गणतन्त्रकालीन रेलमा राष्ट्रिय झण्डा, राणाकालीन रेलमा क्रस खुकुरी-Sutra News

गणतन्त्रकालीन रेलमा राष्ट्रिय झण्डा, राणाकालीन रेलमा क्रस खुकुरी

शनिबार, ३ असोज २०७७

शनिबार, ३ असोज २०७७

काठमाडौं  ‘नेपालको रेल हेर्दैमा ‘युनिक’ छ, जयनगर आइपुगेपछि त्यो रेल हेर्न भीड लागेको त्यही कारणले होला,’ रेल विभागका महानिर्देशक बलराम मिश्रले १ असोज राति सूत्रन्युजसँगको कुराकानीमा भनेका थिए, ‘हाम्रो रेलको ‘फिनिसिङ’ पनि भारतमा चल्ने रेलभन्दा राम्रो छ। राम्रो भएपछि त्यसलाई हेर्न त जो पनि आइहाल्छ नि।’ 



कोभिड-१९ का कारण झण्डै एक महिना पटना (विहार)को हाजिपुर रेलस्टेशनमा रोकिएको रेल बिहीबार अर्थात् १ असोज साँझ नेपालको जनकपुरसँग रेलमार्गले जोडिएको भारतीय सहर जयनगर आइपुगेको थियो। कोभिड-१९ का कारण सिर्जित ‘त्राहिमाम्’ का बीच पनि उल्लेख्य संख्यामा स्थानीय भारतीयहरु त्यो रेल हेर्न त्यहाँ झुम्मिएका थिए।

जयनगर रेल स्टेशनमा रोकिएको नेपाली रेलको तस्बिर आफ्नो म्यासेन्जरमा त्यहीँबाट प्राप्त भएपछि बिहीबार साँझ नै महानिर्देशक मिश्रले आफ्नो फेसबुकमार्फत् सार्वजनिक गरेका थिए। त्यो ‘स्टाटस’ मा उनले लेखेका थिए, ‘आफ्नै रेल चढ्ने नेपालीहरुको जुन सपना थियो, त्यो अब साकार हुन लागेको छ।’

जयनगरबाट शुक्रबार अर्थात् २ असोज विहान जनकपुर आइपुगेको रेल भारतीय पक्षले २ असोजमा नेपाली पक्षलाई हस्तान्तरण गरिसकेको छ। भारतीय सर्वसाधारणको समेत ध्यान खिच्न सफल रेलको बग्गीका भित्री भाग सुविधायुक्त छँदैछन्। महानिर्देशक मिश्रले भनेजस्तै, बाहिरी भाग पनि ‘युनिक’ खालकै देखिन्छ। खासगरी रंगले यसलाई ‘युनिक’ बनाएको छ।

रेलको बाहिरी भाग सिंगार्न तीन रंग प्रयोग गरिएको छ- रातो, नीलो र सेतो। नेपालको राष्ट्रिय झण्डा पनि यी तीन रंगकै समीश्रण हो। राष्ट्रिय झण्डा तीन भागमा विभाजित छ। झण्डाको मुख्य भागको रुपमा दुई वटा त्रिकोण छन्। त्रिकोणका किनारा पनि छन्। र, किनारायुक्त दुई त्रिकोणमध्ये माथिल्लोमा चन्द्र छ भने तल्लोमा सूर्य।

rail2.jpg

यसमध्ये त्रिकोणको मुख्य (भित्री) भाग रातो रंगको छ। त्रिकोणका तीन किनारामा नीलो रंग प्रयोग गरिएको छ। अनि, नीलो किनाराले घेरिएको त्रिकोणभित्र रहेका चन्द्र र सूर्य चाहिँ सेतो रंगका छन्। नेपाली रेलको बाहिरी भाग रङ्ग्याउन पनि राष्ट्रिय झण्डा निर्माण गर्दा प्रयोग गरिने उपरोक्त तीन वटै रंग प्रयोग भएका छन्। 

सीमावर्ती क्षेत्रमा चल्ने भएकाले यसलाई कसरी ‘नेपाली पहिचान’ दिने भन्ने विषयमा रेल विभागमा दुई वर्ष अघिदेखि नै छलफल सुरु भएको थियो। रेल सिंगार्न अरु नै कुनै रङ्ग प्रयोग गरेर ‘नेपाली रेल’को पहिचान दिन चन्द्र-सूर्य अंकित राष्ट्रिय झण्डा नै फर्फराउने पो हो कि ? भन्ने विकल्पमा पनि छलफल हुने गरेको थियो।

नेपाली रेल भए पनि यो भारतीय भूमिसम्मै पुग्छ। खासमा यो नेपाल-भारतमा चल्ने अन्तरदेशीय रेल हो। भारतीय भूमिमा जाँदा नेपालको झण्डा फहराउँदै जानु त्यति उपयुक्त हुँदैन भन्ने निष्कर्ष रेल विभागका अधिकारीहरुले निकाले। त्यसैले, विभागले जयनगर-जनकपुरमा सञ्चालन हुने रेलको रंग चन्द्र-सूर्य अंकित राष्ट्रिय झण्डामा प्रयोग भएका तीन रंग प्रयोग गर्ने निर्णय गर्‍यो।

यसअघि नेपालमा जे जति रेल सञ्चालन भए, भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले भृकुटी मण्डपस्थित ‘चिल्ड्रेन पार्क’ का लागि उपहारस्वरुप प्रदान गरेको फुच्चे रेलबाहेक बाँकी सबैको निर्माण र सञ्चालन राणाकालमा भयो। राणाकालमा निर्माण भएका पाँच रेलमार्गमध्ये चार वटा अन्तरदेशीय (नेपाल-भारत जोड्ने) रेलमार्ग थियो भने एउटा ‘आन्तरिक रेलमार्ग’ थियो।

rail3.jpg

राणाकालमा निर्माण भएका अन्तरदेशीय रेलमार्गहरुमा बीरपुर-चक्रघट्टी-चतरा-धरान रेलमार्ग, जयनगर-जनकपुर रेलमार्ग, रक्सौल-अमलेखगञ्ज रेलमार्ग र पलिया-कैलाली रेलमार्ग थिए। यी सबैको निर्माण राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा भएको थियो। आन्तरिक रेलमार्ग श्री ३ भीमशमशेरको पालामा बिसं १९८८ मा काठमाडौंमा निर्माण भयो, जुन मातातीर्थ–टेकुसम्म सञ्चालनमा थियो।

यसमध्ये दुईवटा रेलमार्ग नेपालका प्राकृतिक स्रोतहरु, जस्तैः ढुङ्गा-गिटी-बालुवा र काठ भारतमा लैजाने प्रयोजनका लागि निर्माण गरिएका थिए। सुनसरीसँग सीमा जोडिएको वीरपुरबाट नेपालतर्फ आउने रेलमार्ग २०४६ सम्म ढुङ्गा र बालुवा बोक्ने गरी सञ्चालनमा थियो।

पलिया-कैलाली रेलमार्गको नाम ‘नेपाल फरेष्ट्री रेलवे’ थियो। ब्रिटिसकालमा भारतभरि निर्माण भएको रेलको लिकमुनि बिछ्याइने काठ लैजान यो रेलमार्ग निर्माण गरिएको थियो। चन्द्र शमशेरकै पालामा बिसं १९६०-६५ ताका निर्माण गरिएको यो रेलमार्गमा राणा शासन अन्त्य हुनुअगावै रेल चल्न छाडिसकेको थियो।

श्री ३ चन्द्रको पालामा निकै महत्व दिएर निर्माण गरिएको रक्सौल-अमलेखगञ्ज रेलमार्गको निर्माण सम्पन्न भएपछि १५ फागुन १९८३ (बिसं)मा उद्घाटन गरिएको थियो। उद्घाटन राजा त्रिभुवनले गरेका थिए। बिसं २०२२ सम्म सञ्चालनमा रहेको यो रेलमार्गको निर्माण यात्रु र मालसामानको ओसार-पसारका लागि गरिएको थियो।

रक्सौल-अमलेखगञ्ज रेलमार्गमा चल्ने रेलले ल्याउने सामान मकवानपुरको धोर्सिङसम्म गाडीले बोकेर ल्याउँथ्यो भने त्यहाँबाट काठमाडौँको मातातीर्थसम्म रोपवेबाट ल्याइन्थ्यो। रोपवेले मातातीर्थसम्म ल्याउने सामान टेकुको भन्सारसम्म ल्याउने गरी श्री ३ भीम शमशेरको पालामा मातातीर्थ-टेकु रेलमार्ग निर्माण गरिएको हो।

rail4.jpg

मातातीर्थ-टेकु रेलमार्ग देख्ने कतिपय बुढापाकाहरु अहिले पनि जीवित छन्। तर, उनीहरुलाई त्यसको रंग कस्तो थियो, त्यसमा झण्डा प्रयोग गरिन्थ्यो वा गरिन्थेन, गरिन्थ्यो भने कस्तो झण्डा प्रयोग गरिन्थ्यो, त्यसको सम्झना छैन। वीरपुरबाट धरानसम्म पुग्ने र पलियाबाट कैलालीसम्म आइपुग्ने रेल भारतीय भएकाले त्यसमा नेपालको झण्डा वा नेपाललाई चिनाउने अन्य संकेत हुने कुरै भएन।

जहाँसम्म रक्सौल-अमलेखगञ्ज र जयनगर-जनकपुर रेलमार्गको सन्दर्भ हो, मातातीर्थ-टेकु रेलमार्गमा जस्तै, यी दुई रेलमार्गमा चल्ने रेल नेपाली स्वामित्वका थिए। नेपालको आफ्नै स्वामित्वको रेल भएकाले त्यहाँ चल्ने रेललाई नेपाली पहिचान दिन रेलको अघिल्लो भागमा ‘क्रस खुकुरी’ भएको लोगो प्रयोग गरिएको थियो।

विश्वयुद्धमा विरतापूर्वक लडेर गोर्खाली (नेपाली)हरुले ‘वीर जाति’का रुपमा आफ्नो पहिचान बनाएका थिए। ‘वीर जाति’को यो पहिचान उनीहरुलाई खुकुरीले प्रदान गरेको थियो। नेपालीहरुको पहिचान नै वीरता र खुकुरीसँग जोडिएकाले नेपाल-भारत सीमा वारपार गरी चल्ने नेपाली रेलमा ‘क्रस खुकुरी’ लोगोको रुपमा राखिएको थियो।

अहिलेको नयाँ रेलमार्ग निर्माण गर्नुपर्ने भएकाले बिसं २०७१ मा जनकपुर-जयनगर रेलमार्गमा रेल चल्न छाड्यो। त्यो ५० वर्षअघि नै बिसं २०२२ मा रक्सौल-अमलेखगञ्जमा चल्ने रेल सेवा पनि बन्द भइसकेको थियो। बन्द भए पनि त्यहाँ चल्ने रेलका अवशेष छँदैछन्। ती रेलको पुराना तस्बिर हेर्दा नेपालको पहिचान झल्कने ‘क्रस खुकुरी’ लोगोको रुपमा देख्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट