काठमाडौं- सारा देश पाचौं संविधान दिवस मनाउने तयारी गरिरहेका बेला विदेशमा पनि संविधान दिवस मनाउने तयारीमा त्यहाँस्थित नेपाली नियोगहरु लागेका छन्। यसैक्रममा संयुक्त अरब इमिरेट्स (युएई)मा गत सालझैँ यस पटक पनि नयाँ तरिकाले संविधान दिवस मनाइँदैछ।
संविधान दिवसका अवसरमा अन्य औपचारिक कार्यक्रम त हुनेछन् नै, त्यसबाहेक त्यहाँस्थित नेपाली राजदूतावासले दुबईस्थित विश्वकै सबैभन्दा अग्लो भवन ‘बुर्ज खलिफा’ मा नेपालको राष्ट्रिय झण्डा झलमलाइने भएको छ। युएईस्थित नेपाली राजदूतावासको अनुरोधमा त्यहाँ नेपालको राष्ट्रिय झण्डा झलमलाउने प्रबन्ध मिलाइएको हो।
दुबईका अलावा अबुधावीमा रहेको अर्काे अग्लो भवन ‘एडनोक’ भवन’ मा पनि नेपालको राष्ट्रिय झण्डा फहराउने प्रबन्ध मिलाइएको युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले दिएका छन्। दुबै भवनमा शनिबार साँझ ८ बजे नेपालको राष्ट्रिय झलमलाउने छन्।
संविधान दिवस तथा राष्ट्रिय दिवसको शनिबार साँझ ८ बजे दुबईस्थित बुर्ज खलिफा अबुधाबीस्थित एडनोक भवनमा नेपालको राष्ट्रिय झन्डा झलमलाउनेछन्,’ उनले भनेका छन्, ‘नेपाली राजदूतावासको अनुरोध र युएई सरकारको सहयोगमा हाम्रो झन्डा झलमलाउन लागेको हो।’
यस्ता महत्वपूर्ण पर्वहरुमा ती भवनमा अन्य मुलुकहरुको राष्ट्रिय झण्डा पनि फहराउने गरिएको छ। गतको संविधान र राष्ट्रिय दिवसमा पनि ती भवनहरुमा नेपालको राष्ट्रिय झण्डा झलमलाउने कार्यक्रम आयोजना गरिएको थियो।