संविधानलाई व्यवहारमा रूपान्तरण गर्न राष्ट्रपतिको आह्वान-Sutra News

संविधानलाई व्यवहारमा रूपान्तरण गर्न राष्ट्रपतिको आह्वान

शनिबार, ३ असोज २०७७

शनिबार, ३ असोज २०७७

काठमाडौं– राष्ट्रपति विद्या भण्डारीले वर्तमान संविधानले सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै नेपाली समाजलाई राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएकी छिन्।



संविधान दिवसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै भण्डारीले भनेकी छिन्, ‘वर्तमान संविधानले सामन्ती, निरङ्कुश र केन्द्रीकृत राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ।’

संविधानद्वारा प्रत्याभूत गरिएका मौलिक अधिकारलाई सुनिश्चित गर्न विगत दुई वर्षमा तीनसयभन्दा बढी कानुनहरूको निर्माण भएको बताउँदै भण्डारीले संघीय प्रणालीलाई संस्थागत गर्न जारी प्रयासको आफूले सराहना गर्ने बताएकी छिन्।

‘संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख आर्थिक–सामाजिक प्रणाली विकास गर्न नयाँ कानुनको कार्यान्वयनका लागि नेपाल सरकार अग्रसर रहेको छ,’ भण्डारीले आफ्नो शुभकामना सन्देशमा भनेकी छिन्, ‘संघ, प्रदेश र स्थानीय तहलाई शक्ति र स्रोतको बाँडफाँट गर्दै संघीय प्रणालीलाई संस्थागत गर्न जारी प्रयासको म सराहना गर्दछु।’

त्यस्तै संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न मन, वचन र कर्मले समर्पित हुन पनि भण्डारीले सबैमा आह्वान गरेकी छिन्। ‘यस अवसरमा संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आ-आफ्नो तर्फबाट इमान्दार प्रयास जारी राख्न म सबैमा आह्वान गर्दछु,’ उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट