दा यस्तो स्थिति सिर्जना भएको बताउँछन् उनी । मरासिनी भन्छन्, ‘नियन्त्रणको काम एकदम ढिलो भयो । सरकारी प्रयास र स्वास्थ्य प्रणाली ‘एग्रेसिभ’ रुपमा जान सकेनन् । यदि जान सकेको भए नियन्त्रण गर्न सकिन्थ्यो ।’

मरासिनी के बताउँछन् भने, शहरको तुलनामा गाउँघरमा ‘होम आइसोलेसन’, ‘क्वारेन्टिन’ जस्ता कुरा सम्भव नहुन सक्छन् । त्यसैले, संक्रमण शून्य भएको जिल्लामा पनि संक्रमण बढ्नसक्ने चिन्ता उनलाई छ । संक्रमण रोकथाममा सफल जिल्ला ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईं पनि दशैंमा धेरै सर्वसाधारण जिल्ला फर्कने भएकाले रोकथाममा चुनौति र संक्रमण बढ्ने भय रहेको बताउँछन् ।

दसैंमा घर जानेलाई के गर्ने ?
डा मरासिनी गत चैत–वैशाख महिनामा लकडाउन गर्दा समेत रोक्न नसकिएको आवतजावत दशैंका बेला झनै रोक्न नसकिने दावी गर्छन् । सरकारले आवस्यकता अनुसार ‘पिसिआर टेस्ट’ को व्यवस्था गरेर ‘नेगेटिभ’ परिणाम आएकाहरुलाई बसमा चढ्न नदिनै हो भने रोकथाममा सघाउ पुग्ने मरासिनी बताउँछन् । भन्छन्, ‘यसो गर्न सके संक्रमणको लक्षण नभएकाहरू पत्ता लाग्थे र गाउँघर जाने मान्छेहरूबाट अरुपनि संक्रमित हुँदैनन् भन्नेमा आश्वस्त हुन सकिन्थ्यो ।’

जनस्वास्थ्यविद् डा रवीन्द्र पाण्डे रोजगारी गुमेका ठूलो संख्या गाउँमा गएर खेतिपाती गर्ने योजनामा रहेकाले सुरक्षाको मापदण्ड अपनाएर उनीहरुलाई पठाउनु नै उपयुक्त हुने बताउँछन् । ‘तर, यसरी जानेहरुका लागि क्वारेन्टिनको व्यवस्था गरिनुपर्छ’ उनी भन्छन्, ‘दशैंको टीका लगाउन मात्र गएर तुरुन्तै फर्किने हो भने नजाँदा राम्रो हुन्छ । त्यसले झन् जोखिम बढाउँछ । साथै संक्रमणले बृद्धबृद्धा, रोगी र बालबालिकालाई बढी प्रभाव पर्ने हुँदा उनीहरुलाई सजग गराउनु पर्छ ।’

जनस्वास्थ्यविद् डा सुजनबाबु मरहठ्ठा भने राज्यले दशैंका बेला अन्तरजिल्ला ‘मोबिलिटी’ मा नियन्त्रण गनुपर्नेमा जोड दिन्छन् । ‘जो जहाँ छ, त्यहाँ सुरक्षित हिसाबमा बस्नुपर्छ’ उनी भन्छन्, ‘भीडभाड गरेर हिँड्ने हो भने संक्रमण विस्तार झन् तीव्र गतिमा हुन्छ,’ उनी भन्छन् ‘ एकदम सुरक्षित र अत्यावश्यक यात्रामा मात्र जोड दिनु पर्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट