विस्थापितलाई ६ महिनाभित्र पुनःस्थापन गर : राज्य व्यवस्था समिति-Sutra News

विस्थापितलाई ६ महिनाभित्र पुनःस्थापन गर : राज्य व्यवस्था समिति

शुक्रबार, २ असोज २०७७

शुक्रबार, २ असोज २०७७

काठमाडौं- प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले विपद्जन्य घटनाका कारण विस्थापित भएका सबै नागरिकलाई ६ महिना भित्रमा पुनःस्थापित गरिसक्न सरकारलाई निर्देशन दिएको छ।



आज बसेको समितिको बैठकले भौगर्भिक अध्ययन गरी भूउपयोग नीतिअनुसार उनीहरुको पुनर्वासको व्यवस्था मिलाउन गृहमन्त्रीमार्फत सरकारलाई निर्देशन दिएको हो। समितिले तत्काल अस्थायी आवास तथा खाद्यसामग्रीको उचित व्यवस्था मिलाउन समेत भनेको छ। समितिका सभापति शशी श्रेष्ठले सकेसम्म एकीकृत वस्ती निर्माण गरी पुनःस्थापित गर्न र विपद्को क्षति न्युनिकरणका लागि आवश्यक तयारी गर्न सरकारलाई निर्देशन दिएको जानकारी दिए।

यसअघि समितिले दिएको निर्देशन कडाइका साथ पालना गर्न पनि भनेको छ। यसअघि दुई वटा बैठकले विपद्सम्बन्धि विभिन्न निर्णय गर्दै समितिले सरकारलाई निर्दशन दिइसकेको छ। गृहमन्त्री रामबहादुर थापाको उपस्थिति भएको बैठकले राज्यका सबै निकायको समन्वयमा नागरिकका लागि चाहिने आवश्यक वस्तु र सेवा सहज रुपमा उपलव्ध गराउनसमेत निर्देशन गरेको छ।

विपद्बाट प्रभावित क्षेत्रमा रोगव्याधि फैलिन नदिनका लागि सरसफाइलगायतका कार्यक्रम सञ्चालन गर्न तथा पीडितको आवश्यक औषधोपचारको व्यवस्था गर्न समेत समितिले सरकारलाई भनेको छ। पहिरो पूर्व सूचना प्रणालीलाई व्यवस्थित बनाउँदै क्षति न्यूनिकरणका सवालमा गम्भीर हुन समेत समितिले सरकारलाई आग्रह गरेको छ। समितिले मुलुकभर भइरहेका बलात्कार, हत्या, हिंसाजस्ता जघन्य अपराध रोक्नका लागि आवश्यक कदम चाल्दै पीडितलाई न्याय प्रदान गर्नसमेत निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट