नेपालको संविधान राष्ट्र निर्माणको आधारस्तम्भ : मुख्यमन्त्री राई-Sutra News

नेपालको संविधान राष्ट्र निर्माणको आधारस्तम्भ : मुख्यमन्त्री राई

शनिबार, ३ असोज २०७७

शनिबार, ३ असोज २०७७

विराटनगर- प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संविधान सबै जाति, भाषा, धर्म, संस्कृति, लिङ्ग, वर्ण र भूगोलका जनतालाई एकताको सूत्रमा आबद्ध गर्ने माध्यममात्र नभएर राष्ट्र निर्माणको आधारस्तम्भ भएको बताएका छन्।



संविधान दिवस-२०७७ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले नेपाली जनताको लामो संघर्ष, बलिदान र प्रतीक्षापछि २०७२ साल असोज ३ गते संविधानसभाबाट जारी भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जनताको जनभावना र अपेक्षा सम्बोधन गर्ने दस्तावेज भएको बताए।

उनले सन्देशमा भनेका छन्, ‘नेपालको संविधानले धर्म निरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गर्नाका साथै सबै वर्ग क्षेत्रका जनताको हक अधिकार प्रत्याभूत गरेको छ।’

मुख्यमन्त्री राईले यो संविधानले लामो समयको राजनीतिक द्वन्द्व र सङ्क्रमणको विधिवत् अन्त्य गरी नेपाली जनतालाई पूर्ण रुपमा सार्वभौम बनाएको उल्लेख गर्दै आजको यस दिनले राष्ट्रिय एकताको जगमा शान्त, समुन्नत र समृद्ध सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणमा थप प्रेरणा र यसप्रति सबै नेपाली सङ्कल्पित हुने मैले विश्वास लिएको लिएको बताए।

‘समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्न प्रदेश सरकार क्रियाशील छ। यही अभियानलाई सफल बनाउन ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ बनाउने प्रादेशिक मूल नाराका साथ प्रदेश सरकार अगाडि बढिरहेको छ,’ उनले सन्देशमा भने, ‘यस सन्दर्भमा चुनौती धेरै छन् तर हाम्रो दृढ अठोटले लक्ष्य हासिल हुनेमा कुनै शङ्का छैन। यसका लागि समाजका सबै वर्ग, समूह, पेसा, क्षेत्रको सहकार्य आवश्यक छ।’

मुख्यमन्त्री राईले संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरी सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको बताए। ‘राजनीतिक सङ्क्रमणकाल समाप्त भएको वर्तमान परिप्रेक्ष्यमा स्वच्छ, सुखी र समुन्नत प्रदेशको मूल दृष्टिकोणसहित हामीले पहिलो आवधिक योजनाको थालनी गरेका छौं। कृषि, पर्यटन, उद्योग, पूर्वाधार विकास, सामाजिक तथा मानवीय विकास हाम्रो प्राथमिकतामा छन्,’ उनले भने। 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट