चिटिक्क परेको नेपाली रेल जयनगर आइपुग्यो, हेर्नेहरुको भीड-Sutra News

चिटिक्क परेको नेपाली रेल जयनगर आइपुग्यो, हेर्नेहरुको भीड

बिहिबार, १ असोज २०७७

बिहिबार, १ असोज २०७७

काठमाडौं–भारतको जयनगरदेखि नेपालको जनकपुरसम्म सञ्चालन हुने नेपालको आफ्नै रेल बिहीबार साँझ जयनगर आइपुगेको छ । नेपालको रेल आइपुगेपछि त्यसलाई हेर्न त्यहाँ मानिसहरुको भीड नै लागेको छ ।



करिब तीन हप्ता यता पटना नजिकैको हाजिपुर रेल स्टेशनमा राखिएको नेपालको रेल भारतमा सञ्चालन हुने अन्य रेल भन्दा आकर्षक र सुविधायुक्त भएकाले जयनगर स्टेशनमा हेर्नेहरुको भीड लागेको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए । ‘हाम्रो रेलको रंग राम्रो छ, फिनिसिङ पनि राम्रो छ, नेपालको रेल हेर्दैमा ‘युनिक’ देखिन्छ’ महानिर्देशक मिश्रले भने, ‘नयाँ भएकाले भारतमा सञ्चालनमा रहेका रेलमा भन्दा हाम्रोमा सुविधा पनि धेरै छ, त्यसैले पनि मानिसहरुको भीड लागेको होला ।’

बिहीबार साँझ जयनगर आइपुगेको रेलका केही तस्वीरहरु महानिर्देशक मिश्रले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको तस्वीरमा मानिसहरुको ठूलो समूह रेलको वरिपरि जम्मा भएको छ ।

Nepali rail.jpg

‘आफ्नै रेल चढ्ने नेपालीहरुको सपना विपनामा परिणत हुँदैछ, किनकी नेपालको रेल जयनगर आइपुगेको छ र भोलि जनकपुर आइपुग्नेछ’ उनले लेखेका छन्, ‘यो नेपाल सरकारका लागि महत्वपूर्ण क्षण हो ।’

महानिर्देशक मिश्रका अनुसार, रेल सञ्चालन गर्ने ड्राइभर, कर्मचारी (भारतीय) समेत गरी करिब दुई दर्जन भोलि त्यही रेलमा चढेर जयनगर आइपुग्नेछन् । त्यो रेलको स्वागतका लागि महानिर्देशक मिश्रसहित रेल विभागको टोली भोलि नै जनकपुर प्रस्थान गर्दैछ ।

भारतको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको कुर्था–जयनगर खण्डमा रेल सञ्चालनका लागि रेलको सेट ल्याइएको हो । आवश्यक कानून बनाएर दशैँ–तिहारपछि रेल सञ्चालनमा ल्याउने विभागले जनाएको छ । भारतीय सरकारी कम्पनी कोंकण कम्पनीमार्फत रेल सेट खरिद गरिएको हो।

जयनगरदेखि धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको सो रेलमार्गका भौतिक पूर्वाधार निर्माण भइसकेको छ । कुर्थाबाट बिजलपुराखण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर सम्पन्न हुनेछ र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट