काठमाडौं- भारतको जयनगरदेखि नेपालको जनकपुरसम्म सञ्चालन हुने नेपालको आफ्नै रेल शुक्रबार विहान जनकपुर आइपुगेको छ। भारतीय पक्षले हस्तान्तरण गर्ने नेपालको रेल लिनका लागि भौतिक योजना तथा यातायात मन्त्रालय एवं रेल विभागका अधिकारीहरु शुत्रबार विहानै जनकपुर पुगेका छन्।
करिब तीन हप्ता यता पटना नजिकैको हाजिपुर रेल स्टेशनमा राखिएको नेपालको रेल बिहीबार साँझ विहारको जयनगर आइपुगेको थियो। भारतमा सञ्चालन हुने अन्य रेल भन्दा आकर्षक र सुविधायुक्त भएकाले जयनगर स्टेशनमा हेर्नेहरुको भीड नै लागेको थियो।
नेपालका लागि निर्माण गरेको रेलको रंग र फिनिसिङ अन्य रेलको भन्दा राम्रो भएकाले जयनगरमा हेर्ने मानिसहरुको भीड लागेको रेल विभागका अधिकारीहरुले बताएका थिए। हिजो साँझ जयनगर आइपुगेको सो रेल शुक्रबार विहानै जनकपुरका लागि प्रस्थान गरेको थियो।
शुक्रबार विहान नेपाली सीमामा प्रवेश गरेर जनकपुर आइपुगेको रेलको बाहिरी र भित्री भागसहित गुडिरहेको रेलको भिडियो रेल विभागका महानिर्देशक बलराम मिश्रले आफ्नो फेसबुक पेजमा सेयर गरेका छन्।
हेर्नुस्, सो रेलको भिडियो