संविधानले ‘रेडियोमा सुन्ने होइन, घरदैलोमा भेटिने सरकार’ दिएको छ : युवा नेता-Sutra News

संविधानले ‘रेडियोमा सुन्ने होइन, घरदैलोमा भेटिने सरकार’ दिएको छ : युवा नेता

शनिबार, ३ असोज २०७७

शनिबार, ३ असोज २०७७

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका युवा नेता एवं सांसदले संविधानलाई अस्वीकार गर्ने कुनै शक्ति र व्यक्ति नभएको बताएका छन्।



संविधान दिवसका सन्दर्भमा राष्ट्रिय संविधान र समसामयिक विषयमा कुराकानी गर्दै उनीहरूले जनताको लामो संघर्ष र बलिदानको उपलब्धीकारूपमा गठन भएको संविधानबाट जारी भएको संविधान पछिल्लो समय सर्वस्वीकार्य दस्तावेजकारुपमा रुपान्तरण भएको बताए।

ओखलढुङगाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद यज्ञ सुनुवाारले संविधानसभाले पाँच वर्षअघि समावेशी संविधान उपलब्ध गराएको हुँदा प्रत्येक नेपालीले असोज ३ लाई राजनीतिक र सवैधानिक हिसावले ऐतिहासिक उपलब्धि हासिल गरेको दिनका रुपमा स्मरण गरिरहने बताए।

उनले मुलुकमा सङ्घीयताको पहिलो अभ्यास भएको हुँदा कानुन नबनेकाले प्रारम्भमा केही अलमलजस्तो देखिएपनि रेडियोमा सुन्ने सरकार होइन, घरदैलोमा भेटिने सरकार चाहिन्छ भन्ने जनताको चाहनालाई तीन तहका सरकार रहने व्यवस्थाले सम्वोधन गरेको छ बताए।

सङ्घीयताको आधार स्थापित गर्दै जनतालाई अधिकार उपलब्ध गराउने विषयमा राज्यले क्रमशः उपलब्धि हासिल गर्दै अघि बढिरहेको बताउदै नेता सुनुवारले मुलुक समृद्धितर्फ उन्मुख भइरहेको परिणाम र सूचकले देखाएका हुँदा विकासको गतिलाई ‘छुमन्तर’का रुपमा नबुझिदिन आग्रह गरे।

सिन्धुलीबाट प्रतिनिधित्व गर्ने सांसद गणेशकुमार पहाडीले आन्दोलनका उपलब्धिका रुपमा प्राप्त भएका सङघीयताको संस्थागत र संविधानको स्थायित्वको जिम्मेवारी सरकार, जनता र राजनीतिक दलको काधँमा रहेको बताए।

उनले भने, ‘शक्ति पृथकीकरणका आधारमा कार्यपालिका, व्यवस्थापितका र न्यायपालिकाले जिम्मेवारपूर्ण तवरले अघि बढेर गणतन्त्रलाई संस्थागत गर्ने मामिलामा अझै थप काम गर्नु पर्ने देखिएको छ, जनताको अपेक्षा अनुसार काम नभएको, समाजवादतर्फ जाने स्पष्ट खाँका र तयारी नभएको गुनासा छन्, ती आवाजलाई सम्वोधन गर्न परिवर्तनकारी शक्ति एक ठाउँमा आएर मुलुकलाई समृद्धिको यात्रामा अघि बढाउनुपर्छ।’

दार्चुलाबाट प्रतिनिधित्व गर्ने सांसद गणेश ठगुन्नाले नयाँ संविधानले नेपालको सवै जातजाति, धर्म, क्षेत्र र समुदायको आर्थिक, सामाजिक र सास्कृतिक अधिकारलाई सस्थागत गर्ने स्पष्ट मार्ग कोरेको बताए।

उनले भने, ‘संविधान प्रगतिशील, अग्रगामी र समावेशी भएकाले मुलुकलाई समृद्ध बनाउने दिशामा महत्वपूर्ण मार्ग निर्देश गरेको छ, पूर्वाधार, कानूनी र आर्थिक पक्ष कमजोर भएको अवस्थामा तत्काल परिणाम खोज्दा नतिजा नदेखिएपनि अब क्रमशः सवैक्षेत्रबाट नतिजा आउन लागेकाले आत्तिन पर्दैन।’

लोकतन्त्रका लागि जनताले ७० बर्षभन्दाबढी समयदेखि गरेका विभिन्न आन्दोलन र बलिदानको उपलब्धिका रुपमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्त भएको बताउदै सांसद् ठगुन्नाले भने, ‘गतिशील दस्तावेजका रुपमा रहेको यो संविधानमा जनताका सवै अधिकार सुनिश्चित गरिएको छ, सवै राजनीतिक दलले सम्झौता र सहमतिको साझा दस्तावेजकारुपमा यसलाई स्वीकार गरेका छन्।’

नेपालको संविधान २०७२ साल असोज ३ गते संविधानसभाको विशेष बैठकमा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले जारी गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट