चितवन- नारायणगढ–मुग्लिन सडकखण्डको केराबारीमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। भरतपुर महानगरपालिका–२९ मा पर्ने केराबारीमा आज बिहान पहिरो खसेको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार चौध किलो र सत्र किलोको पहिरो हटाइसकिएको छ भने केराबारीमा गएको पहिरो पन्छाउने काम भइरहेको छ। पहिरोसँगै झरेको लेदोले करिब १०० मिटर सडक ढाकेको उनले जानकारी दिए।
पहिरो पन्छाउन तीन घण्टासम्म लाग्नसक्ने भट्टको अनुमान छ। पहिरोका कारण सो सडकखण्ड हुँदै चल्ने सवारी साधन बाटोमा रोकिएका छन। सो सडकमा सोमबार रातिदेखि पटक–पटक पहिरो खस्दै आएको छ।