स्वास्थ्य केन्द्रमा पाँच शैयाको कोरोना अस्पताल-Sutra News

स्वास्थ्य केन्द्रमा पाँच शैयाको कोरोना अस्पताल

शनिबार, ३ असोज २०७७

शनिबार, ३ असोज २०७७

बागलुङ– जिल्लाको पश्चिम क्षेत्र बुर्तिवाङमा पाँच शैयाको कोरोना अस्थायी अस्पताल सञ्चालनमा आएको छ। बिहीबारदेखि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पाँच श्ययाको अस्थायी कोरोना अस्पताल सञ्चालनमा आएको हो।



अहिले स्थापना भएको अस्थायी कोरोना अस्पताललाई कोरोना महामारीपछि स्थानीय तहको अस्पतालमा परिणत गरिने बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा.मिलन मल्लले बताए।

स्वास्थ्य केन्द्रलाई देशकै नमूना बनाउने उद्देश्यले उपकरण तथा सेवा सुविधा थप्दै गएको उनले बताए। स्वास्थ्य केन्द्रका रुपमा भए पनि तत्कालै सरकारले अनुमति दिएमा १५ शैयाको नगर अस्पताल बनाउनका लागि पूर्वाधार, जनशक्ति तथा उपकरण तयार रहेको छ ।

स्वास्थ्य केन्द्रमा हिमालय आँखा अस्पताल पोखराको प्राविधिक र उपकरण सहयोगमा आँखा जाँच सेवा र ढोरपाटन नगरपालिकाको सहयोगमा दन्त सेवासमेत सुरु गरिएको स्वास्थ्य केन्द्रले जनाएको छ।

पश्चिम क्षेत्रका जनताले उपचारका नाममा धेरै समस्या भोगिरहेको समयमा नगरपालिकाले नगर अस्पताल बनाउने योजनाका साथ उपकरण तथा जनशक्ति थप गर्दै सेवा विस्तार गरिरहेको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले जानकारी दिए।

अस्पतालमा हाल प्रसूति, शल्यक्रिया, इमेरजेन्सी सेवा, स्वास्थ्य बीमा कार्यक्रम, उपचार तथा औषधि वितरण, ल्याब सेवासहित ओपिडी सेवा, भिडियो एक्स–रे तथा एक्स–रे सेवा, शवपरीक्षण लगायतका सेवा प्रदान गरिँदै आएको छ।

यसअघि लक्षण देखिएका संक्रमितलाई धौलागिरि अस्पतालमा पठाउने गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट