नेपालको रेल अझै दुई महिना नचल्ने, उतै थन्क्याउनेगरी भोलि नै फर्काइँदैछ जयनगर -Sutra News

नेपालको रेल अझै दुई महिना नचल्ने, उतै थन्क्याउनेगरी भोलि नै फर्काइँदैछ जयनगर 

शुक्रबार, २ असोज २०७७

शुक्रबार, २ असोज २०७७

काठमाडौं- लामो प्रतिक्षापछि शुक्रबार जनकपुर आइपुगेको नेपाली रेल भोलि जयनगर फर्काएर लामो समय उतै राखिने भएको छ। जनकपुरमा राखिँदा सुरक्षा, सञ्चालन लगायतका समस्या सिर्जना हुने भएपछि नेपाल ल्याएको भोलिपल्टै रेललाई फेरि जयनगर फिर्ता हुन लागेको हो।



‘भोलि नै हामी रेल जयनगर पठाउँदैछौं, किनभने नेपाल ल्याइए पनि कोभिड-१९ का कारण अहिले नै रेल सञ्चालन हुनसक्ने स्थिति छैन,’ नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले सूत्रन्युजसँग भने, ‘सहज स्थिति नहोउन्जेल नेपालको रेल अब जयनगरमै रहनेछ।’

आवश्यक जनशक्ति र कोभिड-१९ ले सिर्जना गरेको अवस्थाका कारण सञ्चालन हुने स्थिति नभए पनि भारतीय पक्षले नेपाललाई रेल हस्तान्तरण गर्न गरेको हतारो गरेका कारण आज रेल जनकपुर ल्याइएको हो। यसअघि सो रेल झण्डै तीन हप्ता पटना नजिकैको हाजिपुर स्टेशनमा राखिएको थियो।

८५ करोड रुपैयाँमा खरिद गरिएको रेलका लागि नेपालले कूल मूल्यको २० प्रतिशत अर्थात् १७ करोड रुपैयाँमात्र रेल निर्माता भारतीय कम्पनी कोंकण रेलवेलाई बुझाएको छ। सार्वजनिक खरिद ऐनको प्रावधानअनुसार रेल हस्तान्तरण गरेपछि मात्र सो कम्पनीले बाँकी रकम पाउनसक्ने स्थिति थियो।

‘रेल बनिसकेको थियो, तर नेपालको सार्वजनिक खरिद ऐनको प्रावधानअनुसार उनीहरुले बाँकी रकम नपाउँदा अप्ठेरोमा परेका थिए,’ स्रोतले भन्यो, ‘त्यसैले, जतिसक्दो चाँडो रेल हस्तान्तरण गरौँ भन्ने प्रस्ताव उनीहरुको थियो। सोहीअनुसार आज रेल जनकपुर ल्याएर हस्तान्तरण गरिएको हो।’

‘रेलको इन्जिन ‘कम्प्युटराइज्ड सिष्टम’ को छ, बेला-बेला सञ्चालन नगर्ने हो भने कोल्याप्स हुनसक्छ, त्यत्तिकै नचलाई राख्दा रेल स्टार्ट गर्दा प्रयोग हुने ब्याट्री पनि जानसक्छ’

रेल र योसँग सम्बन्धित सम्पूर्ण कागजात नेपाली पक्षलाई हस्तान्तरण गरेकाले अब सो कम्पनीले आवश्यक रकम प्राप्त गर्ने प्रक्रिया नेपाली पक्षले सुरु गर्नेछ। तर, जनकपुरसम्म रेल ल्याइदिने कोंकण रेलसँग सम्बन्धित जनशक्तिले नै भोलि जयनगर पुर्‍याएर नेपाली रेललाई उतै थन्क्याउनेछ।

‘एक पटकमा हजार जना बोक्न सक्ने रेल कोभिड-१९ का कारण अहिले सञ्चालन गर्नसक्ने स्थिति छैन,’ महाप्रबन्धक भट्टराईले भने, ‘त्यसैले केही समय रेल सञ्चालन नगरी राख्नुपर्ने हुन्छ। त्यसका लागि जयनगर सुरक्षित हुन्छ भनेर उतै लैजान लागिएको हो।’ 

जनकपुरमै रेल स्टेशन भए पनि त्यहाँ लामो समय सञ्चालन नगरी राख्दा रेलको सुरक्षामा खतरा पुग्ने डर रेल कम्पनीका अधिकारीहरुलाई छ। त्यत्तिकै स्टेशनमा राखिएको रेलमा कसैले तोडफोड वा आगजनी गरिदन सक्छ,’ स्रोतले भन्यो, ‘जयनगरमा चाहिँ नेपालकै स्टेशन छ, त्यहाँ सुरक्षितरुपमा राख्न सकिन्छ।’

राणाकालमै सुरु भएको जननगर-जनकपुर रेलसेवाका लागि नेपालले त्यहाँ २८ विगाह जग्गा लिजमा लिएको छ। दरभंगाका तत्कालीन राजाबाट लिजमा लिइएको त्यही जग्गामा नेपालतर्फ आउने रेलको स्टेशन छ। त्यहीँ लगेर नयाँ रेललाई राख्न लागिएको छ।

रेल विभागका पूर्व महानिर्देशक अनन्त आचार्य पनि तत्काल सञ्चालन गर्न नसक्ने हो भने सुरक्षाका दृष्टिले जनकपुरभन्दा जयनगरमै लगेर राख्नु उपयुक्त हुने बताउँछन्। उनी भन्छन्, ‘कसैले क्षति पुर्‍याउने काम गर्‍यो भने सजाय गर्ने कानुन पनि हामीसँग छैन। त्यसैले पनि उतै लगेर राख्ने विकल्प रोजिएको होला।’

रेललाई उता लैजानुको दोस्रो कारणचाहिँ आवश्यक जनशक्तिको अभाव हो। जानकारीअनुसार, सो रेलका इन्जिनहरु डिजिटल सिस्टमबाट सञ्चालित हुन्छन्। यसका लागि रेललाई बेला-बेला स्टार्ट गरेर चलाइरहनुपर्ने हुन्छ। तर, त्यसरी स्टार्ट गरेर इन्जिनलाई ‘फ्रेस’ राखिरहने जनशक्ति पनि नेपालसँग छैन।

‘रेलको इन्जिन ‘कम्प्युटराइज्ड सिष्टम’ को छ, बेला-बेला सञ्चालन नगर्ने हो भने कोल्याप्स हुनसक्छ, त्यत्तिकै नचलाई राख्दा रेल स्टार्ट गर्दा प्रयोग हुने ब्याट्री पनि जानसक्छ,’ महाप्रबन्धक भट्टराईले भने, ‘जयनगरमा राखेपछि कोंकण रेलकै मानिसहरुबाट यी बेला-बेला ‘स्टार्ट’ र इन्जिन ‘चेकअप’ मिलाएका छौं।’

आज विहान आइपुगेको रेल एकरात जनकपुर स्टेशनमा राखेपछि भोलि विहान १० बजे जयनगरका लागि प्रस्थान गर्ने योनजा बनाइएको छ। निर्माता कम्पनीका अधिकारीहरु पनि सोही रेलमा नै जनकपुर फर्कनेछ। उनीहरुका साथमा रेल विभाग, रेलवे कम्पनी लिमिटेडका अधिकारीहरु पनि जानेछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट